पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक पक्राउ
काठमाडौं, चैत १४। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन् । ओलीको गुण्डुस्थित निवासमा प्रवेश गरेर प्रहरीले पक्राउ गरेको छ ।
अपराध अनुसन्धान कार्यालय टेकुका एसएसपी सन्तोष खड्का नेतृत्वको टोली ओली निवास प्रवेश गरेको थियो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृतले ओली पक्राउ गरेको पुष्टि गरे । उनलाई पक्राउ गर्न रातिदेखि नै प्रहरी टोली ओली निवास गुण्डु पुगेको थियो ।
नेपालको इतिहासमा मुलुकको कार्यकारी प्रमुख ज्यानमुद्दामा पक्राउ परेको यो पहिलो घटना हो । यसअघि कतिपय अवस्थामा राजनीतिक प्रकृतिका घटना र प्रदर्शनमा पूर्वप्रधानमन्त्रीहरु प्रहरी नियन्त्रणमा रहेपनि फौजदारी जाहेरीको अनुसन्धानका सिलसिलामा पक्राउ परेका थिएनन् ।
यस्तै, ओली नेतृत्वको तत्कालीन सरकारका गृहमन्त्री रमेश लेखकलाई पनि आज बिहान प्रहरीले भक्तपुरकोकुटुन्जेस्थित निवासबाट पक्राउ गरेको छ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको मानवीय र भौतिक क्षतिको छानबिन गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्।
जाँचबुझ आयोगले बुझाएको प्रतिवेदनमा तत्कालीन गृहमन्त्री लेखकलाई 'फौजदारी हेलचेक्र्याइँ' गरेको गम्भीर आरोप लगाउँदै कानुनी कारबाहीका लागि सिफारिस गरिएको थियो। आयोगले आफ्नो प्रतिवेदनमा कार्यकारी प्रमुखका रूपमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङलाई मुलुकी अपराध संहिता २०७४ को दफा १८१ र १८२ बमोजिम कसुर हेरी अनुसन्धान, तहकिकात र अभियोजन गर्न नेपाल सरकारलाई सिफारिस गरेको थियो।
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment