विश्व धूम्रपानरहित दिवस : दक्षिण–पूर्वी एशियामा सुर्तीजन्य पदार्थको प्रयोग घट्दो, नयाँ निकोटिन उत्पादन चुनौती
काठमाडौँ, जेठ १७ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सुर्तीजन्य तथा निकोटिनयुक्त पदार्थको प्रयोग अझै पनि विश्वव्यापी रूपमा मृत्यु र रोगको प्रमुख कारण बनेको जनाएको छ । क्यान्सर, मुटुरोग तथा श्वासप्रश्वाससम्बन्धी रोग निम्त्याउने यस्ता पदार्थका कारण हरेक वर्ष लाखौँ मानिसको ज्यान जाने गरेको संगठनले उल्लेख गरेको छ ।
डब्लुएचओका अनुसार विश्वभर १ अर्ब २० करोडभन्दा बढी मानिसले सुर्तीजन्य तथा निकोटिनयुक्त पदार्थ प्रयोग गर्छन् । दक्षिण–पूर्वी एशिया क्षेत्रमा मात्रै ३२ करोड २० लाख वयस्क र ८६ लाख किशोर–किशोरी यस्ता पदार्थको प्रयोगमा संलग्न छन् । यसबाहेक २८ करोड ८० लाखभन्दा बढी मानिसले धुवाँरहित सुर्तीजन्य पदार्थ प्रयोग गर्ने गरेका छन्, जुन विश्वव्यापी भारको ८० प्रतिशत हो ।
यस वर्ष “निकोटिन र सुर्तीजन्य लतको आकर्षणको पर्दाफास” भन्ने नारासहित विश्व धूम्रपानरहित दिवस मनाइँदै छ । डब्लुएचओले सुर्ती तथा निकोटिन उद्योगहरूले युवालाई लक्षित गरी उत्पादन डिजाइन र प्रचार–प्रसार गर्ने रणनीतिमार्फत उनीहरूलाई लतको चक्रमा फसाइरहेको जनाएको छ ।
डब्लुएचओ दक्षिण–पूर्वी एशियाकी कार्यवाहक प्रमुख डा. क्याथरिना बोहेमेले सुर्तीजन्य पदार्थ नियन्त्रणमा दक्षिण–पूर्वी एशियाले उल्लेखनीय प्रगति हासिल गरेको बताएकी छन् । उनका अनुसार सन् २००० देखि २०२४ सम्म वयस्क पुरुषमा सुर्तीजन्य पदार्थको प्रयोग ७० दशमलव १ प्रतिशतबाट घटेर ३७ दशमलव ४ प्रतिशतमा झरेको छ भने महिलामा ३८ प्रतिशतबाट ९ दशमलव ३ प्रतिशतमा सीमित भएको छ ।
उनले सन् २०१० देखि २०२५ सम्म वयस्कमा सुर्तीजन्य पदार्थ प्रयोग ४० प्रतिशतले घटाउने लक्ष्यतर्फ क्षेत्र अघि बढिरहेको उल्लेख गरिन् । यो उपलब्धि गैरसञ्चारी रोग नियन्त्रणसम्बन्धी विश्वव्यापी कार्ययोजनाअन्तर्गतको ३० प्रतिशत लक्ष्यभन्दा माथि रहेको डब्लुएचओको भनाइ छ ।
माल्दिभ्सले पुस्तान्तरणीय रूपमा सुर्तीजन्य पदार्थ प्रतिबन्ध लगाउने कानुन लागू गर्ने विश्वकै पहिलो मुलुक बनेर नयाँ उदाहरण प्रस्तुत गरेको पनि डब्लुएचओले जनाएको छ ।
डब्लुएचओले यी उपलब्धि “डब्लुएचओ फ्रेमवर्क कन्भेन्सन अन टोबाको कन्ट्रोल (FCTC)” तथा “एमपावर” रणनीतिको प्रभावकारी कार्यान्वयनका कारण सम्भव भएको उल्लेख गरेको छ । एमपावरअन्तर्गत सुर्तीजन्य पदार्थको प्रयोग अनुगमन, धूम्रपानबाट संरक्षण, लत त्याग्न सहयोग, चेतावनी प्रवाह, विज्ञापन प्रतिबन्ध तथा कर वृद्धि जस्ता उपाय समेटिएका छन् ।
यद्यपि संगठनले चुनौती अझै कायम रहेको चेतावनी दिएको छ । परम्परागत चुरोटमाथि कडाइ बढेपछि उद्योगहरूले इलेक्ट्रोनिक चुरोट, निकोटिन पाउच तथा कृत्रिम निकोटिनयुक्त उपकरणको आक्रामक बजार विस्तार गरिरहेको डब्लुएचओको भनाइ छ । स्वादयुक्त उत्पादन, डिजिटल विज्ञापन तथा आकर्षक डिजाइनमार्फत युवालाई लक्षित गरिएको संगठनले जनाएको छ ।
डब्लुएचओले दक्षिण–पूर्वी एशियाली देशहरूलाई नयाँ तथा उदीयमान निकोटिन उत्पादनमाथि कडा नियमन गर्न, स्वादयुक्त उत्पादन प्रतिबन्ध गर्न तथा डिजिटल र सामाजिक सञ्जालमार्फत हुने प्रचार–प्रसार नियन्त्रण गर्न आग्रह गरेको छ । साथै युवालाई उद्योगको प्रभावबाट जोगाउन सचेतना र वैज्ञानिक आधारमा धूम्रपान त्याग सहायता कार्यक्रम विस्तार गर्नुपर्नेमा जोड दिएको छ ।
“सुर्तीजन्य तथा निकोटिन लतको नियन्त्रण सम्भव छ, यसको आकर्षणको पर्दाफास नै पहिलो कदम हो,” डा. बोहेमेले भनेकी छन् ।
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment