बैंकिङ कसूरमा दोषी ठहर भएका योगेन्द्रप्रसाद श्रेष्ठ पक्राउ
काठमाडौं, चैत २ । बैंकिङ कसूर मुद्दामा दोषी ठहर भई फरार रहेका नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडका तत्कालीन कार्यकारी अध्यक्ष योगेन्द्रप्रसाद श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सोमबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार काठमाडौं महानगरपालिका–२४ वटु घर भई हाल नागर्जुन नगरपालिका–५ सितापाइलामा बस्दै आएका ६९ वर्षीय श्रेष्ठलाई पक्राउ गरिएको हो।
प्रहरीका अनुसार नेपाल राष्ट्र बैंक को वित्तीय संस्था सुपरिवेक्षण विभाग, बालुवाटारको जाहेरीका आधारमा अनुसन्धान गरिएको उक्त प्रकरणमा श्रेष्ठले नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडसँग सम्बद्ध रही निक्षेपकर्ता तथा संस्थाको हितविपरीत हुने गरी अनियमित तथा गैरकानुनी गतिविधि गरेको ठहर भएको थियो।
यस प्रकरणमा सर्वोच्च अदालत ले २०८१ भदौ ५ गते गरेको फैसलाअनुसार श्रेष्ठलाई दुई छुट्टाछुट्टै मुद्दामा क्रमशः १९ करोड ४६ लाख १ हजार ६६२ रुपैयाँ ३९ पैसा जरिवाना र ३ वर्ष कैद तथा ३ करोड २१ लाख ३९ हजार ६८१ रुपैयाँ ५१ पैसा जरिवाना र ३ वर्ष कैद सजाय सुनाएको थियो।
यसरी कुल २२ करोड ६७ लाख ४१ हजार ३४३ रुपैयाँ ९ पैसा जरिवाना र ६ वर्ष कैद सजाय ठहर भए पनि उनी फरार रहेका थिए।
सीआईबीबाट खटिएको प्रहरी टोलीले श्रेष्ठलाई चैत १ गते काठमाडौंको नागर्जुन नगरपालिका–५ सितापाइलाबाट पक्राउ गरेको हो। पक्राउ परेका उनलाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ।
प्रहरी वरिष्ठ उपरीक्षक तथा सीआईबीका प्रवक्ता शिवकुमार श्रेष्ठका अनुसार अदालतको फैसला कार्यान्वयनका लागि फरार रहेका प्रतिवादीलाई पक्राउ गरिएको हो।
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment