१८ बैशाख २०८३, शुक्रबार

बौद्ध चारधामको महत्व


अ+
अ-

भिक्षु आनन्द– “भन्ते, पहिले दिशादिशाबाट वर्षावास बसी भिक्षुहरू भगवान्को दर्शन गर्न आइरहन्थे । ती मनोभावनीय भिक्षुहरूको दर्शन तथा सत्संगत हामीलाई मिलिरहन्थे । अब भगवान् नरहनुभएपछि हामीले ती मनोभावनीय भिक्षुहरूको दर्शन पनि पाउँदैनौ होना ।’’

गौतम बुद्ध– ‘‘आनन्द । श्रद्धालु कुलपुत्रको निमित्त यी चार दर्शनीय, संवेजनीय (वैराग्यप्रद) स्थान हुन् । यहाँ (लुम्बिनी) तथागत उत्पन्न भयो भनी, यहाँ (बोधगया) तथागत अनुत्तर सम्यकसम्बुद्धत्व प्राप्त गर्नुभयो, यहाँ (सारनाथ) तथागतले अनुत्तर धर्मचक प्रर्वतन (प्रथम धर्मोपदेश) गर्नुभयो, यहाँ (कुशीनगर) तथागत अनुपाविशेष निर्वाणधातुद्वारा परिनिर्वाण हुनुभयो भनी श्रद्धालु कुलपुत्रको निमित्त दर्शनीय संवेजनीय स्थान हुनेछ । यी चार स्थान श्रद्धालु कुलपुत्रको निमित्त दर्शनीय, संवेजनीय स्थान हुन् । जो कसैको यी चेतियहरूमा चारिका गरी प्रसन्न चित्त राखी मृत्यु हुन्छ, ती सबै मृत्युपछि सुगति स्वर्गलोकमा उत्पन्न हुन्छन् ।’ (महापरिनिब्बान–सुत्त, दीघनिकाय)

परिचय

विश्व बौद्धजगत गौतम बुद्धको जन्मस्थल लुम्बिनी, बोधिलाभस्थल बोधगया, प्रथम धर्मचक्रप्रवत्र्तनस्थल सारनाथ र महापरिनिर्वाणस्थल कुशीनगरलाई चारधाम मान्दछन् र यी स्थलहरूमा पुगी बुद्धप्रति श्रद्धा चढाउँछन् । र, यी दर्शनीय एवं संवेजनीय स्थलहरू ध्यान भावना गर्न उपयुक्त ठानी ध्यान गरेर धर्मलाभी हुन्छन् । गैर–बौद्ध एवं पर्यटकहरू पनि बुद्धसँग सम्बन्धित ठाउँको भ्रमण गरेर यसबारे जानकारी हासिल गर्छन् । लुम्बिनी र बोधगया विश्व सम्पदा सूचीमा सूचीकृत छन् भने भारतीय सरकारले सारनाथ र कुशीनगर दुईलाई विश्वसम्पदा सूचीको प्रस्तावित स्थलको रूपमा राखिएको छ । 

गौतम बुद्धको महापरिनिर्वाण पछि मान्छेहरू यी चारै ठाउँमा आउने र श्रद्धा चढाउन पाएर धन्यभागी मान्न थालेपछि विस्तारै यहाँ अन्य गतिविधि  पनि हुन थाल्यो । स्तूप र विहारलगायतको निर्माण संरचनाले यी ठाउँहरूको विकास अझ हुनथाल्यो । इ.पू. २४९ मा मौर्य सम्राट अशोक लुम्बिनी आउँदा त्यस स्थलमा एउटा गाउँ नै बसिसकेको अशोकस्तम्भमा रहेको अभिलेखबाट थाहा हुन्छ । साहित्यिक तथा पुरातात्विक श्रोतहरूको अध्ययनबाट ती ठाउँहरूमा क्रमशः निर्माण संरचना बढ्दै गएको र इस्वीको एघारौं बा¥हौंं शताब्दीसम्म निरन्तरता पाइरहेको थाहा पाइन्छ । बौद्ध धर्म–दर्शनमा लुम्बिनी, बोधगया, सारनाथ र कुशीनगरको आध्यात्मिक महत्व त छ नै, साथसाथै यसको कला, वास्तुकला तथा इतिहास र पुरातत्वका दृष्टिले पनि महत्वपूर्ण छन् । यहाँ चारधामको धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा पुरातात्विक महत्वमाथि संक्षिप्त चर्चा गरिएको छ ।   

लुम्बिनी 

⠿ drag

गौतम बुद्धको जन्म इ.पू ५६३ वैशाख पूर्णिमाको दिन लुम्बिनीमा भएको थियो । प्रथम सन्तानको सुत्केरी माइतमा गर्ने प्रचलनअनुसार मायादेवी देवदह जाँदै गर्दा बाटोमा पर्ने लुम्बिनीमा शिशुको जन्म भएको विवरण हिजोआज जनमानसमा व्याप्त भएपनि यसको स्पष्ट श्रोत खुल्दैन । यस सम्बन्धमा पालि साहित्य मौन छ भने महायानी बौद्ध ग्रन्थ ‘ललितविस्तर’मा मायादेवी देवदहलाई नभएर लुम्बिनीलाई नै गन्तव्य बनाएर कपिलवस्तुबाट हिडेको कुरा बडो महत्वकासाथ सुन्दर र लालित्यपूर्ण भाषामा वर्णन गरिएको पाइन्छ । 
लुम्बिनी अघिदेखि नै यक्षको पूजास्थल रहेको, यक्ष प्रसवसँग सम्बन्धित रहेको र पूजा गर्नकै लागि मायादेवी यहाँ पुगेको ठहर यो लेखकको थियो र केही वर्षअघि पुरातात्विक उत्खननबाट प्राप्त तथ्यले यो ठहरको पुष्टि भयो पनि । बुद्धको जन्मस्थल भनिएकै ठाउँमा जन्म समयभन्दा पुरानो पूजास्थलको निर्माण संरचनाको फोसिल पाइयो । यो भनेको ‘पोस्ट होल’ हो । बुद्धको जन्म यहीँ भएको, अलिकति यता र अलिकति उता पनि होइन भनेर जनाउ दिन राखिएको ढुंगाको संरक्षण मौर्य सम्राट अशोकले गरेका थिए । सो ढुंगालाई यताउता पर्नबाट जोगाउन चारैतिर इँटाको सानो पर्खाल उठाइदिएका थिए । त्यसपछि त्यहाँ विस्तारै अन्य सरचनाहरूको निर्माण हुनथाल्यो जुन यसको ऐतिहासिक विकासको अध्ययन गर्ने भरपर्दो श्रोतसामग्री नै भयो । कालान्तरमा लुम्बिनी विस्मृतिको गर्तमा पुरिएर सन् १८९६ मा पुनः डिस्कभरी भएको थियो । सन् १९९३–९६ मा भएको उत्खनन्मा बुद्ध यहाँ जन्मिएको भनी जनाउ दिन राखिएको एउटा ढुंगा भेटियो जसलाई हिजोआज ‘मार्कर स्टोन’ भनी जतनका साथ राखिएको छ ।

बोधगया

⠿ drag

बोधगयाको एउटा पीपलको रुखमुनि गौतम बुद्धले इ.पू. ५२८ को वैशाख पूर्णिमाको रात बोधिलाभ गरी बुद्ध बनेका थिए । यो ठाउँ विहार प्रदेश (भारत) को गया जिल्लास्थित फल्गु नदीको किनारमा पर्दछ । बौद्ध मान्यता के छ भने, गौतम बुद्धले मात्रै नभएर यस अघिका सबै अतीत बुद्धहरूले पनि यही ठाउँमा बोधिलाभ गरेका थिए । भविष्यमा आउृने बुद्धहरूले पनि यहीँ बोधिलाभ गर्ने हुन् । अर्थात यो ठाउँ बौद्ध जगतका लागि केन्द्रस्थल हो । 

बोधगयाको मुख्य स्थल बोधिवृक्ष नै हो । यसलाई बज्रासन पनि भनिन्छ । बज्रासनको सँगै पश्चिममा मौर्यसम्राट अशोकद्वारा निर्मित महाबोधि महाविहार अर्को महत्वपूर्ण सम्पदास्थल हो । यस वरिपरि बुद्धसँग सम्बिन्धित अनेक स्थलहरू अवस्थित छन् । 

बौद्ध इतिहासमा बोधगयाले अनेकौंं उतारचढाव भोग्नु परेको ऐतिहासिक दृष्टान्त छन् । बोधिवृक्षसँग मौर्य सम्राट अशोकको अधिक श्रद्धाबाट इष्र्या भएर उनकै एक रानीले बोधिवृक्षलाई नष्ट गर्न खोजेको घटनादेखि लिएर कुनै एक विधर्मी राजाले पूर्णतः नष्ट गरिदिएको पनि पाइन्छ । यसलाई बडो मेहनत गरेर पुनः उमारेको थियो । भारतबाट बौद्ध धर्मको पतनसँगै बोधगयाको चर्चा पनि कम हुँदै अन्ततः यो क्षेत्र जंगलमा परिणत हुनु पुग्यो । तर पूर्णतः हराइनसकेको तथ्य पाटन (नेपाल) निवासी अभयराज शाक्य सन् १५६० तिर त्यहाँ तीर्थयात्रा गर्न पुगेको तथा फर्केर आई महाबोधि महाविहारको रिप्लिका पाटनमा बनाएबाट पुष्टि हुन्छ । त्यस्तै अन्य विवरणहरूले पनि बोधगयामा अघिपछिजस्तो चहलपहल नभएपनि हराइ हालेको भने थिएनछ भन्ने कुरा थाहा हुन्छ । 

सारनाथ

⠿ drag

बोधिलाभपछि सो बोधि (ज्ञान) लाई धर्मोपदेशका रूपमा पहिलो पल्ट धर्मचक्रप्रवपत्र्तन गर्ने काम सारनाथमा भएको थियो । तीर्थङ्कर श्रयंशुनाथको जन्मस्थल भएर यसको नाम सारनाथ रहेको र भविष्यमा सम्यकसम्बुद्ध हुने बोधिसत्वले जन्म लिन लागेको खबर पाएपछि प्रत्यकबुद्धहरूले सारनाथको आकासमै निर्वाण लाभ गरेको हुनाले यसलाई ऋषिपतन पनि भनिन्छ । यहाँ ऋषिको तात्पर्य प्रत्यकबुद्धहरू हुन् । सारनाथ मृगहरूको वासस्थल र कुनै पूर्वजन्ममा बुद्ध स्वयं मृगको रूपमा विचरन गरी बोधिचर्या गरेको हुनाले यसलाई ऋषिपतन मृगदावन पनि भनिन्छ । 
असार पूर्णिमाका दिन बुद्धले यहाँ पञ्चभद्र वर्गीय भिक्षुहरूलाई उपदेश दिएर धर्मचक्र प्रवत्र्रन मात्रै गरेनन्, संघको पनि स्थापना गरे । विश्वमा बौद्ध धर्मदर्शनको प्रचारप्रसार कार्य सारनाथबाट नै सुरु भएको थियो । 

 

कुशीनगर

⠿ drag

गौतम बुद्धले कुशीनगरमा अस्सी वर्षको उमेरमा इ.पू. ४८३ मा महापरिनिर्वाण लाभ गरेका थिए । तीन महिनाअघि वैशालीमा आयुसंस्कार परित्याग गरी कुशीनगरतर्फ लाग्दै गर्दा भिक्षु आनन्दले बुद्धसँग महापरिनिर्वाणका लागि अन्य थुप्रै समृद्ध एवं भव्य नगरहरू भएको तर कुशीनगरमा नै किन जानु परेको भनेर प्रश्न गरेका थिए । यसको अर्थ हो, त्यति बेला कुशीनगर त्यत्ति चर्चित र समृद्ध थिएन ।  

भिक्षु आनन्दलाई बुद्धले दिएको जवाफ महत्वपूर्ण छ । अतीतमा कुशीनगर समृद्ध र सुसम्पन्न थियो । त्यस बेला बोधिसत्व चक्रवर्ती राजा थिए र कुशीनगर राजधानी थियो । अब समृद्ध छैन भन्दैमा उपेक्षा गर्नु हुँदैन भन्ने शिक्षा यस जवाफले दिन्छ । 

विभिन्न ठाउँको चारिका गर्दै गौतम बुद्ध कुशीनगर पुग्छन् । र, दुई शालवृक्षको बीचमा सिंहशैयामा बुद्धले महापरिनिर्वाण लाभ गरेका थिए । महापरिनिर्वाण स्थलमै हाल महापरिनिर्वाण महाविहार र महापरिनिर्वाण स्तूप निर्मित छ । महापरिनिर्वाण मुद्राको ठूलो पाषाण मूर्ति सो विहारमा राखिएको छ । यहाँ विश्वभरका बौद्धहरू दिनहुँ पुग्छन् । गौतम बुद्धको दाहसंस्कार सम्पन्न भएको स्थल मुकुटबन्धन चैत्यमा अहिले ठूलो स्तूप निर्मित छ । मान्छेहरू यस स्थलमा पनि पुग्ने गर्दछन् । 

निष्कर्ष

लुम्बिनी, बोधगया, सारनाथ र कुशीनगर चार संवेजनीय स्थल भनी स्वयं बुद्धले भनेको र यी चारै ठाउँमा ध्यान गरेपछि ध्यानीले व्यक्त गर्ने अनुभव तथा अनुभूति बेजोडको हुने गर्दछ । यस अर्थमा चारधामको रूपमा रहेका यी चार संवेजनीय स्थल आध्यात्मिक स्थल त भयो नै, साथसाथै ऐतिहासिक तथा पुरातात्विक स्थल पनि हुन् । यी चारधाम तथा अन्य बौद्धस्थलहरुको ऐतिहासिक तथा पुरातात्विक अध्ययन बौद्ध इतिहासको मात्रै नभएर नेपाल तथा पुरै भारतको इतिहास लेखनको महत्वपूर्ण श्रोत यिनै स्थलहरू हुने गरेका छन् । लामो कालखण्डमा भएगरेका मानवीय गतिविधिहरू पुरातात्विक अवशेषका रूपमा रहेका छन् जुन पुरातात्विक अध्ययन गरी प्रामाणिक इतिहास लेखन संभव भएको छ । कलाको विकास पनि यिनै ठाउँहरुमा भएको पाइन्छ भने यी ठाउँहरु कलाको केन्द्र नै हुने गरेको कुरा हिजोआज पनि संचित कलाकृतिले प्रष्ट गर्दछ । यस अर्थमा बौद्ध चारधामको महत्व बौद्ध तीर्थस्थलका रूपमा त हो नै, साथसाथै मावन सभ्यताको धरोहर पनि हो ।  

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
बसन्त महर्जन

अन्य लेखहरू: बसन्त महर्जन

यस लेखकका अन्य रोचक लेखहरू
आमा बाबुको मुख हेर्ने पर्व

आमा बाबुको मुख हेर्ने पर्व

आमाबाबुलाई आदरसत्कार नगर्नु भनेर कसले भन्छ र ? तर सबै धार्मिक समुदायमा ‘आमाको मुख हेर्ने’ र ‘बाबुको मुख हेर्ने’ पर्व त छ...

महाराज क्राचल्ल र बौद्ध धर्ममा उनको योगदान

राजा क्राचल्लले आफूलाई ‘परमसौगात’ अर्थात् बुद्धका ठुलो उपासक भनेर चिनाउन मन पराउने राजा हुन् । यसबाट उनी बौद्ध धर्मका उप...

बडामहाराजा नागराज र बौद्ध धर्ममा उनको योगदान

कीर्तिखम्बमा उल्लेखित विवरण राजा नागराज र उनका उत्तराधिकारीहरुका सम्बन्धमा हो । तिब्बती श्रोतहरुले पनि यही विवरण प्रस्तु...

मूर्ति रंगाउनेहरुभन्दा बरु चोर नै राम्राे

मूर्ति रंगाउनेहरुभन्दा बरु चोर नै राम्राे

मूर्ति चोरी हुनु धेरै दुःखदायी हो । झिल्के बनाएर यसको सत्यानाश नै गरिदिनु थप दुःखदायी हो । मूर्तिचोरीमा संलग्न हुनेहरु न...

नेवार समाजमा पाहाँचःह्रे चाड

नेवार समाजमा पाहाँचःह्रे चाड

विभिन्न जातीय समुदायको सांस्कृतिक जीवनको अध्ययन गर्दा एउटा समानता के देखिन्छ भने, वर्षभरिमा जेजति चाड पर्व मनाएपनि त्यसम...

नरेश श्रेष्ठ र फोटोग्राफी

नरेश श्रेष्ठ र फोटोग्राफी

अनेकौं पहिचानहरुको भीडमा एउटा पहिचान हो, फोटोग्राफर नरेश श्रेष्ठ । र, उनको फोटोग्राफी । बहीखाता राखेजस्तै उनी कतिपय ऐतिह...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्