२९ जेठ २०८३, शुक्रबार

निर्वाचन आयोगद्वारा राष्ट्रपति रामचन्द्र पौडेल समक्ष प्रतिनिधिसभा सदस्य निर्वाचन परिणामसहितको प्रतिवेदन पेस


अ+
अ-

काठमाडाैं, चैत ५ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको निर्वाचन परिणामसहितको प्रतिवेदन प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६२ बमोजिम आज राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेस गरिएको छ।
राष्ट्रपति भवन शीतल निवासमा निर्वाचन परिणाम ग्रहण गर्दै राष्ट्रपतिले विशिष्ट परिस्थितिमा घोषणा भएको निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवम् भयरहित वातावरणमा सम्पन्न गरेकोमा आयोगलाई धन्यवाद दिएका थिए ।
राष्ट्रपति समक्ष प्रतिवेदन पेस गर्दै आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन व्यवस्थापनका सम्बन्धमा सम्पादन गरिएका काम र निर्वाचन परिणामको सारसंक्षेप प्रस्तुत गरेका थिए । निर्वाचन परिणाम अनुसार प्रतिनिधिसभा सदस्यमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ ६ वटा राजनीतिक दलका १६४ जना र १ जना स्वतन्त्र उम्मेदवार गरी जम्मा १६५ जना उम्मेदवार निर्वाचित हुनुभएका छन्। त्यस्तै समानुपातिक निर्वाचन प्रणालीतर्फ ६ वटा राजनीतिक दलका ११० जना उम्मेदवार निर्वाचित भएका छन्। कुल २७५ जना सदस्य रहेको प्रतिनिधि सभामा पुरुष १७९ र महिला ९६ निर्वाचित हुनुभएको छ। समावेशी विवरण अनुसार आदिवासी जनजाति समूहतर्फ २१.०९, खसआर्य समूहतर्फ ४९.०९, थारु समूहतर्फ ३.२७, दलित समूहतर्फ ६.१८, मधेसी समूहतर्फ १६.७३  र मुस्लिम समूहतर्फ ३.६४ प्रतिशत सदस्य निर्वाचित भएका छन् ।
निर्वाचन आयाेगका अनुसार एकल चुनाव चिन्ह लिई संयुक्त रूपमा निर्वाचनमा भाग लिने प्रयोजनका लागि १२ राजनीतिक दलले ५ वटा र १०२ राजनीतिक दलले आ-आफ्नो चुनाव चिन्ह लिई निर्वाचनमा भाग लिने गरी जम्मा ११४ दलले १०७ वटा चुनाव चिन्हमा प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिन दल दर्ता गराएकोमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ ६१ वटा चुनाव चिन्हमा ६५ राजनीतिक दल र समानुपातिक निर्वाचन प्रणालीतर्फ ५७ वटा निर्वाचन चिन्हमा ६३ राजनीतिक दल निर्वाचनमा सहभागी थिए।

आयाेगका अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ महिला ३८८, पुरुष ३ हजार १७ र अन्यबाट १ गरी कुल ३ हजार ४०६ जनाको अन्तिम उम्मेदवारी कायम रहेको थियो। त्यस्तै समानुपातिक निर्वाचन प्रणालीतर्फ महिला १ हजार ७७२ र पुरुष १ हजार ३६३ गरी ३ हजार १३५ जना उम्मेदवारको अन्तिम बन्दसूची कायम गरिएको थियो।
निर्वाचनका लागि महिला ९२ लाख ४० हजार १३१, पुरुष ९६ लाख ६३ हजार ३५८ र अन्य २०० गरी कुल १ करोड ८९ लाख ०३ हजार ६८९ मतदाता कायम रहेका थिए। अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका व्यक्तिहरूमध्येबाट मतदाता नामावली ऐन, २०७३ को दफा ३० बमोजिम तयार गरिएको अस्थायी मतदाता नामावलीमा १ लाख ८६ हजार १४२ मतदाता रहेका थिए। अस्थायी मतदाताहरूलाई प्रतिनिधिसभाको समानुपातिक निर्वाचनतर्फ मतदान गर्ने व्यवस्था मिलाइएको आयाेगले जनाएको छ ।
आयाेगका अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचनमा १ करोड ११ लाख ६८ हजार ३२ मतदान भएकोमा १ करोड ५ लाख ५९ हजार १७ (९४.५५%) मत सदर भएकोमा ५.४५ प्रतिशत मत बदर भएको छ। यस्तै समानुपातिकतर्फ १ करोड १२ लाख ८० हजार ८१७ मतदान भएकोमा १ करोड ८ लाख ३५ हजार २५ (९६.०५%) मत सदर भएकोमा ३.९५ प्रतिशत मत बदर भएको छ। दुबै निर्वाचन प्रणालीतर्फ गरी औसत बदर मतको प्रतिशत ४.७ रहको छ।
निर्वाचन खर्चलाई मितव्ययी बनाउन आयोगबाट यसअघि खरिद भएका सामग्री प्रयोगको नीति लिइएको र सामग्री खरिदमा सरकारको स्वमित्वमा रहेका संगठित संस्थासँग सम्झौता गरी खरिद गरिएको आयाेगले जनाएको छ। ५० प्रकारका निर्वाचन सामग्रीमध्ये ३७ प्रकारका निर्वाचन सामग्री प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयहरूबाटै खरिद गरिएको थियो भने १३ प्रकारका सामग्री आयोगबाट खरिद भई जिल्लागत रूपमा ढुवानी गरिएको थियो।
निर्वाचन प्रयोजनका लागि आयोगबाट ७ अर्ब ८१ करोड ५ लाख ७६ हजार रुपैयाँ माग गरिएकोमध्ये अर्थ मन्त्रालयबाट ६ अर्ब ७६ करोड ६६ लाख ९० हजार रुपैयाँको स्रोत सहमति प्राप्त भएको थियो। प्राप्त रकममध्ये हालसम्म ३ अर्ब ५४ करोड २८ लाख ९९६  रुपैयाँ खर्च भएको छ। खर्चको दायित्व सिर्जना भएकोमध्ये केही रकम भुक्तानी गर्न बाँकी रहेको आयाेगले प्रतिवेदनमा उल्लेख गरेकाे छ ।
प्रतिवेदन अनुसार निर्वाचनमा स्वदेशी र विदेशी पर्यवेक्षकले प्रर्यवेक्षण गर्ने व्यवस्था मिलाइएकोमा अन्तर्राष्ट्रिय पर्यवेक्षणतर्फ २२ वटा कूटनीतिक निकायका १६४ जना प्रतिनिधि र ३ वटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधिहरूले पर्यवेक्षण गरेका थिए। राष्ट्रियतर्फ ३५ वटा गैरसरकारी संस्थाले पर्यवेक्षण गरेका थिए।
विशिष्ट परिस्थितिमा घोषणा भएको प्रतिनिधिमूलक लोकतन्त्रको यस अभ्यासमा सहभागी भई आफ्नो मताधिकारमार्फत प्रतिनिधि चुन्ने, कानुन निर्माण र राज्य सञ्चालन प्रक्रियामा संलग्न हुने एवम् सरकार निर्माण तथा शासन सञ्चालनमा सहभागी हुने प्रक्रियालाई पूर्णता दिएकोमा सम्पूर्ण मतदाताहरुमा आयोगले धन्यवाद व्यक्त गरेकाे ।
यस्तै, निर्वाचन सम्पन्न गराउने ऐतिहासिक कार्यमा संलग्न भई आ-आफ्नो स्थानबाट भूमिका निर्वाह गर्ने नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, मुख्य निर्वाचन अधिकृत/निर्वाचन अधिकृत, सबै सुरक्षा निकाय, निर्वाचनमा संलग्न कर्मचारी, सुरक्षाकर्मी, राजनीतिक दल, उम्मेदवार, मतदाता, पर्यवेक्षक, अन्तर्राष्ट्रिय समुदाय सबैलाई आयोगले धन्यवाद व्यक्त गरेकाे छ ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय...

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित...

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ...

विद्यालयका सवारी चालकबाट मादक पदार्थ सेवन

विद्यालयका सवारी चालकबाट मादक पदार्थ सेवन

विद्यालयका सवारी चालकबाट मादक पदार्थ सेवन...

बीमा दावीका लागि आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक गरेपछि...

बीमा दावीका लागि आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक गरेपछि...

बीमा दावीका लागि आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक गरेपछि......

कर्णाली प्रदेशमा विपद् जोखिम न्यूनीकरण कार्यमञ्च गठन

कर्णाली प्रदेशमा विपद् जोखिम न्यूनीकरण कार्यमञ्च गठन

कर्णाली प्रदेशमा विपद् जोखिम न्यूनीकरण कार्यमञ्च गठन...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्