नेपालका विभिन्न हाइवेमा वर्षा, हावाहुरी र हिमपातका कारण यातायात अवरुद्ध
काठमाडौं, चैत ७ । नेपालका विभिन्न जिल्ला हाइवेहरुमा वर्षा, हावाहुरी र हिमपातका कारण सवारी आवागमनमा कठिनाइ देखिएको छ। नेपाल प्रहरीका अनुसार, सडक मर्मत सम्भार र प्राकृतिक परिस्थितिका कारण केही प्रमुख मार्गहरू आंशिक वा पूर्ण रुपमा अवरुद्ध भएका छन्।
नवलपुर (वर्दघाट–सुस्ता पूर्व): नारायणगढ–बुटवल सडकखण्ड
हिजाे ६ गतेदेखि बिनयी त्रिवेणी गाउपालिका २ स्थित दाउन्ने क्षेत्रमा सडक मर्मतका साथै हावाहुरी र वर्षाका कारण सडक चिप्लो भएको छ। यसले मालवाहक सवारी साधनहरूको आवागमनमा समस्या सिर्जना गरेको छ। प्रहरीको सूचनाअनुसार, चैत ६ गतेदेखि ०८ गतेसम्म दैनिक राति १९:०० देखि बिहान ०५:०० बजेसम्म मालवाहक सवारी साधन रोकिँदैछ। यात्रुवाहक र आकस्मिक सेवाका सवारी साधनहरुलाई प्राथमिकता दिइएको छ।
काभ्रे: बि.पि. राजमार्ग
काभ्रे रोशी गाउपालिका ९ बाउन्ने र आसपासको चारसयबेशी तथा गिम्दी क्षेत्रमा अबिरल वर्षाका कारण रोशी खोलाको पानी सडकमा पसेर बि.पि. राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। स्थानीय प्रशासनले सवारी साधनहरु रोक्ने सूचना जारी गरेको छ।
पाल्पा: सिद्दार्थ राजमार्ग
पाल्पा जिल्लाको तिनाउ गाउपालिका ३ दोभानस्थित सिद्दार्थ राजमार्गमा ठुलो पानी पर्नुका साथै सडक माथिबाट ढुङ्गा खस्ने जोखिम देखिएकोले सवारी आवागमन पूर्ण रूपमा रोकिएको छ। प्रहरीले मानवीय र सवारी क्षतिको जोखिम उच्च भएकोले सावधानी अपनाउन सबैलाई अनुरोध गरेको छ।
जि. रुकुम (पूर्वी भाग): मध्य पहाडी लोकमार्ग
जिल्ला रुकुम (पूर्वी भाग) भुमे गाउपालिका १ पाथिहाल्ना नजिक बाग्लुङ–रुकुम सीमाना क्षेत्रमा परेको हिमपातका कारण मध्य पहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। यात्रुहरूले वैकल्पिक मार्ग प्रयोग गर्न र सचेत भएर यात्रा गर्न प्रहरीले आग्रह गरेको छ।
नेपाल प्रहरीले सबै क्षेत्रका सवारी साधन चालकहरूलाई समय समयमा अपडेट हुने सूचना ध्यानपूर्वक अवलोकन गर्न र अत्यावश्यक बाहेक यात्रा नगर्न सुझाएको छ।
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment