हेपाटाइटिसबाट दक्षिण–पूर्वी एसियामा अझै ५१ लाखभन्दा बढी संक्रमित
काठमाडौँ, साउन १२ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले भाइरल हेपाटाइटिस अझै पनि विश्वका सबैभन्दा घातक सङ्क्रामक रोगमध्ये एक रहेको जनाएको छ। सन् २०२४ मा मात्र विश्वभर हेपाटाइटिसका कारण करिब १३ लाख जनाको मृत्यु भएको भन्दै संगठनले समयमै परीक्षण, उपचार र निरन्तर स्वास्थ्य सेवामार्फत यस्ता अधिकांश मृत्यु रोक्न सकिने जनाएको हो।
विश्व हेपाटाइटिस दिवसका अवसरमा डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय कार्यालयका कार्यवाहक प्रमुख डा. क्याथरिना बोएमेले जारी गरेको सन्देशमा दक्षिण–पूर्वी एसिया क्षेत्रमा मात्रै करिब ४ करोड ३० लाख मानिस हेपाटाइटिस–बी र ८० लाख मानिस हेपाटाइटिस–सीबाट संक्रमित रहेको उल्लेख छ। यस क्षेत्रमा प्रत्येक वर्ष दुई लाखभन्दा बढी मानिसको हेपाटाइटिससम्बन्धी कारण, विशेषगरी कलेजोको सिरोसिस र कलेजोको क्यान्सरका कारण मृत्यु हुने गरेको जनाइएको छ।
यस वर्ष विश्व हेपाटाइटिस दिवस “हेपाटाइटिस: अवरोधहरू हटाउँ ” भन्ने विश्वव्यापी नारासहित मनाइँदै छ भने दक्षिण–पूर्वी एसिया क्षेत्रमा “ "सबैका लागि, सबै ठाउँमा—अहिल्यै हेपाटाइटिस उन्मूलन गरौँ।" भन्ने नारालाई प्राथमिकता दिइएको छ। डब्लुएचओका अनुसार यी नाराले हेपाटाइटिसको रोकथाम, परीक्षण र उपचारमा रहेका सामाजिक, आर्थिक तथा संरचनागत अवरोध हटाउन आह्वान गरेका छन्।
डब्लुएचओका अनुसार यस क्षेत्रमा हेपाटाइटिस नियन्त्रणमा उल्लेखनीय प्रगति पनि भएको छ। सन् २०२४ मा हेपाटाइटिस–बी विरुद्धको तेस्रो मात्रा खोपको पहुँच ९२ प्रतिशत पुगेको छ। सन् २०२५ मा माल्दिभ्स आमा–शिशुबीच हुने एचआईभी, सिफिलिस र हेपाटाइटिस–बीको संक्रमण उन्मूलनमा विश्वकै पहिलो प्रमाणित देश बनेको छ। यस्तै थाइल्यान्ड र श्रीलंकाले एचआईभी तथा सिफिलिसको आमा–शिशु संक्रमण उन्मूलनको मान्यता प्राप्त गरेका छन्।
नेपालमा हेपाटाइटिसको भार कम तर जोखिम समूहमा संक्रमण उच्च
नेपालमा भाइरल हेपाटाइटिस–बी र सीको समग्र संक्रमण दर तुलनात्मक रूपमा कम रहे पनि उच्च जोखिममा रहेका समुदायमा संक्रमणको अवस्था अझै चिन्ताजनक रहेको सरकारी तथ्यांकले देखाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्र (एनसिएएससी) ले सार्वजनिक गरेको ‘National Strategy for Viral Hepatitis B and C (2023–2030)’ अनुसार नेपाललाई हेपाटाइटिस–बी र सीको कम भार ( लाे डिजिज बर्डन ) भएको मुलुकका रूपमा वर्गीकरण गरिएको छ। तर सुईमार्फत लागुऔषध प्रयोग गर्ने व्यक्ति, एचआईभी संक्रमित तथा अन्य जोखिम समूहमा संक्रमणको दर उल्लेखनीय रूपमा उच्च रहेको छ।
