अनाथ बच्चा: आमाको मात्र दोष कि पुरुषको गैरजिम्मेवारी पनि ?
उर्लाबारी मोरङस्थित अरनिको अस्पतालको शौचालयमा केहि दिन अगाडि सालनालसहित फेला परेको नवजात शिशुको घटनाले फेरि समाजलाई झस्काइदिएको छ। यस्तो घटनामा हाम्रो ध्यान प्रायः एउटै पक्षमा जान्छ—आमालाई दोषी ठहराउने। तर शिशुको जन्ममा बराबरी भूमिका खेलेका पुरुषको जिम्मेवारीबारे समाज प्रायः मौन रहन्छ । समाजले प्रश्न सधैं आमामाथि गर्छ, तर शिशुको जन्ममा बराबरी भूमिका खेल्ने पुरुषप्रति किन मौन रहन्छन् ?
नेपालमा विवाह नहुँदाको गर्भावस्था वा गर्भ महिलामाथि मात्र भारी बन्ने गरेको छ। पुरुष भने सजिलै पन्छिन्छन्। समाजको कठोर दृष्टि, परिवारको अस्वीकार र लाजको बोझ एक्लै महिलाले बोक्नुपर्छ। फलस्वरूप, कतिपय अवस्थामा महिलालाई शिशुलाई असुरक्षित तरिकाले त्याग्नुपर्ने अवस्था आउँछ।
वास्तवमा, पुरुषले जिम्मेवारी लिएको भए आमा असुरक्षित महसुस गर्नुपर्थेन, शिशु सडक वा शौचालयमा फालिनु पर्थेन र निर्दोष जीवन अनाथ बन्नु पर्थेन। त्यसैले दोष केवल आमामा होइन, पुरुषको गैरजिम्मेवारी र समाजको मौनतामा पनि छ।
समाजले एकल आमालाई सहजै स्वीकार गर्दैन। आँट गरेर बच्चा राखे पनि “बुबा को हो?” भन्ने प्रश्नले निरन्तर मानसिक यातना दिन्छ। तर गुमनाम बनेको पुरुषलाई कसैले खोज्दैन। यही असमान दृष्टिकोण नै यस्ता दु:खद घटनाको जरो हो।
कानूनले पुरुषलाई पनि बराबरीको जिम्मेवारीमा बाँध्नुपर्छ। समाजले एकल आमालाई अपराधी होइन, साहसी व्यक्तिका रूपमा स्वीकार्नु पर्छ। साथै, राज्यले आमा र नवजातलाई सुरक्षित जीवन तथा आश्रय दिने प्रणाली बलियो बनाउन आवश्यक छ।
नवजात शिशु नालीमा वा शौचालयमा फालिनु केवल आमाको गल्ती होइन। यो घटनाले पुरुषको गैरजिम्मेवारी, समाजको असंवेदनशील दृष्टि र राज्यको कमजोरीलाई पनि देखाउँछ। त्यसैले अब दोष केवल महिलाको काँधमा थोपर्न बन्द गरौँ।
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment