‘मानवताका लागि कला’ प्रदर्शनी सुरु
काठमाडौं, असोज २० । भोटेकोशी नदी बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत र पुनःस्थापनाका लागि सहयोग जुटाउने उद्देश्यले ‘मानवताका लागि कला’ विशेष कला प्रदर्शनी सोमबारदेखि नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा सुरु भएको छ।
२०८३ भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितलाई राहत, सहयोग तथा दीर्घकालीन पुनःस्थापनामा योगदान पुर्याउने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले जनाएको छ।
प्रदर्शनीमा नेपालभरका कलाकार, कला दीर्घा, कलाकार समूह, कला तथा सांस्कृतिक संस्था, कला शिक्षण संस्था, विद्यार्थी, क्युरेटर, कला सङ्कलक तथा कलाप्रेमी नागरिकसँगै विदेशी कलाकारको समेत सहभागिता रहेको छ।
प्रदर्शनीमा १६० भन्दा बढी कलाकारका २०० भन्दा बढी कलाकृति राखिएका छन्। परम्परागत कला, लोककला, चित्रकला, रेखाचित्र, मूर्तिकला, सेरामिक्स, फोटोग्राफी, प्रिन्टमेकिङ, इन्स्टलेसन, मिक्स मिडिया र डिजिटल कलालगायत विभिन्न विधाका कलाकृति प्रदर्शनीमा छन्।
कलाकृति बिक्रीबाट प्राप्त रकममध्ये ७० प्रतिशत प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा र १० प्रतिशत कलाकार राहत कोषमा जम्मा गरिनेछ। बाँकी २० प्रतिशत रकम सम्बन्धित कलाकारलाई प्रदान गरिने प्रतिष्ठानले जनाएको छ।
प्रदर्शनी असोज २८ गतेसम्म सञ्चालन हुनेछ।
प्राकृतिक विपद्को कठिन अवस्थामा कला र कलाकारको सिर्जनशीलता, संवेदना तथा सामाजिक उत्तरदायित्वलाई मानवीय सेवासँग जोड्ने उद्देश्यले अभियान अघि बढाइएको प्रतिष्ठानले जनाएको छ।
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment