अन्तर्राष्ट्रिय महिला दिवसः महिला अधिकार र समानताका लागि अझै सक्रिय हुन राष्ट्रपति र प्रधानमन्त्रीको आह्वान
काठमाडौं, फागुन २४ । ११६ औं अन्तर्राष्ट्रिय महिला दिवस (आठ मार्च) को अवसरमा राष्ट्रपति रामचन्द्र पाैडेल र प्रधानमन्त्री सुशीला कार्कीले महिला अधिकार, समानता र सशक्तीकरणलाई व्यवहारिक रूपमा कार्यान्वयन गर्न सबै सरोकारवालालाई आह्वान गरेका छन्।
राष्ट्रपतिले आइतबार दिएको शुभकामना सन्देशमा अन्तर्राष्ट्रिय महिला दिवसले महिलाको अधिकार, समानता र सशक्तीकरणका विषयमा समाजलाई थप सचेत बनाउने विश्वास व्यक्त गरेका छन्। यस वर्षको अन्तर्राष्ट्रिय नारा “ राइट, जस्टिस, एक्शन फर वमन एण्ड गल्स् ” (सबै महिला र बालिकाका लागि अधिकार, न्याय र कार्यसहितकाे अवसर) का साथ विश्वभर दिवस मनाइँदै गरेको उल्लेख गर्दै उनले महिलाको हक–अधिकार सुनिश्चित गर्न राज्य, समाज र सबै क्षेत्रको साझा प्रयास आवश्यक रहेको बताएका छन्।
राष्ट्रपतिले विश्वभरि विभिन्न क्षेत्रमा कार्यरत महिलाहरूको आर्थिक, राजनीतिक र सामाजिक उपलब्धि स्मरण गर्दै महिलाहरूको प्रविधिमा पहुँचको विस्तार गर्ने, महिला सशक्तिकरण अभिवृद्धि गर्ने, लैङ्गिक असमानता र हिंसाजन्य क्रियाकलाप निर्मूल गर्ने, महिलालाई शिक्षित र आत्मनिर्भर बनाउने एवम् उचित सम्मान गर्नेलगायतका उद्देश्य सहित - अन्तर्राष्ट्रिय महिला दिवस मनाउँदै आइएको उल्लेख गरेका छन्।
यस्तै, संविधानले अवलम्बन गरेको समानुपातिक समावेशी सिद्धान्त राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक तथा शैक्षिक क्षेत्रमा महिलाको अर्थपूर्ण प्रतिनिधित्व र नेतृत्व स्थापित गर्न कोशेढुङ्गा सावित भएको सन्देशमा उल्लेख गर्दै लैङ्गिक समानता र महिला सशक्तिकरणको उद्देश्य पूरा गर्न शिक्षा, स्वास्थ्य, रोजगारी, नीति निर्माण एवम् निर्णय प्रकृया, राजनीतिजस्ता राज्यका हरेक क्षेत्रमा महिलाहरूको पहुँच समानरूपमा सुनिश्चित हुनुपर्ने महसुस गरेको बताएका छन्।
शुभकामना सन्देशमा राष्ट्रपतिले परम्पराका नाममा समाजमा रहेका खराब अभ्यास एवम् प्रथाको कारण किशोरी तथा बालिकामाथि हुने शारीरिक तथा मानसिक हिंसाका घटना बढ्नेजस्ता प्रथालाई निर्मूल गर्न थप प्रभावकारी एवम् सिर्जनात्मक कार्यक्रम आयोजना गर्न जरूरी रहेकाे तथा जनसंख्याको आधा हिस्सा ओगटेका महिला सशक्त भएमा सिङ्गो परिवार, समाज र समग्र राष्ट्र नै समृद्धिको मार्गमा अगाडि बढ्ने हुदाँ यसतर्फ विशेष ध्यान पुऱ्याउन जरूरी रहेकाे उल्लेख गरेका छन्।
यस्तै, प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो शुभकामना सन्देशमा नेपालको संविधानले महिलाको हकलाई मौलिक हकको रूपमा प्रत्याभूत गरी रोजगारी, समान ज्याला, पैत्रिक सम्पनि सलगायतका विषयमा समान लैंगिक हकको सुनिश्चित गरेको उल्लेख गर्दै महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव अन्य गर्ने सम्बन्धी महासन्धिको नेपाल पक्ष राष्ट्रको रूपमा रही आवश्यक नीतिगत, कानुनी सुधार सहितका विभिन्न कार्यक्रम सञ्चालन हुदै आएकाे उल्लेख गरेकी छन्।
प्रधानमन्त्री कार्कीका अनुसार महिलाको आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक अधिकारलाई अधिकतम रुपमा सम्बोधन गर्ने विषय नेपाल सरकारको उच्च प्राथमिकतामा छ। महिला सशक्तीकरणका लागि स्व जागरण, चेतना अभिवृद्धि, सीप, विकास, दक्षता तथा क्षमता अभिवृद्धिका साथै आर्थिक सबलीकरण महत्वपूर्ण पक्ष हो। त्यसैले महिलाहरूको उद्यमशीलता अभिवृद्धिमार्फत आर्थिक सशक्तीकरण गर्न जरूरी छ।
संघीय संरचनामा तीनवटै तहका सरकार, निजी क्षेत्र, गैरसरकारी क्षेत्र तथा सरोकारवाला निकायबाट पर्याप्त मात्रामा महिला विकास र संशक्तीकरणको लागि लगानी अभिवृद्धि गर्नु आवश्यक रहेकाे उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले महिलामा गरिने लगानीले लैङ्गिक समानतामूलक राष्ट्र निर्माणमा मद्दत पुयाउँने उल्लेख गरेकी छन्। यसैले महिलाको शिक्षा, स्वास्थ्य, रोजगारी, जीविकोपार्जनमा सुधारका साथै सामाजिक सुरक्षा, पूर्वाधार संरचना तथा प्रविधिमा पहुँच बढाउनका लागि लक्षित कार्यक्रमहरुमा गरिने लगानीलाई थप प्रभावकारी बनाउनु आवश्यक छ ।
सबै क्षेत्रमा महिलाको गुणस्तरीय सहभागिता, प्रतिनिधित्वसहित नेतृत्व विकासमा जोड दिंदै महिलाविरूद्ध हुने सबै प्रकारका हिंसा, विभेद र शोषणको अन्त्य गर्न परिवार तहदेखि नै अभियान बाल्नुपर्ने आवश्यकता प्रधानमन्त्री कार्कीकाे सन्देशमा आैंल्याईएकाे छ ।
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment