१० चैत्र २०८२, मंगलबार

नेवार समाजमा पाहाँचःह्रे चाड


अ+
अ-

काठमाडौं उपत्यकामा प्रत्येक वर्ष चैत्रकृष्ण चतुर्दशीको दिन नेवार समुदाय पाहाँचःह्रे मनाउँछ । नेवार समुदायका लागि यो एउटा विशेष पर्व हो र यसलाई बडो महत्व दिएर धुमधामसँग मनाइरहेका हुन्छ । तर गैर नेवार समाज भने यसबारेमा प्रायः बेखबर नै हुने गरेको पाइन्छ । आफ्नै आँखा अगाडि यो पर्व नेवारहरु मनाउँदै गर्दा बुझ्न नसकेर कतिपय गैर नेवार अलमल्ल परिरहेका हुन्छन् । दशैं, तिहारलगायतका कतिपय चाडवाड एउटै समयमा अन्य समुदायले पनि मनाउने भएर केही मात्रामा जानकार हुन्छन् तर पाहाँचःह्रेको बेला यस्तो हुँदैन । यो बेला नेपाली सेनाले टुँडिखेलमा घोडेजात्रा पर्व भन्दै घोडा कुदाएर र आफ्नो क्षमता देखाएर रमाइलो गरिरहेको हुन्छ तर यो पनि पाहाँचःह्रेकै एउटा अंग हो भनेर बुझ्न सकेको हुँदैन । नेवार समुदायमा पाहाँचःह्रे एउटा विशेष पर्व हो र यो पर्वमा अनेकौं अवयवहरुमा घोडेजात्रालगायत थुप्रै कुरा समाविष्ट हुन्छन् । 

विभिन्न जातीय समुदायको सांस्कृतिक जीवनको अध्ययन गर्दा एउटा समानता के देखिन्छ भने, वर्षभरिमा जेजति चाड पर्व मनाएपनि त्यसमध्ये एउटा प्रमुख रहेको हुन्छ । उक्त प्रमुख चाडभित्र खोतल्दै जाने हो भने त्यहाँ मौलिकता तथा ऐतिहासिकता देखा पर्दछ । पाहाँचःह्रै पनि एउटा यस्तै चाड हो । तसर्थ नेवार समाजलाई बुझ्ने एउटा राम्रो श्रोत यो पनि हो । 

लुकुमहाद्यः

पाहाँचःह्रे शव्दको अनुवाद गर्दा अतिथी वा पाहुनासँग सम्वन्धित चःह्रे अर्थात् चतुर्दशी भन्ने हुन्छ । यही दिनलाई पिशाच चतुर्दशी पनि भन्ने गरिएको पाइन्छ । पिशाच चतुर्दशीकै अपभ्रंश भएर पाहाँचःह्रे भएको मान्यता बलियो रहे पनि यस मान्यतामाथि नै प्रश्न गरी साँस्कृतिक अध्ययन गर्न आवश्यक देखिन्छ । पिशाच चतुर्दशीसँग अन्य समाज पनि सामान्यतः परिचित नै मान्नु पर्दछ । यो महादेवसँग सम्बन्धित चतुर्दशी हो । तर यसलाई अतिथी वा पाहुना सत्कारसँग सम्बन्धित गरेर हेर्ने परम्परा नेवार समाजमा मात्रै देख्न पाइन्छ । यस्तो अभ्यास गर्न पाउँदा यो समुदाय गौरव मान्दछन । त्यही परम्परा वा संस्कृतिमा पछि पिशाच चतुर्दशीको अवधारणा सम्मिश्रण हुन गएको त होइन ? अन्य अवधारणा वा संस्कृतिहरु सम्मिश्रण हुँदै नेवार समाज र संस्कृतिको अभूतपूर्व विकास हुँदै आइरहेको सन्दर्भमा यो प्रश्नलाई उपेक्षा गर्न मिल्दैन । अध्ययनकर्ताहरुलाई यो एउटा अध्ययनको विषयवस्तु हो । पहाँचःह्रेको सन्दर्भएमा नेवार समजमा प्रचलित एउटा आफ्नै कथा पनि छ,  

नेवार समाजमा परम्पराअनुसार पाहाँचःह्रे पर्व मनाइँर्दै आएको थियो । यसअघिसम्म त जाडोले छोडेको हुँदैन थियो । पाहाँचःह्रेमा खाइने तरकारीहरुमा एउटा लसुन पनि हुने गर्दछ । जाडोबाट बच्नका लागि लसुन खाने गरिन्छ भने त्यस उप्रान्त खानु नपर्ने मान्यता पनि रहेको छ । यही भएर सांगीतिक लयमा ‘कन्हसंनिसें वये मखु, लाभा (लसुन) तरकारी नये मखु’  (भोलिदेखि आउँदैनौं, लसुन तरकारी खाँदैनौं) भनेर गीत बनाएर गाउँदै हिड्ने गरेको पनि पाइन्छ । यस दिन देवथानहरुमा गएर सपरिवार पूजा पाठ गर्छन्, त्यहीं भोज वा प्रसाद खान्छन् र घर फर्कन्छन् । देवथानमा जाने र फर्कनेहरुको लर्कोले साँस्कृतिक जीवन झल्किरहेको हुन्छ । यस्तैमा एउटी एकल महिला निकै ढिलो गरी देवथान पुग्छन् । सबै काम आफैले भ्याएर आउनु पर्दा ढिलो भएको हुन सक्छ । उनी देवथानमा पुग्दा अरुहरु फर्केर शून्यशून्य भइसकेको हुन्छ । तर पनि विधिवत् पूजा गरी भोज खान लाग्दा त्यहाँ एक यात्रुको भेषमा महादेव आइपुग्छन् । ती एकल महिलाका लागि ती यात्रुरुपी महादेव पाहुना नै हुन्छन् । पाहुना निकै भोकाएको र थकित अनुहारमा हुन्छन् । थप सत्कारका लागि घरमा आमन्त्रण गर्छिन् । र महादेव पनि ती महिलको पछि पछि लाग्छन् । तिनीहरु जसै वस्तीविभत्र पुग्छन्, वस्तीको साँस्कृतिक माहौलले महादेव निकै प्रभाविक हुन पुग्छन् । टोल टोलमा मान्छेहरु बाजा बजाउँदै नाच्दै गरिहेका थिए । बाजाको तालमा महादेव तरंगित हुन थाले । बाजा बजाएर नाच्ने धून उनमा पनि चढ्न पुग्छ र आफ्नै डमरु झिकेर तालमा ताल मिलाउँदै बजाउन थाल्छन् । नाच्छन् ।  यतिञ्जेलसम्ममा उनी पूर्ण रुपमा महादेवकै भेषमा आइसकेका थिए । नेवारहरु तीन छक्क परे । महादेवको परिपरि झुम्मिन थाले । पाहाँचःह्रेको दिन, साक्षात् महादेव आफ्नै घर आँगनमा देखेर धन्य धन्य हुन थाल्छन् । आआफनो घरमा पाहुना लाग्न अनुरोध गरे, तान्न थाले । कुन घरमा जाने ? आमन्त्रण गरेर ल्याउने एकल महिलाको घरमा जाने कि अन्यत्र, बडो समस्यामा प¥यो । सबैलाई सम्बोधन गर्दै आफू निकै प्रभावित र खुशी भएको, प्रत्येक वर्षको पाहाँचःह्रेको दिन आइपुग्ने वचन दिंदै एक ठाउँमा अन्तर्धान भए । अन्तर्धान हुनुअघि आफू जहाँ अन्तर्धान हुने हो, पाहाँच¥हेका दिन त्यहाँ खोतलेर सफा गरी पूजा गर्न भनेका थिए रे भन्दै नेवारहरु आफ्नो वस्तीमा एउटा सामान्य ढुंगालाई महादेव मानी खाल्दोमा राख्छन् र त्यसैलाई लुकुमहाद्यः भन्छन् । वर्षमा एकपल्ट यही पाहाँचःह्रेको दिन जमीन खोतलेर लुकुमहाद्यः निकाल्छन् र सफा गरी पूजा गर्ने गरिन्छ । काठमाडौंको प्रसिद्ध पशुपति मन्दिरको सन्दर्भमा के वर्णन पाइन्छ भने, बहुह्री नामका गाईले दूध दिन छाडेको र चियो गर्दै जाँदा एक ठाउँमा दूध बगाएको ठाउँ खोतलेर हेर्दा शिव प्रकट भएको थियो । पशुपतिमा शिव प्रकट भएको यही लुकुमहाद्यःसँग सामान्जस्य गरेर बुझ्न सकिन्छ । पछि शिवलिङ्ग बनाएर राख्ने चलन आयो । महादेव लुकेर बसेको मान्दै ‘लुकुमहाद्यः’ पनि भन्ने गरिन्छ । तर यसको अर्थ ‘लुकेर बसेको महाद्यः’ होइन । लुकेर बसेको नेपाली शब्द हो, जुन नेवारको आफ्नै भाषा होइन । बरु ‘लुकु बिइगु’ शब्द प्रचलित छ । 'लुकंबिइगु’ को अर्थ पानी वा जमीनको सतह मुनि बस्नु । 

नेवार समाजमा शैवमतको राम्रो प्रभाव रहेको पाइन्छ । पाहाँचःह्रेर पिशाच चतुर्दशी एउटै वा दुई बेग्लाबेग्लै साँस्कृतिक पर्व के हो, शूक्ष्म अध्ययनको विषय हो । दुई बेग्लाबेग्लै भएपनि पछि आत्मसात गराइएको पनि हुनु धेरै संभव छ । यस्तो भएका अन्य सन्दर्भहरु नेवार समाजमा नै थुप्रै पाइन्छन् । कालान्तरमा अन्य अध्यायहरु पनि थपियो । 

⠿ drag

अजिमाहरुको खटजात्रा 

पाहाँचःह्रे वा पिशाच चतुर्दशीसँग काठमाडौंस्थित विभिन्न अजिमाहरुको खट जात्रा प्रसिद्ध रहेको छ । अघिल्लो रात टुँडिखेलमा ‘लुतिमरु अजिमा’ बाहेक सबैको भेला गराइन्छ र ढोगभेट गराइन्छ । तिनीहरु दिदी बहिनी भएको मानिन्छ । पाहाँचःह्रेको दिन असन चोकमा पनि भेला गराइन्छ र ढोकभेट गराइन्छ । काठमाडौंमा आठ अजिमाहरुको आफ्नै विशिष्ट स्थान छ । 

घोडेजात्रा
नेपालको साँस्कृतिक चाडपर्वको चर्चा गर्दा घोडेजात्रा कहिल्यै छुट्दैन । पाहाँचःह्रे सुरु भएको दोस्रो दिन यो मनाइन्छ । नेपाल सेनाको सहभागितामा काठमाडौंको टुँडिखेलमा मनाइने यो जात्रामा राष्ट्रप्रमुख, उच्चपदस्थ कर्मचारी तथा गण्यमान्यहरुको महत्वपूर्ण उपस्थिति रहेको हुन्छ । यसको साँस्कृतिक इतिहासलाई उल्लेख गर्दा हाम्रा लेखकहरु धेरै मात्रामा चुक्ने गरेको पाइन्छ । सामान्यतः के भनिन्छ भने प्रधानमन्त्री जंगबहादुृर राणाको बेलायत यात्राका क्रममा घोडा कुदाउने र रमाइलो गर्ने प्रदर्शनी हेरेको र पछि नेपालमा बेलायतकै सिको गरेर घोडेजात्रा सुरु गरेको भनिन्छ । वास्तवमा यो सांस्कृतिकचेतको अभाव हो । देखिने दृष्यहरुमा मात्रै सीमित राख्नु वा त्यसरी बुझ्नु वा बुझाउनु नेपाली संस्कृतिको अनभिज्ञता प्रकट गर्नु हो । टुँडि नामको राक्षसको आत्मालाई टुँडिखेलमा गाडिएर राखिएको र उक्त आत्मा बाहिर निस्कन नपाओस् भनेर घोडा कुदाउने गरिएको भन्ने कथन त झनै कपोलकल्पित कुरा भयो । बरु जंगबहादुरको समयदेखि घोडा कुदाउने परम्परालाई नै परिमार्जित गरी घोडेजात्राको रुप दिएको भन्न सकिन्छ ।

वास्तवमा टुँडिखेलमा घोडा कुदाउने परम्परा प्राचीन समयदेखिको हो । घोडेजात्राका यो दिन राष्ट्रिय कुमारीलाई टुँडिखेल अगाडिको आरएनएसी बिल्डिङको एउटा कोठामा ल्याइन्छ र घोडेजात्रा देखाइन्छ । घोडेजात्राको बेला कुमारीलाई पनि दर्शनका लागि ल्याइने परम्परालाई दृष्टिगत गर्दा घोडेजात्रालाई जंगबहादुरसँग मात्रै जोडेर हेर्नु इतिहास र संस्कृतिका धेरै कुराहरु छुटाउने हुन्छ यो भवन ठडिएको जग्गा कुमारीसँग नै सम्बन्धित हो र त्यही भएर उनको नाममा एउटा कोठा छुट्याइएको हो । घोडा कुदाउने काम टुँडिखेलमा मात्रै नभएर अन्यत्र पनि हुन्छ । टुँडिखेलमा घोडेजात्रा हुँदै गर्दा सँगै भद्रकाली मन्दिर परिसरमा एकल घोडा कुदाउँदै पूजाकार्य सम्पन्न गर्दै गरेको पाइन्छ । पाटन दरवारदेखि एउटा घोडा कुँदाउँदै ल्याएर बालकुमारी मन्दिर परिसरमा परिक्रमा गराइन्छ । 

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
बसन्त महर्जन

अन्य लेखहरू: बसन्त महर्जन

यस लेखकका अन्य रोचक लेखहरू
नरेश श्रेष्ठ र फोटोग्राफी

नरेश श्रेष्ठ र फोटोग्राफी

अनेकौं पहिचानहरुको भीडमा एउटा पहिचान हो, फोटोग्राफर नरेश श्रेष्ठ । र, उनको फोटोग्राफी । बहीखाता राखेजस्तै उनी कतिपय ऐतिह...

पोखरी र संस्कृति

पोखरी र संस्कृति

पोखरी फगत पानीको भण्डार होइन । होला अरुतिर, त्यो बेग्लै कुरा। काठमाडौंको नेवार जनजीवनमा पोखरीको अर्थ प्रायः धर्म, संस्कृ...

कीर्तिपुरदेखि बन्दिपुरसम्म

कीर्तिपुरदेखि बन्दिपुरसम्म

मगर भाषामा पानीसँग सम्बन्धित खोलानालामा ‘दि’ शब्द आउने गर्दछ । नेपाली भाषाको व्याकरणमा ठाउँको नाममा दीर्घ ईकार राख्ने चल...

संयुक्त राष्ट्र संघमा रञ्जना लिपिको लोककथा

संयुक्त राष्ट्र संघमा रञ्जना लिपिको लोककथा

नेवार समाजमा अनेकौं लोककथाहरू छन् । कथा बनाउनमा नेवारहरू सिपालु नै छन् । यस्तै एउटा लोककथा हो, ‘‘संयुक्त राष्ट्र संघमा र...

मतदाता र करदाता

मतदाता र करदाता

मतदाता थिएँ, अघिसम्म / मतदानपछि मतदाता भइनँ । ...

स्याङ्जाका नेवार

स्याङ्जाका नेवार

सालडाँडामा वन बाक्लै छ। तर, बीच बीचमा केही बोट भेटिए पनि यो डाँडामा नामबाट झट्ट अनुमान हुने जस्तो गरी सालको प्रधानता पाइ...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्