राष्ट्रिय लोककला, परम्परागत चित्रकला तथा शिल्प—हस्तकला सम्मेलन २०८२ सम्पन्न
काठमाडौं, भदौ १८ । नेपाल ललितकला प्रज्ञा—प्रतिष्ठानको आयोजनामा सोमवारबाट सुरु भएको ‘राष्ट्रिय लोककला, परम्परागत चित्रकला तथा शिल्प—हस्तकला सम्मेलन २०८२’ बुधवार सम्पन्न भएको छ ।
समारोहमा कुलपति नारदमणि हार्तम्छालीले कार्यक्रममा धेरै बौद्धिक विमर्श भएको तथा सम्मेलनले कला क्षेत्रको समस्याको उठान, व्याख्यान तथा बैठानसमेत गर्न पहल गरेको बताए।
उपकुलपति लालकाजी लामाले सम्मेलनमा लोककला, परम्परागत कला र शिल्प—हस्तकलाका विषयमा घनीभूत छलफल भएको बताउँदै छलफलले नेपाली कला क्षेत्रमा नयाँ यात्रा तय गर्ने बताए ।
कार्यक्रममा सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले सम्मेलनमा उत्साहजनक रूपमा सातै प्रदेशका कलाकारहरूले प्रतिनिधिमूलक सहभागिता रहेकाे तथा सम्मेलनमा उठेका कुरा हामी सम्बन्धित स्थानमा पुर्याउने बताए ।
यस्तै, परम्परागत चित्रकला विभाग प्रमुख पाल्साङ्मो लामाले यस सम्मेलनलाई अवसरका रूपमा लिनुपर्ने बताउँदै कलाका क्षेत्रमा थुप्रै चुनौती तथा समस्या रहेकोले सम्मेलनको आवाजलाई शक्तिका रूपमा ल्याउन प्रयोग गर्ने उल्लेख गरे ।
कार्यक्रममा नूतनधर शर्माले ‘नेवाः शैव—द्वार चित्रकला’, मिङ्मा लामाले ‘परम्परागत थाङ्का (थाङ्कु) चित्रकला एवं यसका समस्या र चुतौती’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । त्यस्तै कार्यक्रममा होमबहादुर घिसिङले ‘परम्परागत थाङ्का कला’ का विषयमा प्रस्तुति दिएका थिए भने समूहगत रूपमा परम्परागत कला, कलाका विविध आयाम तथा क्षेत्रसँग सम्बन्धित विषयमा छलफलसमेत भएको थियो ।
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment