१० चैत्र २०८२, मंगलबार

कीर्तिपुरदेखि बन्दिपुरसम्म


अ+
अ-

‘आँखामा मधुपर्क, हृदयमा बन्दिपुर’ नाराका साथ बन्दिपुरमा हुने ‘राष्ट्रिय सिर्जना सम्मेलन–२०८१’ (फागुन १२–१५) कार्यक्रममा जसरी भएपनि भ्याउने मनसायले निमन्त्रणालाई तुरुन्त स्वीकार्नुको मेरो आफ्नै व्यक्तिगत स्वार्थ पनि थियो । एउटा हो, पूरै समय लेखन क्षेत्रमा व्यस्त हुने भएरपनि साहित्यिक माहौलमा रम्न नपाएको अलि लामो समय भइसकेको छ । इतिहास, संस्कृति, पुरातत्वलगायतका लेखनलाई काव्यलगायतका साहित्यसँग सम्बन्धित नभएको भन्ठान्नेहरू पनि होलान् त र म यही लेखन विधालाई सिर्जनात्मक साहित्यले उर्जा दिने मान्यता राख्छु वा त्यस्तो अनुभव गर्छु । यही भएर म सार्वजनिक साहित्यिक कार्यक्रमहरूमा उतिसा¥हो चल्तापूर्जा हुननसकेपनि साहित्यको लेखपढ छुटाउँदिनँ । अर्को कारण हो, बन्दिपुरको इतिहास र संस्कृतिसम्बन्धमा केही तथ्य र ‘हाइपोथेसिस’ बोकेर हिडेको निकै लामो समय भइसकेको थियो । आफूसँग भएको तथ्यलाई बन्दिपुरमै पुगेर जाँच्न पाएको थिएन । आफू पुगिनसकेका कारण त्यसबारे बोल्न वा लेख्न अप्ठ्यारो भइरहेको थियो । डुम्रे बाटो भएर यताउता आउजाउ गर्दा सँधैं बन्दिपुरले चिमोट्थ्यो । यस्तैमा केही वर्षअघि पोखरा हुँदै मुस्ताङ भ्रमणको लागि निस्कँदा स्वाट्ट बन्दिरपुर पसेको थिएँ । तथ्यलाई जाँच्न र स्थलमै एक पल्ट पुग्न नपाएर छट्पटाइरहेको मनलाई केही राहत मात्रै मिलेको भन्नु ठिक होला । समय पनि निकै छोटो थियो, त्यो । फेरि जानुपर्ने, जान सकिरहेको थिएन । थकथकी लागिरहेको थियो । यस अर्थमा बन्दिपुर पुग्नै पर्ने अवस्था मेरो थियो ।

मधुमर्कका सम्पादक त्रिभुवनचन्द्र वाग्लेको निमन्त्रण मेरा लागि ‘के खोज्छस् काना ?’ भनेर सोधे सरी भयो । यो साहित्य सम्मेलनको छेको पारेर केही सोधखोजको काम ताक थियो र केही आसावादी पनि हुनपुगेछु । लगालगको पाँच वटा लामो लामो यात्रा सकाउन्जेल अलि गलिसकेको अवस्था थियो तर बन्दिपुर यात्राको योजनासँगै तंग्रिएँ । फागुन १२, विहान बन्दिपुरका लागि गाडी चढ्न कलंकी पुगुन्जेल सहभागी र सहयात्रीहरू देख्दा स्फूर्ति ह्वासाक्कै बढ्यो पनि । 

साहित्यिक यात्रामा साहित्यको कुरा चल्नु स्वाभाविक हो । साहित्यसँगसँगै मेरो मथिंगलमा बन्दिपुरको इतिहास, संस्कृति अझ विशेष गरी त्यहाँका नेवार समुदायको कुराहरू हाँडीभित्र मकैं पड्केझैं पड्किरहेको थियो । चार पाङ्गाको ठूलो गाडी गुडिरहेको थियो तर मनको पखेटा गाडीभन्दा अघिअघि नै फट्फटाइरहेको थियो, बन्दिपुर हेर्दै । 

बन्दिपुरको एउटा उल्लेख्य पक्ष नेवार वस्ती हो । र, त्यसको संस्कृति पनि । यो लेखको मुख्य चासो वा विषयवस्तु पनि नेवार नै हो । नेवारहरू काठमाडौं उपत्यकाबाहिर कहिले पुगे भन्ने सवालमा सदैव पृथ्वीनारायण शाहको काठमाडौं आक्रमण र त्यसपछि नेवार बहिर्गमणको कथा हाल्ने गरिन्छ । यो बयान वा अनुमान गल्ती नै त होइन तर सबै ठाउँ र सबैको प्रसङ्गमा ठ्याक्कै मिल्दैन । इतिहासमा सबै कुराको सुरुवात पृथ्वीनारायण शाहबाट भयो भनेर बुझ्नु अतिशयोक्ति हो । यस्तो अतिशयोक्ति कुराहरू गर्दै हिड्नुलाई म ‘सुपेरियर कम्प्लेक्स’ वा ‘इन्फेरियर कम्प्लेक्स’ को शिकार भन्ठान्छु । यस्तो कम्प्लेक्स बोकेर हिड्नु इतिहासको अध्येताका लागि पाप कमाउनु हो । काठमाडौं उपत्यकाको नजिकै चितलाङ उपत्यकामा ते¥ह चौध सय वर्षअघि नै नेवारहरूको बाक्लो आवादी रहेको अभिलेखहरूले स्पष्टसँग भन्छ । तिनै अभिलेखको विश्लेषण गर्ने हो भने तत्कालको बसोवास नभएर त्योभन्दा निकै अघि नै काठमाडौंबाट नेवारहरू त्यस क्षेत्रमा आवाद गरी स्थायी बसोवास गरिसकेको बुझिन्छ । त्यो आवादी वर्तमानमा पनि निरन्तर नै छ र सामाजिक, सांस्कृतिक तथा अन्य कुरामा अहिलेसम्म पनि विशेष गरी कीर्तिपुरसँग नजिकको सम्बन्ध रहनु भौगोलिक निकटता भन्न सकिन्छ । यसबाट पुष्टि हुन्छ, पृथ्वीनारायणपछि नेवारहरू फैलिएको जरुर हो तर त्यसभन्दा अघिदेखि नै पनि नेवारहरू काठमाडौं उपत्यका छाडेर बाहिर बाहिर समाज नै बनाएर बसाइँसराईँ गरिसकेको थियो । काठमाडौं उपत्यकाको बाह्य सम्पर्क इशापूर्व छैठौं शताब्दीअघि नै भइसकेको पाइन्छ । अझ स्पष्ट रूपमा भन्ने हो भने, यस उपत्यकाको विकास र विस्तारमा बाह्य सम्पर्कले नै धेरै मात्रामा काम गरेको पाइन्छ । यसलाई समाजशास्त्रीय भाषामा अन्तरघुलन वा ‘एसिमिलेशन’ भन्न सकिन्छ । ईशापूर्व छैठौं शताब्दी भन्नु गौतम बुद्धको समय हो । त्यति बेला नै काठमाडौं उपत्यका व्यापार व्यवसायले गुलजार भइसकेको कुरा बौद्ध ग्रन्थ ‘मूलसर्वास्तिवादविनयसूत्र’ बाट बुझिन्छ । भिक्षु आनन्द व्यापारीहरूसँग काठमाडौं उपत्यका आएका थिए र फर्के बुद्धलाई यहाँको बारेमा सुनाएका थिए । आजभोलि गोरखा नामबाट चिनिने भूक्षेत्र लिच्छविकालमा काठमाडौं उपत्यकाको केन्द्रित शासनअन्तर्गत थियो । तत्कालिन लिच्छविराजाहरूले भूमिविस्तार कहाँदेखि कहाँसम्म गरेको थियो भन्ने चर्चा बेग्लै विषयवस्तु हो तर केन्द्रबाहेक अन्य ठाउँहरू सामन्तशासित हुन्थ्यो । गोरखा सामन्तशासित नभएर केन्द्र शासित क्षेत्र थियो भन्ने कुरा गोरखा क्षेत्रमा नै पाइएको सातौं शताब्दीको शिलालेखबाट पुष्टि हुन्छ । सातौं शताब्दीमा नेपाली राजकुमारी भनिएका भृकुटीको विवाह राजा श्रृङ्चङ् गम्पोसँग भएपछि मात्रै तिब्बतमा नेपालीहरूको आउजाउ हुन थालेको भनेर बुझ्नु पनि अलि कच्चा जानकारी राख्नु नै हुन्छ । जुम्लाको सिंजा उपत्यकालाई राजधानी बनाई बा¥हौं शताब्दीमा राजा नागराजद्वारा स्थापित खश साम्राज्यसँग काठमाडौं उपत्यकाको सम्पर्क तिब्बतको माध्यमबाट भएको हुनु धेरै संभव छ । पन्ध्रौं शताब्दीसम्म अस्तित्वमा रहेको खश साम्राज्यको सम्पर्क काठमाडौंको धर्म, संस्कृति तथा राजनीतिक स्तरमा रामै्रसँग भएको पाइन्छ । सिंजाको भाषिक प्रभाव त्यही समयमा काठमाडौंको नेवार समाजमा परिसकेको थियो । मनाङ, मुस्ताङ तथा डोल्पामा उपत्यकाका नेवार कलाकारहरूको माग पछिसम्म हुने गरेको पाइन्छ । 

खश साम्राज्यको पतन र आधुनिक नेपालको निर्माण बीचको समयमा महाकाली नदीभन्दा पूर्व र त्रिशुली नदीसम्म (अर्थात् काठमाडौं उपत्यकाभन्दा पश्चिम) विभिन्न ससाना राज्यहरूको उदय भएको थियो जसलाई बाइसे र चौबीसे राज्यहरू भनिन्थ्यो । विशेष गरी चौबीसे राज्यहरूमा काठमाडौं उपत्यकाका नेवार व्यापारीहरूको प्रख्याति थियो । आफ्नो गाउँठाउँको विकास गर्न तथा व्यापार व्यवसाय बढाउन ती राज्यहरू यिनै नेवारहरूलाई आकर्षित गर्ने ध्यावन्नामा रहन्थे । यसमा लमजुङ, कास्की, तनहुँ, पर्वत तथा स्याङ्जाबीच प्रतिस्पर्धा हुने गरेको देखिन्छ । यो प्रतिस्पर्धामा गोरखा पछि मात्रै सामेल भएकोे थियो, राजा रामशाहको राज्यकालमा । गोरखा राज्यको मात्रै बढी बढाउ गर्ने क्रममा अन्य इतिहासहरू छुट्न गएको दोषारोपन मात्रै होइन, यथार्थ हो । पूरै नेपालको इतिहास गोरखाबाट सुरु भएको बुझ्ने प्रवृत्तिले इतिहासको पाठ उल्टोपाल्टो पर्ने गर्दछ । चौबीसे राज्यभित्र गोरखा संभवतः कान्छो राज्य हो । राम शाहको बेलादेखि मात्रै नेवारहरू आफ्नो थातथलो छाडेर बाहिर जान थालेको भनेर बुझ्नु इतिहासलाई बुझ्दै नबुझ्नु हो । कान्तिपुर, ललितपुर र भक्तपुरका राजाहरू काठमाडौं उपत्यकामा मात्रै सीमित थिए भनेर बुझ्नु पनि एक प्रकारकले् अनाडी नै बन्नु हो । अहिलेको राजनीतिक भाषाम भन्नुपर्दा कान्तिपुर, ललितपुर र भक्तपुरका राजाहरू अन्तराष्ट्रिय राजनीतिमा हस्तक्षेप गर्दथे र आफ्नो प्रभाव जमाउँथे । यी तीन वटै राज्यको राजधानी मात्रै कान्तिपुर, ललितपुर र भक्तपुर थियो, तीन राज्यको भूक्षेत्र वर्तमानमा बागमती प्रदेश जतिकै रहेको पाइन्छ । चौबीसे राज्यहरूको गुटबन्दी तथा आन्तरिक मामिलामा यी तीन राजाहरू कूटनीतिक चलखेल गर्दथे । उदाहरणका लागि गोरखाका राजकुमार पृथ्वीनारायण शाहलाई भक्तपुरका राजा रणजीत मल्लले मीत छोरा बनाएपनि मीत छोरा गोरखाको स्वार्र्थविपरित कहिल्यै जाँदैन भन्ने कुरा उनलाई थाहा थियो । त्यही भएर भक्तपुरका लागि गोरखाको शक्तिमा खतरा देखेर त्यसलाई अँठ्याउन तनहुँलगायतका चौबीसे राज्यहरूलाई सरसल्लाहका साथै अन्य कुराले सहयोग गर्दथे । पृथ्वीनारायण शाहको विजययात्रा अगाडि बढिरहेकै बेला चौबीसे राज्यमध्ये एउटालाई लेखेको अत्यन्त गोप्य पत्र भूलचुकले पृथ्वीनारायण शाहको हात परेपछि मात्र यो कुरा उनलाई थाहा भएको थियो । पृथ्वीनारायण शाहको सीमा विस्तार अभियान मूलतः काठमाडौं उपत्यका केन्द्रित थियो । उपत्यकाको तीन राज्य र विजयपुर तथा चौदण्डी गरी पाँच राज्य मात्रै उनले कमाएका हुन् । इतिहास भनेर पढाइने लेख तथा पुस्तकहरूमा भनेजस्तो चौबीसे राज्यहरू एक आपसमा झगडा मात्रै गरेर निकै कमजोर हुनपुगेका थिएनन् बरु लमजुङ, कास्की, स्याङ्जा, पर्वत, तनहुँ आदि राज्यहरू आपसमा मोर्चाबन्दी बनाएर गोरखालाई एक्लो पार्न सफल भएको थियो । यसर्थ छिमेकी राज्यहरू न कमजोर थियो न गोरखालाई सजिल्यै निल्न सक्ने अवस्थामा नै थियो । यस अवस्थामा पृथ्वीनारायण शाहको कोपभाजनमा परेर काठमाडौंबाट भाग्न र लुक्न विवश नेवारहरूका लागि सुरक्षित स्थल गोरखाकै छिमेकी राज्य हुन्थ्यो र त्यहाँ राम्रैसँग बस्न पाइन्थ्यो । भक्तपुरमा गोरखासँग पराजय भई काशीमा निर्वासित जीवन बिताउन गएका रणजीत मल्लले आफूसँगै एक राजकुमार अवधूतसिंहलाई साथमा लिएर गएका थिए । ती राजाको मृत्युपछि अवधूतसिंह फर्केर आई पर्वत राज्यमा शरण लिएका थिए र पृथ्वीनारायण शाहको विरुद्धको पर्वतको अभियानमा सरिक भएका थिए । भक्तपुरबाट भागेर डोटी पुगेका कुनै मल्लहरूका सन्तानमध्येका एक शिवराज श्रेष्ठ ‘‘मल्ल’’ले बताएअनुसार उहिले पो लुकेर बस्नु पर्दथ्यो र थर लुकाएर श्रेष्ठ राखियो तर अहिले लुक्न नपर्ने अवस्थामा पहिचान देखाउन नामको पछाडि उपनाम ‘मल्ल’ झुण्ड्याएको बताउँछन् । उनी इतिहासमा राम्रो दखल राख्ने लेखक हुन् । यस क्रममा कतिपयको संस्कार संस्कृति तथा पहिचानमा पनि पनि संकट आएको देखिन्छ । यसरी भाग्ने र लुकेर बस्नेहरू तनहुँको बन्दिरपुर पुगेको पनि पाइन्छन् । बन्दिरपुरलगायतका क्षेत्रमा नेवारको आगमनलाई सजिलो पाराले बुझ्न सकिन्न । पृथ्वीनारायण शाहको उपत्यका आक्रमणपछि मात्रै बन्दिपुरमा नेवारहरू आइपुगेको भनेर बुझ्नु वास्तवमा बन्दिपुरको धेरै इतिहासलाई निषेध गर्नु हुन्छ । यहाँ पहिल्यैदेखि आइबसेका नेवारहरू त छँदै थिए, पृथ्वीनारायणको कोपबाट बच्न पनि पाएको पाइन्छ । यसरी भाग्ने बेला पूर्व सम्पर्कलाई पछ्याउने गरिन्छ । बन्दिपुरका नेवारहरूको अध्ययन गर्दा यहाँ भक्तपुरबाट बढी मात्रामा पुगेको पाइन्छ । यहाँ बोलिने भाषा, संस्कार तथा संस्कृतिले यही कुराको पुष्टि गर्दछ । तिनै भक्तपुरका नेवारहरूमा कीर्तिपुरबाट भागेका नेवारहरू मिसिएको पनि पाइन्छ । कीर्तिपुरको गहिरो अध्ययन गरेका पुरातत्वविद् शुक्रसागर श्रेष्ठले बन्दिपुर र कीर्तिपुरको यो पक्षबारे जानकारी दिएका थिए र थप अध्ययन हुनुपर्ने भनिराख्थे । यहाँ मेरो चासो बन्दिपुर पुग्ने तिनै कीर्तिपुरवासीको खोजी हो ।

बन्दिपुर तनहुँ राज्यअन्तर्गत एउटा व्यापारिक केन्द्र थियो । काठमाडौं उपत्यकाभित्रै उत्पादन भएका वस्तुहरूको विक्रीवितरण गर्न कतिपय व्यापारीहरू उपत्यकाबाहिर टाढाटाढासम्म पुग्थे भने, कतिपय व्यापारी भारतलगायतका वस्तुहरू काठमाडौं भित्र्याउँथे । भारतबाट वस्तु आपूर्ति गर्ने एउटा राम्रो थलो बन्दिपुर थियो । बन्दिपुरबाट सामानहरू कीर्तिपुर आउँथ्यो । कीर्तिपुर कुनै एउटा वस्ती मात्र नभएर अर्को व्यापारिक थलो पनि थियो र यही भएर पृथ्वीनारायण शाहले यस क्षेत्रमाथि विशेष आँखा लगाएको हुनुपर्दछ । बल्लबल्ल तेस्रो पटकको आक्रमणमा मात्रै विजय हासिल गर्न उनी सफल भएका थिए । यस अर्थमा कीर्तिपुर र बन्दिपुरबीच नजिकको सम्बन्ध बनेको थियो । कीर्तिपुर त्यति बेला पाटन राज्यअन्तर्गतको क्षेत्र थियो र यो क्षेत्र गोरखा अधिनष्ट बनेपछि गोरखाका क्रूद्ध सैनिकहरूले कीर्तिपुरका जनतामाथि भएको अत्याचार हिजोआज चर्चाको विषय बन्ने गरेको छ । दुई पल्टको पराजय र तेस्रो पल्टको अभियानमा पनि बल्लबल्ल जीत हासिल गरेपनि यसबीच गोरखाको धेरै मात्रामा नोक्सान भइसकेको थियो । पराजयी कीर्तिपुरवासीलाई दण्ड दिने क्रममा नाक काटिएको प्रसङ्गलाई कतिपय लुकाउन वा विदेशीले फैलाएको हल्ला भन्न खोज्छन् तर यति र उति धार्नी नाक भनेर उल्लेख गर्ने तथा त्यसैको आधारमा गोरखा बहादुरी बखान गर्ने काम तिनै विजयी पक्षले लेखाएको वंशावली तथा साहित्यमा पाइनुले थप पुष्टि गर्दछ । आफ्नो नाक नकाटियोस् भनेर कोही कीर्तिपुरवासीले लेखेको चिठी र नाक काट्न काम लगाएकोमा ओंठ पनि काटिदिएको भन्दै उक्त काम गर्ने कोही तामाङलाई दण्डस्वरूप गोरखाली सेनाले मारिदिएको घटनाले पनि कीर्तिपुरमा कति आतंक तथा हाहाकार मच्चिएको रहेछ भन्ने कुरा खुल्दछ । यस्तो अवस्थामा भाग्न सक्नेहरू भाग्नु स्वाभाविक हो तर भागेर सुरक्षित र नजिकको ठाउँमा पुग्नु भनेको बन्दिपुरभन्दा उपयुक्त अरु थिएन ।   

काठमाडौं उपत्यकाका नेवारहरू उपत्यकाबाहिर बसाइँसराईँ गर्दा एउटा अचम्मको प्रवृत्ति पाइयो । तिब्बतको व्यापारमा ज्यादाजसो कान्तिपुर (काठमाडौं) का नेवारहरूको बर्चश्व पाइन्छ । सिन्धुपाल्चोकलगायत जिल्लाहरूमा भक्तपुरबाट गएका छन् । लिस्तीकोटमा भने कीर्तिपुरको केही सम्बन्ध देखियो । नुवाकोटमा पनि कीर्तिपुरको सम्बन्ध देखिन्छ । यसरी नै दोलखा पुरानै नेवार वस्ती हो । यहाँ ललितपुरको सम्बन्ध देखिन्छ । राजा राम शाहले आफ्नो राज्यमा ललितपुरबाट नेवार व्यापारीहरूलाई मगाएको पाइन्छ । त्यसदेखि बाहेक काठमाडौं उपत्यकाको पश्चिम तनहुँ, कास्की, स्याङ्जा, पर्वत, बाग्लुङ, आदि चौबीसी राज्यहरूमा छरिएका नेवारहरू भक्तपुरबाटै गएका हुन् । रोल्पालगायत विभिन्न जिल्लामा छरिएका रहेका नेवारहरू भागेका मात्रै थिएनन्, व्यापार गर्न वा अन्य कुनै जिम्मेदारी दिएर राज्यद्वारा नै खटाइएका पनि हुन् । अन्यत्रको तुलनामा कीर्तिपुरका नेवारहरूमा बसाईसराईँको प्रवृत्ति कमै मात्र पाइन्छ । तर कीर्तिपुरमाथि गोरखा विजयपछि कति संख्यामा बन्दिपुर गएर बसे र तिनीहरू को को हुन् भनेर खुट्याउन नै मुस्किल छ । ती कीर्तिपुरवासी बन्दिपुरमा लुक्ने क्रममा आफ्नो पहिचानलाई हराउन पुगेका छन् । कीर्तिपुरबाट आएको भनेर एउटा घर परिवार देखाउने गरिन्छ तर ती नब्बे सालको भुइँचालोपछि मात्रै पुगेका भन्ने कुरा लेखक डिल्लीराम मिश्रबाट जानियो ।  

बन्दिपुर बजारको पश्चिमपट्टि अलि झरेपछि ‘तीन धारा’ भन्ने ठाउँ आउँछ । झट्ट हेर्दा केही मन्दिरहरू दृष्टिगोचर हुन्छ र धार्मिक स्थल भनेर पहिचान गर्न सकिन्छ । तीन धारा भनिएपनि त्यहाँ तीनभन्दा बढी धाराहरू छन् । पहिला तीन वटा मात्र धारा भएकाले तीन धारा नाम रहन गएको बुझिन्छ । पहाड रसाएर आइरहेको पानी नै ती धाराहरूबाट झरिरहेका हो । त्यही पानी बगेर बनेको खोल्सालाई ‘बन्दि’ भनिने जानकारी डिल्लीराम मिश्रबाट पाएपछि बन्दिपुरको ऐतिहासिकता र यहाँ नेवारको आगमन थम्याउन अझ सहायत मिल्यो । मगर भाषामा पानीसँग सम्बन्धित खोलानालामा ‘दि’ शब्द आउने गर्दछ । नेपाली भाषाको व्याकरणमा ठाउँको नाममा दीर्घ ईकार राख्ने चलनअनुसार म्याग्दी, रिदी, पुम्दी, छाब्दी भनिएको मात्रै हो, नत्र ‘दि’ नै हुन्छ । ठाउँको नामसँग ‘पुर’ आएका कारण ‘बन्दिपुर’ बन्यो, ‘बन्दी’ बनाइएन वा भनिएन । बन्दिपुरलाई ‘बन्दीपुर’ को रूपमा बुझ्ने र अपराधी कर्म गर्नहरूलाई बन्दी बनाउने ठाउँ भएर यस्तो नाम रहेको भन्ने अनुमाण पुराणले ऐतिहासिक अध्ययनलाई अलमल्याउने बाहेक अरु गर्दैन । मगर भाषामा पानीको अर्थबोध गराउने ‘दि’ शब्द नेवार समाजमा भने ‘ति’ प्रचलित छ । नेवारबाहेक पूर्वतिरका अन्य जातीय समुदायमा पनि ‘ति’ शब्द नै प्रचलित छ । अर्थात्, मगर भाषाबाट गाउँठाउँको नाम बनिसकेपछि मात्रै बन्दिपुरमा नेवारहरूको आगमण भएको बुझ्न सकिन्छ, नभए यसको नामाकरण संभवतः नेवार समुदायले नै गरिदिन्थ्यो । नेवारले राखेको अभिलेखमा यस बस्तीको नाम ‘बंदेपुर’ रहेपनि त्यो बन्दिपुरलाई नै भनेको बुझ्न सकिन्छ । 

नेवार समुदायको मुख्य थातथलो काठमाडौं उपत्यकामा प्रत्येक घरको मुख्य ढोका अगाडि एउटा पूजास्थल हुन्छ । ‘पिखालखु’ भनिने पूजास्थलले पूरै घरको प्रतिनिधित्व गरिरहेको हुन्छ अथवा यसलाई घरको प्रतीक पनि भन्न सकिन्छ । यहाँ पूजा गर्नुले घरकै पूजा गरेको अर्थ दिन्छ । यसरी नै नित्य पूजाको क्रममा यहाँ पनि सफा र पूजा गर्ने गरिन्छ । तिहारको बेला यस ठाउँमा रातो माटोले मण्डलाकारमा पोटेर त्यसलाई रातो माटोले पोट्दै घरको धुकू (पूजास्थल) सम्म लगिएको हुन्छ जहाँ लक्ष्मी पूजा गरिएको हुन्छ । यसलाई ‘लक्ष्मीद्यः सालेगु’ भनिन्छ जसको तात्पर्य पिखालखुमा लक्ष्मीलाई स्वागत गरेर पूजाकोठासम्म ल्याइएको हो । घरमा हुने नित्य पूजामा पनि पिखालखुमा सोहीअनुसार पूजा गरिन्छ । घरबाट बाहिर देवमन्दिरतर्फ पूजा लाँदा पनि यहाँ पूजा गर्नु पर्दछ । अझ पूजाका लागि जल भित्र्याउँदा पनि यस पिखालखुमा अलिकति चढाउने गरिन्छ । नयाँ सदस्यको रूपमा बुहारी भित्र्याउँदा यही ठाउँमा राखेर पूजा गरेर मात्र भित्र्याइन्छ । मान्छे मर्दा सातौं दिनमा मृतकलाई भात खुवाउने महत्वपूर्ण कर्म पनि यही पिखालखुमा गरिन्छ । काठमाडौं उपत्यकामा पिखालखुको जतिसुकै महत्व भएपनि यसको महत्व काठमाडौं बाहिर घट्दै गएको पाइन्छ । स्याङ्जा जिल्लाका कतिपय नेवार वस्तीहरूमा पिखालखु बारेमा पूर्णतः अनभिज्ञ रहेको पाइयो । अध्ययनको क्रममा ती नेवारहरू अलि अघि नै त्यहाँ पुगेको देखियो । अर्थात् आफ्नो थातथलो छाडेर विभिन्न ठाउँमा बसाईँ सरेपछि आफ्नो संस्कार र संस्कृतिलाई पनि सँगसँगै लिएर हिडेको भन्ने बुझाई पूर्णतः सत्य नरहेको बुझिन्छ । बसाईँसराईँ सँगै संस्कार र संस्कृतिमा परिवर्तन वा क्षय हुने कुरा यहाँ पनि लागू भएको बुझ्न सकिन्छ । को नेवार कति अगाडि आयो वा पछाडि आयो भनेर हेर्ने एउटा मापन पिखालखुलाई पनि लिन सकियो । बन्दिपुरमा पनि पिखालखु त्यति देखिँदैन तर पूर्णतः हराएकै पनि भन्न मिल्दैन । पूरै नेवार वस्तीमा चार पाँच घरमा पिखालखुको रूपमा पूजा गरिराखेको देखियो । 

कीर्तिपुरबाट बन्दिपुरमा गएका नेवारहरू खोज्न नसक्नु वा बिलाउनुलाई मैंले पहिचानको विषयसँग जोडेर हेरेको छु । जसरी धेरै पहिले आफ्नो थातथलो छाडेकाले भाषा र संस्कृति ठ्याम्मै बिर्से वा केही अवशेष बाँकी राखेका छन्, थोरै पहिले छाडेकाले पहिलोको तुलनामा अलि बढी जोगाएर राखेका छन् । बन्दिपुरका नेवारहरू अलि थोरै पछि गएका हुन् कि भनेर अनुमान गर्ने ठाउँ छ । त्यहाँ भाषा हराएको छैन । संस्कार र संस्कृति पनि हराइसकेको भनिहाल्न मिल्दैन । यसको अर्थ यो होइन कि, बन्दिपुरमा नेवार सभ्यता सही सलामत छ, निरन्तरता छ । अन्यत्र पिखालखु पूर्णतः हराइसके पनि यहाँ पूरे वस्तीमा चार पाँच घरमा देखिनु क्षयकै संकेत हो । अझ क्षयको कुरा त के हो भने, बन्दिपुरबाटै नेवारहरू विस्थापित हुन ठाल्नु । पृथ्वीराजमार्ग बनेपछि जिल्ला सदरमुकाम दमौलीमा सारिएसँगै बन्दिपुर पनि सुक्न थाल्यो र बस्ती उराठलाग्दो बन्यो । पर्यटनको विकाससँगै बन्दिपुर बौरिन थालेको पनि भनिन्छ तर संस्कृतिको विद्यार्थीको नाताले त्यस्तो भनिहाल्न अलि अप्ठेरो छ । बन्दिपुरका नेवारहरू अहिले कोही चितवन तथा नारायणगढतिर झरेका छन् त कोही काठमाडौंमा नै घर बनाएर बस्न थालिसकेका छन् । बन्दिपुरवासी त भन्छन् तर बन्दिपुरमा कहिलेकाहीँ मात्र पुग्छन् वा पुग्दैनन् । नेवार वास्तुकलाले युक्त घर तथा वस्ती त छ तर होटेल व्यवसायमा थोरै मात्र नेवार संलग्न छन् । धेरैले भाडामा दिएर अरुलाई चलाउन दिएका छन् । नेवारका विषयमा नेवारसँग नै सोध्न पाइँदैन, जे जति जानकारी पाइन्छ, पर्यटकका लागि उपलब्ध गराइने ‘ब्रोसियर’ भन्दा बढी जानकारी पाइँदैन । बन्दिपुरमा देखिने दैनिक जनजीवनमा बन्दिपुर भेटिन्न । व्यापार गर्न आएका व्यापारीले नेवारका कुराहरूलाई देखाउने मात्रै हो, नेवार सभ्यता र संस्कृति थामिदिन सक्दैन । यहाँ जति पनि देखिने हुन्छ, त्यसमा कृतिमता मात्रै हुन्छ । यही भएर पर्यटनको विकाससँगै बन्दिपुर बौरिन थालेको भन्न नसकिएको हो । 

बन्दिपुरमा कीर्तिपुरको नेवार भेटियो त ? यो लेखको मुख्य प्रश्न यही हो । तर थोरै दिन वा थोरै समयमा यस्ता प्रश्नहरूको जवाफ पाइहालिन्छ भन्ने अपेक्षा राखिनु हुन्न । खोजी कार्यले निरन्तरता पाउनु पर्दछ । त्यहाँ प्रसिद्ध विन्ध्यवासिनी मन्दिरमा रहेको अभिलेखले भने केही संकेत दिन्छ । बन्दिपुरमा रहेका मन्दिरहरूमध्ये सबैभन्दा ठूलो, पुरानो र महत्वपूर्ण यही विन्ध्यवासिनी हो । मूल ढोकाको माथि टांगिएको अभिलेखमा प्रयुक्त भाषा न भक्तपुरमा बोलिने हो, न त बन्दिपुरका अधिकांश नेवारले बोल्ने भाषासँग नै मिल्छ । त्यहाँ प्रयुक्त भाषा कीर्तिपुर वा काठमाडौंतिर बोलिने नेवार भाषा हो । सम्बत ९५० को उक्त अभिलेख मन्दिर निर्माणसम्बन्धी नभएर तोरण बनाएर चढाएको सम्बन्धी हो । ती दाताको नाम मनोरथ ललित हो । यो नामले मात्रै व्यक्तिको पृष्ठभूमि खुल्दैन तर यसमा प्रयुक्त भाषाका आधारमा कहीँ कीर्तिपुरबाट गएका नेवारको सन्तानमध्ये एक उही पो हो कि ? तर आफ्नै अनुमानमा पनि शंका गर्ने ठाउँ नभएको होइन । काठमाडौं उपत्यकामा पाइएका मध्यकालका अभिलेखहरू अधिकांश नेपाल भाषा (नेवार भाषा)मा नै पाइन्छ र ती भाषाहरूमा एक रूपमा पाइन्छ, स्थानिय भेद पाइँदैन । बन्दिपुरको उल्लेखति अभिलेख पनि त्यसैको निरन्तरता हुनसक्छ । अध्ययनले निरन्तरता पाएभने धेरै कुरा थाहा पाइने हुन्छ । 

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
बसन्त महर्जन

अन्य लेखहरू: बसन्त महर्जन

यस लेखकका अन्य रोचक लेखहरू
नेवार समाजमा पाहाँचःह्रे चाड

नेवार समाजमा पाहाँचःह्रे चाड

विभिन्न जातीय समुदायको सांस्कृतिक जीवनको अध्ययन गर्दा एउटा समानता के देखिन्छ भने, वर्षभरिमा जेजति चाड पर्व मनाएपनि त्यसम...

नरेश श्रेष्ठ र फोटोग्राफी

नरेश श्रेष्ठ र फोटोग्राफी

अनेकौं पहिचानहरुको भीडमा एउटा पहिचान हो, फोटोग्राफर नरेश श्रेष्ठ । र, उनको फोटोग्राफी । बहीखाता राखेजस्तै उनी कतिपय ऐतिह...

पोखरी र संस्कृति

पोखरी र संस्कृति

पोखरी फगत पानीको भण्डार होइन । होला अरुतिर, त्यो बेग्लै कुरा। काठमाडौंको नेवार जनजीवनमा पोखरीको अर्थ प्रायः धर्म, संस्कृ...

संयुक्त राष्ट्र संघमा रञ्जना लिपिको लोककथा

संयुक्त राष्ट्र संघमा रञ्जना लिपिको लोककथा

नेवार समाजमा अनेकौं लोककथाहरू छन् । कथा बनाउनमा नेवारहरू सिपालु नै छन् । यस्तै एउटा लोककथा हो, ‘‘संयुक्त राष्ट्र संघमा र...

मतदाता र करदाता

मतदाता र करदाता

मतदाता थिएँ, अघिसम्म / मतदानपछि मतदाता भइनँ । ...

स्याङ्जाका नेवार

स्याङ्जाका नेवार

सालडाँडामा वन बाक्लै छ। तर, बीच बीचमा केही बोट भेटिए पनि यो डाँडामा नामबाट झट्ट अनुमान हुने जस्तो गरी सालको प्रधानता पाइ...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्