कृष्ण जन्मष्टमीको नाममा विद्यालयको विकृत व्यवहार
कृष्ण जन्माष्टमी आउन साथ बालबालिकालाई राधाकृष्णको भेषमा सजाउने होडबाजी हुन्छ।
देशका धेरै विद्यालयहरूमा चल्ने यस्ता खालका कार्यक्रमले न कृष्णाष्टमीको वास्तविक आध्यात्मिक महत्त्व सिकाउँछ, न त बालबालिकाको मानसिक विकासमा सकारात्मक प्रभाव पार्न सक्छ।
कृष्ण जन्माष्टमीको यथार्थ वा मूल उद्देश्य भने हामीहरु कतिलाई थाहा छैन । भीडको पछि दाैडिने बानी नै विद्यालय अनि अभिभावकमा परिसकेको छ ।
कृष्णको जन्म भनेको धर्म र सत्यमा खडा हुनु पर्छ भन्ने शिक्षासँग सम्बन्धित छ । कृष्ण जन्माष्टमीको महिमा भगवान् कृष्णलाई स्मरण र सम्मान गर्ने पर्व हो।
यो दिन अन्याय, अधर्म र अत्याचार अन्त्य गर्न तथा धर्म, सत्य र करुणा स्थापना गर्न कृष्णको जन्म भएको विश्वास गरिन्छ। यस पर्वले सत्यको पक्षमा उभिन, निःस्वार्थ सेवा गर्न र जीवनमा धर्मपालन गर्ने प्रेरणा दिन्छ।
दाजु बहिनीलाई प्रेमी बनाउने विकृति
विद्यालयले कृष्ण जन्माष्टमीलाई अभिभावकसँग पहेँला, राता रंगका राधा कृष्ण लेखिएको फ्यान्सी ड्रेस किनाएर छोरालाई कृष्ण र छोरीलाई राधा बनाईरहेका छन् । अझै दिक्क र उदेकलाग्दो कुरा त एउटै परिवारका दाजु बहिनी, दिदिभाईलाई प्रेमी प्रेमिका झै मञ्चमा उभ्याईन्छन, यो एक किसिमको बालबालिकालाई आफ्नो सम्बन्धको प्रकृति नै उल्टो बुझाउने खतरनाक अभ्यास हो ।
बालबालिकालाई रोमान्टिक जोडिको रुपमा उभ्याएर प्रेम-प्रणयको खेलको रुपमा कृष्ण जन्माष्टमीलाई बुझ्दा सम्बन्धको गलत अवधारणा बन्ने सम्भावना रहन्छ।
मयुरको प्वाँखको सुन्दरता पछाडिको क्रुरता
कृष्ण जन्माष्टमीमा अझ अर्को ठूलो समस्या मयुरको प्वाँखको प्रयोग हो । बाहिरबाट हेर्दा हामीलाई खुब रमाइलो लाग्छ तर प्वाँख पछाडिको यथार्थ निकै पीडादायी छ, मयुरको प्वाँखको क्रूर ब्यापार । कृष्णको मुकुटमा मयुरको प्वाँख अनिवार्य बनाईएको छ ।
यसको लागि हरेक वर्ष हजारौं मयुरलाई मारेर वा प्वाँखलाई जबर्जस्ती तानेर निकालिन्छ ।
भारत लगायत दक्षिण एसियामा मयुर मारेर प्वाँख ब्यापार गर्ने अबैध बजार छ । नेपालमा पनि मयुरको प्वाँखको उपलव्धता अवैध या सुरक्षाविहीन पद्धतिमा वनबाट र भारत वा अन्य स्थानीय बजारहरूबाट आयात गरिएको पाईन्छ ।
धार्मिक तथा साँस्कृतिक नाममा हुने यस्तो प्रकारको हिंसाले करुणाको होइन क्रूरताकाे शिक्षा दिन्छ । सँस्कारको नाममा हिंसा सिकाउनु, त्यो पनि विद्यालयबाट, नयाँ पुस्तालाई करुणाहीन बनाउने बाटो हो ।
राधाकृष्णको सम्बन्ध आध्यात्मिक भक्ति र प्रेममा आधारित छ । शारीरिक वा सामाजिक प्रेम र सम्बन्धसँग होइन । बालबालिकालाई वास्तविकता नबुझी प्रेमिल जाेडीको रुपमा प्रस्तुत गर्नु धार्मिक दृष्टिले पनि गलत हो ।
कृष्ण अष्टमी एक महत्त्वपूर्ण साँस्कृतिक धार्मिक पर्व भएकाले यो पर्वलाई मनाउने तरिका यथार्थपरक र करुणामय हुनुपर्छ । मयुर प्वाँखको सट्टा कृतिम तथा पुन: प्रयोग हुने सामाग्री प्रयोग गर्नु पर्छ। पर्वलाई साँस्कृतिक नृत्य, चित्रकला, सृजनात्मक गतिविधिबाट मनाउनु पर्छ ।
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment