स्वास्थ्य क्षेत्रमा सुधार: निःशुल्क उपचारदेखि एयर एम्बुलेन्ससम्म प्रगति
काठमाडौं, वैशाख २ । सरकारले शासकीय सुधारका १०० बुँदे कार्यक्रमअन्तर्गत स्वास्थ्य क्षेत्रका सुधारलाई तीव्रता दिएको जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २०८२ चैत १३ गते मन्त्रिपरिषद्बाट भएको निर्णयअनुसार २०८३ बैशाख २ गतेसम्मको प्रगति विवरण सार्वजनिक गर्दै विभिन्न सुधारात्मक कार्यक्रम कार्यान्वयनमा ल्याइएको जानकारी दिएको हो।
मन्त्रालयका अनुसार विपन्न, असहाय तथा बेवारिसे नागरिकको उपचारमा पहुँच सुनिश्चित गर्न ‘फ्री हेल्थ पोर्टल’ सञ्चालनमा ल्याइएको छ। उक्त पोर्टलमार्फत हालसम्म १५ वटा अस्पतालले आफ्ना कुल शय्याको १० प्रतिशत निःशुल्क उपलब्ध गराउने विवरण प्रविष्ट गरिसकेका छन्।
सरकारी अस्पतालमा सेवा सुधार र अनुगमनलाई प्रभावकारी बनाउन ‘अस्पताल सेवा सुधार कार्यविधि, २०८२’ लागू गरिएको छ। यसअन्तर्गत ३० वटा अस्पतालमा सरसफाइ, स्वास्थ्यकर्मीको उपस्थिति तथा गुनासो व्यवस्थापनका लागि फोकल पर्सन तोक्ने काम सुरु भएको छ।
जलनका बिरामीका लागि उपचार सेवा विस्तार गर्न ९ वटा संघीय अस्पतालसहित सातै प्रदेशका १४ गरी कुल २३ अस्पतालमा सेवा सञ्चालनको तयारी पूरा भएको मन्त्रालयले जनाएको छ।
दुर्गम तथा पहाडी क्षेत्रमा आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराउन एयर एम्बुलेन्स ‘स्ट्यान्डबाइ’मा राखिएको छ। यसका लागि ११ वटा हेलिकप्टर कम्पनीहरूले सहुलियत दरमा मेडिकल इभाकुएसन सेवा उपलब्ध गराउने सहमति गरेका छन्।
गुनासो व्यवस्थापनतर्फ मन्त्रालयले क्यूआर कोडमार्फत प्राप्त ३१२२ गुनासामध्ये २६७१ को विश्लेषण गरी समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गरिरहेको जनाएको छ।
यस्तै, सरकारी अस्पतालका फार्मेसीमा औषधिको मौज्दात र मूल्य देखिने डिजिटल प्रणाली लागू गर्ने तथा ‘सुलभ फार्मेसी’ सञ्चालनको काम सुरु गरिएको छ। बिरामीको उपचार इतिहास र रिफरल प्रणालीलाई व्यवस्थित गर्न एकीकृत डिजिटल स्वास्थ्य सूचना प्रणाली विकासको क्रममा रहेको मन्त्रालयले जनाएको छ।
निजी अस्पतालमा अनावश्यक रिफर गर्ने प्रवृत्ति नियन्त्रण गर्न ‘प्रेषण निर्देशिका २०८२’ अनुसार अस्पतालहरूले आफ्नै प्रोटोकल तयार गरी कार्यान्वयन सुरु गरिसकेको मन्त्रालयको भनाइ छ।
मन्त्रालयले यी सुधारहरूले सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र सर्वसुलभ बनाउने अपेक्षा गरेको छ।
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment