‘फोटो तथा चित्रकलामा तानसेन पाल्पा’को प्रदर्शनी शुरु
काठमाडौं, भदौ ३ । काठमाडौंमा पेशा, व्यवसाय तथा विभिन्न भूमिकामा रहेका तानसेन, पाल्पाका व्यक्तित्वहरूको संगठित संस्था तानसेन गुठीले ‘फोटो तथा चित्रकलामा तानसेन पाल्पा’को प्रदर्शनी शुरु गरेको छ । प्राकृतिक, सांस्कृतिक, इतिहास तथा व्यक्तित्व दर्शाउने फोटो तथा चित्रहरूको प्रदर्शनी सात दिनसम्म सञ्चालन हुनेछ ।
प्रदर्शनीको उद्घाटन कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कूलपति नारदमणि हातर्मछालीले पाल्पाली परम्परागत सीपको साथसाथै नवीनतम हस्तकलाका साधन, लोक कला तथा आधुनिक सीपलाई समायोजन गरेर अगाडि बढ्नु पर्ने बताए । सांस्कृतिक विकासका केन्द्रीय नीतिलाई स्थानीयकरण गर्नुपर्ने बताउँदै कूलपति नारदमणिले हस्तकला तथा लोककलालाई जोडेर मूर्त अमूर्त संस्कृतिलाई वैश्विक गाउँमा देखाउनु पर्ने बताए ।
कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व कूलपति केके कर्माचार्यले तानसेन, पाल्पाका धार्मिक, सांस्कृति, ऐतिहासिक पक्षहरू महत्वपूर्ण रहेको र ती स्मारकहरूको संरक्षणका लागि हुलाक टिकटमा प्रकाशन गर्न ढीलाई गर्न नहुने बताए । साथै तानसेनको मूर्त तथा अमूर्त कलाको संरक्षणका लागि छुट्टै कार्यशाला गरेर अगाडि बढ्नु पर्ने पूर्व कूलपतिले सुझाव दिए ।
पर्यटन बोर्डका सदस्य नरेन्द्रदेव भट्टले तानसेनको पर्यटन उद्योगको विकासका लागि बोर्डले बजेट विनियोजन गरेर नै अगाडि बढेको बताए । भट्टका अनुसार बोर्डले रानीमहललाई विशेष महत्व दिएर अगाडि बढाउन पहल गरेको छ ।
कार्यक्रम आयोजक संस्था तानसेन गुठीका अध्यक्ष प्रमी श्रेष्ठले युनेस्कोले तानसेनलाई सम्पदा शहरको रुपमा लिएको हुँदा आफूहरू उत्साहित भएको बताउँदै सम्पदा संरक्षण गर्नु, कलाकारहरूलाई संरक्षण गर्नु संस्थाको उद्देश्य रहेको बताइन् । फोटो तथा कलाका माध्यमबाट आयआर्जन गर्न पनि सकिने हुँदा यसलाई अझै प्रोत्साहित गरेर अगाडि बढ्ने सोच बनाएको अध्यक्ष प्रमीले बताइन् ।
‘फोटो तथा चित्रकलामा तानसेन पाल्पा’को प्रदर्शनीमा आठ जना चित्रकारको ४७ चित्रकला, १२ जना फोटोग्राफरको ४८ वटा फोटो तथा ११ वटा हुलाक टिकटको प्रदर्शनी गरिएको छ । प्रदर्शनी भदौ ९ गतेसम्म नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा संचालन हुनेछ ।
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment