जलवायु सङ्कटको सामना गर्न स्थानीय तहबाटै काम थाल्नुपर्नेमा जोड


अ
अ+
अ-

काठमाडौं, मंसिर ७ । जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न अन्तर्राष्ट्रिय सम्मेलन र प्रतिबद्धतामा मात्र सीमित नभई स्थानीय तहबाटै तत्काल काम थाल्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्। जलवायु सङ्कटको असर हिमालदेखि तराईसम्म र ग्रामीण बस्तीदेखि सहरसम्म फैलिँदै गएकाले तीनै तहका सरकार, निजी क्षेत्र, नागरिक समाज र समुदायबीच समन्वय तथा सहकार्य आवश्यक रहेको उनीहरूको भनाइ छ।
काठमाडौं महानगरपालिकाको आयोजनामा आज साेमबारदेखि सुरु भएको ‘काठमाडौं क्लाइमेट एक्सन विक २०२६’ को उद्घाटन कार्यक्रममा वक्ताहरूले जलवायु परिवर्तनका कारण बढ्दो तापक्रम, हिमनदी पग्लिने क्रम, बाढीपहिरो, वायु प्रदूषण, पानीका स्रोत सुक्ने समस्या र सहरी जोखिम न्यूनीकरणका लागि स्थानीय स्तरमा कार्यान्वयनयोग्य योजना बनाउनुपर्ने बताएका हुन्।
कार्यक्रममा प्रमुख अतिथि कार्यवाहक प्रधानमन्त्री तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराज भक्त श्रेष्ठले काठमाडौंका बागमती र विष्णुमती नदीको विगत स्मरण गर्दै विकासका नाममा प्रकृति र प्राकृतिक प्रणालीमाथि गरिएको अतिक्रमणले सहरलाई जोखिमपूर्ण बनाएको बताए।
उनले आफूले बाल्यकालमा बागमती र विष्णुमतीको स्वच्छ पानी पिएको, नदीमा नुहाएको र नदी किनारमा खेलेको स्मरण गर्दै केही दशककै अवधिमा ती नदीको अवस्था बिग्रिएकोमा दुःख व्यक्त गरे। उनका अनुसार नदी, पोखरी, खुला क्षेत्र र खेतीयोग्य जमिनमा कङ्क्रिट संरचना निर्माण गरिँदा काठमाडौंको तापक्रम बढेको, वर्षाको पानी जमिनमा सोसिने प्राकृतिक क्षमता घटेको र डुबानको जोखिम बढेको छ।
‘यो नदीको मात्र कथा होइन, एउटा सहरको कथा हो,’ उनले भने, ‘अब क्षति भएपछि पछुताउनुको सट्टा नदी, पोखरी र खुला जमिन जोगाउने काम समयमै गर्नुपर्छ।’
उनले पछिल्लो ४६ दिनभित्र तीनवटा नदी करिडोरमा ठूला ढुङ्गा र गेग्रानसहितको बाढी दोहोरिएको उल्लेख गर्दै हिमनदी पग्लिने, हिमपहिरो जाने र असामान्य वर्षा हुने क्रमलाई सामान्य घटनाका रूपमा लिन नहुने बताए। हिमालयको पानीमा निर्भर नेपालसहित दक्षिण एसियाका एक अर्बभन्दा बढी मानिसको भविष्य हिमाली वातावरणको संरक्षणसँग जोडिएको उनको भनाइ थियो।
कार्यवाहक प्रधानमन्त्री श्रेष्ठले सहरी बाढीको पूर्वसूचना प्रणाली विकास, वर्षा मापन, बाढीको नमुना अध्ययन तथा जोखिमयुक्त क्षेत्रको पहिचानमा काठमाडौं महानगरपालिका र अन्य स्थानीय तहसँग सहकार्य गर्न सरकार तयार रहेको बताए। उनले जल तथा मौसम विज्ञान विभागलाई स्थानीय तहका प्राविधिक टोलीसँग मिलेर काम गर्न आग्रह गर्दै नदी व्यवस्थापनमा प्रकृतिमैत्री उपाय अपनाउनुपर्नेमा जोड दिए।
उनले बागमती र विष्णुमती नदीको मुहान क्षेत्र, विष्णुद्वार, बागद्वार तथा नागार्जुन र गोदावरीका पहाडी क्षेत्र संरक्षण गर्नुपर्ने, नदीलाई प्राकृतिक रूपमा फैलिन र बग्न दिनुपर्ने तथा नदी किनारका जोखिमयुक्त बस्तीलाई प्राथमिकताका साथ सुरक्षित गर्नुपर्ने बताए।
त्यस्तै, वर्षाको पानी जमिनमा पुनर्भरण गर्ने संरचना, पानी सोस्ने पदमार्ग, स्थानीय प्रजातिका रूख र हरियाली क्षेत्र विस्तार, विद्युतीय सार्वजनिक यातायात प्रवर्द्धन तथा स्वच्छ इँटाभट्टाको प्रयोगलाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ थियो।
फोहोर व्यवस्थापन र ऊर्जाको विषयमा उनले काठमाडौं महानगरपालिका र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच भएको सहकार्यलाई व्यवहारमा उतार्नुपर्ने बताए। घरमै फोहोर छुट्याउने अभ्यासबिना फोहोरबाट ऊर्जा उत्पादन गर्ने योजना सफल हुन नसक्ने उल्लेख गर्दै उनले फोहोर व्यवस्थापनको सुरुवात भान्छाबाटै हुनुपर्ने बताए।

भोटेकोशी विपत्तिले सिकाएको पाठ
बागमती प्रदेशका मुख्यमन्त्री किरणकुमार थापाले पछिल्लो भोटेकोशी बाढीलाई जलवायु परिवर्तन र नदी प्रणालीमाथिको मानवीय हस्तक्षेपले निम्त्याउन सक्ने जोखिमको गम्भीर उदाहरणका रूपमा लिनुपर्ने बताए।
उनले गत भदौ १० गते रसुवा, नुवाकोट, धादिङ र चितवनका विभिन्न क्षेत्रमा आएको बाढीले मानवीय क्षतिका साथै सडक, पुल र अन्य भौतिक संरचनामा ठूलो क्षति पुर्‍याएको स्मरण गरे। तत्काल उद्धार, उपचार र खाद्यान्न व्यवस्थापनका काम तीनै तहका सरकारको समन्वयमा गरिएको उल्लेख गर्दै अब पुनःस्थापना र पुनर्निर्माणमा पनि सहकार्य आवश्यक रहेको बताए।
प्रदेश सरकारले प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि विभिन्न मन्त्रालयका बजेट शीर्षक कटौती गरी करिब पाँच अर्ब रुपैयाँको कोष निर्माण गरेको जानकारी उनले दिए।
उनका अनुसार हिमालमा हिउँ पग्लिने क्रम बढ्दै जाँदा बुढीगण्डकी, इन्द्रावती र तामाकोशीलगायत नदी प्रणालीसँग जोडिएका बस्ती जोखिममा परेका छन्। त्यसैले नदी किनारमा बस्ती विकास र भौतिक संरचना निर्माण गर्दा भविष्यको जोखिमलाई ध्यान दिनुपर्ने उनको भनाइ छ।
भोटेकोशी बाढीको प्रसङ्ग उल्लेख गर्दै उनले हिमताल फुटेर आएको पानीसँगै नदीमा जम्मा भएको गेग्रान र ढुङ्गामाटोले क्षति बढाएको बताए। त्रिशूली नदी क्षेत्रमा निर्माण भएका जलविद्युत् आयोजनाबाट निस्कने माटाे तथा निर्माणजन्य सामग्रीको उचित व्यवस्थापन नहुँदा नदीमा थुप्रिने र बाढीका बेला त्यसले थप क्षति पुर्‍याउन सक्ने भन्दै उनले वातावरणीय अध्ययन र आयोजनाको स्वीकृति प्रक्रियामा यस विषयलाई गम्भीरतापूर्वक लिनुपर्ने बताए।
त्यसैगरी, नदी तथा खोलाको प्राकृतिक बहाव क्षेत्र साँघुरो बनाउने र करिडोर निर्माणका क्रममा नदीको बहाव क्षेत्र घटाउने प्रवृत्तिले डुबानको जोखिम बढाएको उनको भनाइ थियो। प्रकृतिले निर्धारण गरेको नदीको बहाव क्षेत्र संरक्षण गर्दै अतिक्रमित क्षेत्रलाई पुरानै अवस्थामा फर्काउन स्थानीय तहले अग्रसरता लिनुपर्ने उनले बताए।
मुख्यमन्त्री थापाले काठमाडौं उपत्यकामा विद्युतीय सवारीसाधन र सफा टेम्पोको प्रयोग बढाउने, फोहोर व्यवस्थापनका लागि दीर्घकालीन विकल्प खोज्ने तथा ढल र फोहोर पानी प्रशोधनमा तीनै तहका सरकारले संयुक्त रूपमा लगानी गर्नुपर्ने पनि बताए।

‘थिङ्क ग्लोबली, एक्ट लोकल्ली’ : सम्मेलनभन्दा काम महत्त्वपूर्ण
वातावरणविद् भूषण तुलाधरले जलवायु परिवर्तन विश्वव्यापी समस्या भए पनि यसको समाधानका लागि आवश्यक अधिकांश काम स्थानीय स्तरमै गर्न सकिने बताए।
‘थिङ्क ग्लोबली, एक्ट लोकल्ली’ अर्थात् विश्वव्यापी रूपमा सोच्ने र स्थानीय रूपमा काम गर्ने अवधारणालाई व्याख्या गर्दै उनले जलवायु परिवर्तनको जिम्मेवारी विकसित देशहरूको मात्र नभई पृथ्वीमा बस्ने सबैको साझा दायित्व भएको बताए। तर बढी प्रदूषण गर्ने र बढी क्षमता भएका देशले बढी जिम्मेवारी लिनुपर्ने उनको भनाइ थियो।
उनले सन् १९७७ मा अन्तरिक्षमा पठाइएको भ्वाएजर अन्तरिक्षयानले सन् १९९० मा खिचेको पृथ्वीको तस्बिर ‘पेल ब्लु डट’ को उदाहरण दिँदै विशाल अन्तरिक्षमा पृथ्वी एउटा सानो धुलोको कणजस्तो देखिने बताए।
‘यही सानो पृथ्वी हाम्रो घर हो। अहिलेसम्म जीवन सम्भव भएको अर्को ठाउँ भेटिएको छैन। त्यसैले यसलाई जोगाउनु हाम्रो साझा जिम्मेवारी हो,’ उनले भने।
तुलाधरले औद्योगिक क्रान्तिअघिको तुलनामा विश्वको औसत तापक्रम वृद्धि १.५ डिग्री सेल्सियसमा सीमित राख्ने लक्ष्य जोखिममा परेको उल्लेख गर्दै सन् २०२५ मा तापक्रम वृद्धि १.५ डिग्रीको सीमासम्म पुगेको र सन् २०२६ मा पनि करिब १.४७ डिग्री पुग्ने अनुमान रहेको बताए। हालको उत्सर्जनको गति कायम रहे तापक्रम वृद्धि अझै बढ्न सक्ने भन्दै उनले यसको असर हिमाली क्षेत्रमा झन् बढी पर्ने चेतावनी दिए।
उनका अनुसार हिमनदीहरू तीव्र गतिमा पग्लिरहेका छन्। गत वर्ष विश्वभरका हिमनदीबाट प्रत्येक सेकेन्ड पाँचवटा ओलम्पिक आकारका पौडी पोखरी बराबर पानी पग्लिएर गएको अध्ययनले देखाएको छ।
उनले जलवायु परिवर्तन न्यूनीकरणका लागि उत्सर्जन घटाउने र यसको असरअनुकूल आफूलाई तयार पार्ने दुईवटा उपाय आवश्यक रहेको बताए। विद्युतीय यातायात, स्वच्छ ऊर्जा, उद्योगमा स्वच्छ प्रविधिको प्रयोग उत्सर्जन न्यूनीकरणका उपाय हुन् भने वर्षाको पानी सङ्कलन, पोखरी संरक्षण, फोहोरबाट मल तथा ऊर्जा उत्पादन र पानीका स्रोतको संरक्षण अनुकूलनका महत्त्वपूर्ण उपाय भएको उनको भनाइ थियो।
काठमाडौंको परम्परागत पानी व्यवस्थापन प्रणालीलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै उनले पोखरी, ढुङ्गेधारा र राजकुलोले वर्षाको पानी संरक्षण र भूमिगत जल पुनर्भरणमा महत्त्वपूर्ण योगदान पुर्‍याएको बताए। मङ्गाहिटीको करिब १,५०० वर्ष पुरानो पानी प्रणाली र स्थानीय समुदायको पहलमा पाताल पोखरीको संरक्षणलाई उनले दिगोपनका उदाहरणका रूपमा प्रस्तुत गरे।
त्यस्तै, काठमाडौंमा सन् १९९३ मा सातवटा सफा टेम्पोबाट सुरु भएको अभियान अहिले करिब ७०० वटासम्म पुगेको स्मरण गर्दै उनले यसलाई स्थानीय पहल, निजी क्षेत्रको सहभागिता र निरन्तरताले सम्भव बनाएको बताए।
उनले स्थानीय जलवायु कार्यलाई प्रभावकारी बनाउन तीनवटा आधार आवश्यक रहेको उल्लेख गरे। स्थानीय नेतृत्व, सरोकारवालाबीचको साझेदारी र समुदायको अपनत्व नै सफल जलवायु अभियानका आधार भएको उनको भनाइ थियो।
‘अन्तर्राष्ट्रिय वार्ता र सम्मेलनहरू ढिलो हुन सक्छन्, तर जलवायु परिवर्तनको असर अहिले नै देखिइरहेको छ। त्यसैले वार्ताहरू असफल भए पनि काम रोकिनु हुँदैन,’ उनले भने।

सात दिन, सात क्षेत्र र कार्यान्वयनयोग्य योजना
काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख तथा सम्मेलन उद्घाटन कार्यक्रमकाे अध्यक्षता गर्दै सुनिता डंगोलले जलवायु परिवर्तन काठमाडौंको मात्र नभई सिंगो देश र विश्वकै साझा चुनौती भएको बताइन्।
उनले नेपालले विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा न्यून योगदान गरे पनि जलवायु परिवर्तनको जोखिम र प्रभावका दृष्टिले अत्यन्त संवेदनशील मुलुकमध्ये एक रहेको उल्लेख गरिन्।
अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) को अध्ययन उद्धृत गर्दै उनले सन् १९९० देखि २०२० सम्म हिन्दुकुश हिमालय क्षेत्रमा हिमनदीको कुल क्षेत्रफल करिब १२ प्रतिशतले घटेको जानकारी दिइन्।
त्यस्तै, सन् २०२४ सेप्टेम्बरमा आएको विनाशकारी बाढीमा २४६ जनाको मृत्यु भएको र १० हजारभन्दा बढी परिवार विस्थापित भएको स्मरण गर्दै उनले पछिल्लो भोटेकोशी–त्रिशूली बाढीबाट भएको क्षतिले नेपाल जलवायु जोखिमको कति नजिक छ भन्ने देखाएको बताइन्।
उनले युनिसेफको तथ्यांक उद्धृत गर्दै उक्त बाढीमा एक हजार ४५८ जनाको मृत्यु भएको, पाँच हजार २८५ जना अझै बेपत्ता रहेको र ८४ हजारभन्दा बढी नागरिक प्रभावित भएको उल्लेख गरिन्। प्रभावितमध्ये ३२ हजार बालबालिका रहेको उनको भनाइ थियो।
‘यी तथ्यांक केवल अङ्क होइनन्, प्रत्येक अङ्क पछाडि एउटा परिवारको पीडा र आफ्नो जीवन, सम्पत्ति तथा भविष्य गुमाउनुपरेको कथा छ,’ उनले भनिन्।
डंगोलले काठमाडौंको जनजीवन देशका अन्य भूभागसँग प्रत्यक्ष जोडिएको उल्लेख गर्दै राजमार्ग अवरुद्ध हुँदा खाद्यान्न, ग्यास र औषधिको आपूर्तिमा समेत असर पर्ने बताइन्। त्यसैले काठमाडौंले आफ्नो क्षेत्रभन्दा बाहिरका विपद्लाई पनि साझा जिम्मेवारीका रूपमा लिने गरेको उनको भनाइ थियो।
भोटेकोशी बाढीपछि काठमाडौं महानगरपालिकाको स्थानीय स्काउट टोली उद्धार तथा प्रतिकार्यमा पहिलो उद्धारकर्ताका रूपमा प्रभावित क्षेत्रमा पुगेको, एम्बुलेन्स सेवा र राहत सामग्री उपलब्ध गराइएको तथा प्रभावित क्षेत्रको पुनःस्थापना र पुनर्निर्माणमा समेत सहकार्य गर्न महानगरपालिका तयार रहेको उनले बताइन्।
उनले काठमाडौंमा जाडोयाममा वायु प्रदूषणको अवस्था पनि गम्भीर रहेको उल्लेख गरिन्। इसिमोडले सन् २०२५ अप्रिलमा सार्वजनिक गरेको अध्ययनअनुसार जनवरी १ देखि मार्च १३ सम्मको ९० दिनमध्ये ७५ दिन काठमाडौंको हावा अस्वस्थ रहेको उनले जानकारी दिइन्।
विकासका नाममा वातावरण विनाश गर्ने अभ्यास अब स्वीकार्य नहुने भन्दै उनले प्रमाणमा आधारित नीति, तीनै तहका सरकारबीच सहकार्य र नागरिकको सहभागितामा जलवायु कार्य अघि बढाउनुपर्ने बताइन्।
महानगरपालिकाले जलवायु कार्यलाई सात दिनको छलफलमा मात्र सीमित नराखी दीर्घकालीन योजनामा रूपान्तरण गर्ने उद्देश्यले सातवटा फरक क्षेत्रलाई समेटेको उनले जानकारी दिइन्।
यसै क्रममा ‘रिचार्ज काठमाडौं’ अभियान सुरु गरिएको छ। महानगरपालिकाले राष्ट्रिय सभागृह परिसरबाट वर्षाको पानी जमिनमा पुनर्भरण गर्ने संरचना निर्माणको सुरुवात गर्दै विद्यालय, वडा कार्यालय र पार्कहरूमा पनि रिचार्ज पिट निर्माण गर्ने योजना बनाएको छ। अन्य स्थानीय तह र सरकारी निकायलाई समेत आफ्ना भवन तथा सार्वजनिक क्षेत्रमा यस्ता संरचना निर्माणका लागि स्थान उपलब्ध गराउन उनले आग्रह गरिन्।
त्यस्तै, ५० भन्दा बढी विद्यालयमा जलवायु गतिविधि सञ्चालन गर्ने, बालबालिकाका लागि ‘चिल्ड्रेन फर क्लाइमेट’ शीर्षकमा एक मिनेटको भिडियो चुनौती आयोजना गर्ने र छनोट भएका १० जनालाई जलवायु युवा सद्भावना दूतका रूपमा अघि बढाउने कार्यक्रम पनि महानगरपालिकाले सार्वजनिक गरेको छ।
डंगोलले जलवायु परिवर्तनसम्बन्धी निर्णय र प्रतिबद्धतालाई कागजी दस्ताबेजमा सीमित नगरी व्यवहारमा उतार्नुपर्ने बताइन्। उनका अनुसार नदी किनारमा बसेर स्वच्छ वातावरणमा समय बिताउन सकिने, साइकलबाट सहजै आवतजावत गर्न सकिने र बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मले आफ्नो सहरप्रति अपनत्व महसुस गर्ने काठमाडौं निर्माण गर्न महानगरपालिका प्रतिबद्ध हुनुपर्छ।

फोहोर व्यवस्थापनदेखि स्वच्छ हावासम्म महानगरका योजना
कार्यक्रममा काठमाडौं महानगरपालिकाको वातावरण व्यवस्थापन विभागकी वातावरण निरीक्षक सृष्टि श्रेष्ठले महानगरले फोहोरमैला व्यवस्थापन, वायु प्रदूषण नियन्त्रण, नदी तथा पोखरी सरसफाइ, सहरी हरियाली र जलवायु अनुकूलनका क्षेत्रमा गरिरहेका कामबारे जानकारी दिइन्।
उनका अनुसार काठमाडौं महानगरपालिका क्षेत्रमा दैनिक करिब ६०० मेट्रिक टन फोहोर उत्पादन हुने गरेको छ। हाल १० वटा वडामा घरघरबाट फोहोर सङ्कलन गर्ने व्यवस्था गरिएको छ भने फोहोर सङ्कलनका लागि १० वटा विद्युतीय सवारीसाधनसमेत प्रयोगमा ल्याइएको छ।
फोहोर सङ्कलन र ढुवानीलाई व्यवस्थित बनाउन जीपीएस प्रणालीसहितका सवारीसाधन सञ्चालन, डिजिटल रूपमा शुल्क सङ्कलन तथा फोहोर व्यवस्थापन पोर्टल विकासको काम भइरहेको उनले बताइन्।
महानगरपालिकाले फोहोर व्यवस्थापनलाई विकेन्द्रित बनाउन महानगर क्षेत्रलाई सातवटा क्लस्टरमा विभाजन गरी प्रत्येक क्लस्टरमा स्थानान्तरण केन्द्र र सामग्री पुनःप्राप्ति केन्द्र स्थापना गर्ने योजना अघि बढाएको छ। यसबाट पुनः प्रयोग र पुनः प्रशोधन गर्न सकिने फोहोरलाई महानगरभित्रै व्यवस्थापन गरी अन्तिम विसर्जनस्थलमा पुग्ने फोहोरको मात्रा घटाउने लक्ष्य राखिएको छ।
टेकु स्थानान्तरण केन्द्रमा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सहयोगमा दैनिक १०० मेट्रिक टन फोहोर प्रशोधन गर्न सक्ने सामग्री पुनःप्राप्ति केन्द्र निर्माणको काम भइरहेको छ। त्यस्तै, लामो समयदेखि सञ्चालनमा नरहेको जैविक मिथेनेसन प्लान्टलाई वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको सहयोगमा पुनः सञ्चालनमा ल्याउने तयारी गरिएको छ।
वातावरण निरीक्षक श्रेष्ठका अनुसार हाल काठमाडौं महानगरपालिकासहित २३ वटा स्थानीय तहको फोहोर नुवाकोट र धादिङको सीमामा रहेको बञ्चरेडाँडा विसर्जनस्थलमा व्यवस्थापन हुँदै आएको छ।
नदी तथा पोखरी सरसफाइअन्तर्गत टुकुचा, विष्णुमती, बागमती र धोबीखोलामा नियमित सरसफाइ भइरहेको छ। खोलामा बगेर आउने फोहोर नियन्त्रणका लागि ट्र्यास बुम ब्यारियर जडान गरिएको पनि उनले जानकारी दिइन्।
वायु प्रदूषणको अवस्था मापन गर्न महानगरपालिकाले १८ वटा न्यून लागतका वायु गुणस्तर मापन यन्त्र जडान गरेको छ। ती यन्त्रबाट प्राप्त तथ्यांकको वास्तविक समयमै अनुगमन गरी सार्वजनिक गर्ने गरिएको छ। महानगर प्रहरी र उपत्यका ट्राफिक प्रहरी कार्यालयसँगको समन्वयमा आर्थिक वर्ष २०८१/८२ र २०८२/८३ मा करिब तीन हजार सवारीसाधनको स्थलगत उत्सर्जन परीक्षण गरिएको पनि उनले बताइन्।
महानगरपालिकाले आगामी दिनमा पाँचवर्षे वायु गुणस्तर व्यवस्थापन कार्ययोजना तयार गर्ने, सहरी जैविक विविधता र वन क्षेत्र संरक्षण गर्ने, बाढी तथा तापक्रम वृद्धिको जोखिम घटाउने, जलवायु अनुकूलन र न्यून कार्बन विकासलाई प्राथमिकता दिने योजना बनाएको छ।
सात दिनसम्म सञ्चालन हुने "काठमाडौं क्लाइमेट एक्सन विक"मा जलवायु वित्त, स्वच्छ ऊर्जा, यातायात, फोहोर व्यवस्थापन, सहरी वातावरण, स्थानीय सरकारबीचको सहकार्य र जलवायु उत्थानशीलताका विषयमा छलफल तथा कार्ययोजना निर्माण गरिनेछ। कार्यक्रमको सहआयोजक इन्स्टिच्युट अफ हिमालयन रिस्क रिडक्सन रहेको छ।
कार्यक्रमको मूल सन्देश स्पष्ट छ—जलवायु परिवर्तनको चुनौती विश्वव्यापी भए पनि त्यसको सामना गर्ने काम आफ्नै घर, समुदाय, वडा र स्थानीय सरकारबाट सुरु हुनुपर्छ। कार्यक्रममा भाेटेकाेशी बाढीबाट अत्यधिक प्रभावित जिल्ला नुवाकोट तथा विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले स्थानीयले नगरेकाे अपराधकाे सजायँ भाेगेकाे उल्लेख गर्दै पटक पटक स्थानीयले कहिले न्याय पाउँछन् भनेर प्रश्न गसेका थिए । सम्मेलनमा विभिन्न नगरपालिकाका प्रमुख तथा उपप्रमुख, प्रतिनिधिहरूकाे सहभागिता रहेकाे छ । सम्मेलन मंसिर १३ गतेसम्म संचालन हुनेछ ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
Amika Rajthala

More from Amika Rajthala

Explore more articles by this author
बालविवाहमा बालबालिका नै कसूरदार: कानुन संशोधनको माग

बालविवाहमा बालबालिका नै कसूरदार: कानुन संशोधनको माग

बालविवाहमा बालबालिका नै कसूरदार: कानुन संशोधनको माग...

विवाहभित्र होस् वा बाहिर, यौन हिंसा हिंसा नै हो : कानुन संशोधनको माग

विवाहभित्र होस् वा बाहिर, यौन हिंसा हिंसा नै हो : कानुन संशोधनको माग

विवाहभित्र होस् वा बाहिर, यौन हिंसा हिंसा नै हो : कानुन संशोधनको माग...

बाढीले बगायो व्यवसाय, ऋण र पुनःस्थापनाको चुनौतीमा उद्यमी

बाढीले बगायो व्यवसाय, ऋण र पुनःस्थापनाको चुनौतीमा उद्यमी

बाढीले बगायो व्यवसाय, ऋण र पुनःस्थापनाको चुनौतीमा उद्यमी...

बाढीले उजाडेकाे उत्तरगयाको चुनौतीः पुनर्स्थापना र जीविकोपार्जन

बाढीले उजाडेकाे उत्तरगयाको चुनौतीः पुनर्स्थापना र जीविकोपार्जन

भदौ १० गतेको भाेटेकाेशी बाढीपछि उत्तरगया गाउँपालिका, रसुवामा भएकाे मानवीय तथा भौतिक क्षति, राहत तथा पुनर्स्थापनाको तयारी...

आजको तीज: भाेटेकाेशी  बाढीले थामेको उत्सवको स्वर

आजको तीज: भाेटेकाेशी बाढीले थामेको उत्सवको स्वर

आजको तीज : बाढीले थामेको उत्सवको स्वर...

Bhotekoshi flood: Endure all the pain in this life

Bhotekoshi flood: Endure all the pain in this life

तिब्बतबाट रसुवा हुँदै गत भदौ १० गते आएको भोटेकोशी बाढीमा परेर ज्यान गुमाएकाहरूको खोजी, उत्खनन, बाँचेकाहरूको उद्दार, राहत...