रणनीतिअनुसार सामान्य जनसंख्यामा हेपाटाइटिस–बीको संक्रमण ०.९ प्रतिशत र हेपाटाइटिस–सीको संक्रमण ०.३८ प्रतिशत रहेको अनुमान गरिएको छ। यस्तै पाँच वर्षमुनिका बालबालिकामा हेपाटाइटिस–बीको संक्रमण ०.३ प्रतिशत र गर्भवती महिलामा ०.५ प्रतिशत रहेको उल्लेख छ।
तर जोखिम समूहमा संक्रमणको अवस्था निकै गम्भीर देखिएको छ। सुईमार्फत लागुऔषध प्रयोग गर्ने व्यक्तिमा हेपाटाइटिस–सीको संक्रमण २७.४८ प्रतिशत र हेपाटाइटिस–बीको संक्रमण ३.५ प्रतिशत रहेको छ। त्यसैगरी HIV संक्रमित व्यक्तिमा हेपाटाइटिस–सी २६.१७ प्रतिशत र हेपाटाइटिस–बी ४.६ प्रतिशत रहेको सरकारी तथ्यांकले देखाएको छ।
यही अवस्थालाई ध्यानमा राख्दै सरकारले सन् २०२३ देखि ‘National Strategy for Viral Hepatitis B and C (2023–2030)’ कार्यान्वयनमा ल्याएको हाे। रणनीतिले सन् २०३० सम्म भाइरल हेपाटाइटिसलाई सार्वजनिक स्वास्थ्य समस्याका रूपमा अन्त्य गर्ने लक्ष्य राखेको छ। यसका लागि हेपाटाइटिस परीक्षण, उपचार तथा खोप सेवाको पहुँच विस्तार गर्नुका साथै प्राथमिक स्वास्थ्य सेवामार्फत सेवा एकीकृत गर्ने, गर्भवती महिलाको नियमित परीक्षण तथा जोखिममा रहेका समुदायलाई लक्षित कार्यक्रम सञ्चालन गर्ने नीति विश्व स्वास्थ्य संगठनले लिएको छ।
यस्तै, थाइल्यान्डले हेपाटाइटिसलाई आफ्नो सार्वभौमिक स्वास्थ्य सेवामा समेटेको छ भने भारतले आमा–शिशु संक्रमण उन्मूलन कार्यक्रमसँगै हेपाटाइटिस–बी खोप र गर्भावस्थाको परीक्षण विस्तार गरिरहेको छ। बङ्गलादेशले पनि कक्स बजारलगायत मानवीय संकट प्रभावित क्षेत्रमा जोखिममा रहेका समुदायका लागि हेपाटाइटिस सेवा विस्तार गरेको डब्लुएचओले जनाएको छ।
यद्यपि चुनौती अझै गम्भीर रहेको संगठनको भनाइ छ। दक्षिण–पूर्वी एसियामा जन्मेको २४ घण्टाभित्र लगाइने हेपाटाइटिस–बी खोपको पहुँच ५८ प्रतिशतमा सीमित छ। हेपाटाइटिस–बीको उपचार पहुँच ०.१ प्रतिशत र हेपाटाइटिस–सीको उपचार पहुँच ११ प्रतिशत मात्रै रहेको छ। दीर्घकालीन हेपाटाइटिस–बी र सी भएका १० जनामध्ये केवल एक जनाले मात्र आफ्नो संक्रमणबारे जानकारी पाएको डब्लुएचओको तथ्यांक छ।
संगठनका अनुसार असुरक्षित चिकित्सकीय सुई प्रयोगका कारण हुने संक्रमणले नयाँ हेपाटाइटिस–सी संक्रमणको करिब २१ प्रतिशत हिस्सा ओगटेको छ। त्यसैले सुरक्षित सुई प्रयोग, लागुऔषध सुईमार्फत प्रयोग गर्ने व्यक्तिहरूका लागि जोखिम न्यूनीकरण सेवा तथा प्राथमिक स्वास्थ्य सेवामार्फत सहज परीक्षण र उपचार विस्तार गर्न आवश्यक रहेको डब्लुएचओले जनाएको छ।
डब्लुएचओले प्रत्येक नवजात शिशुलाई जन्मेको २४ घण्टाभित्र हेपाटाइटिस–बी विरुद्धको खोप उपलब्ध गराउन, गर्भवती महिलाको नियमित हेपाटाइटिस परीक्षण सुनिश्चित गर्न तथा राष्ट्रिय स्रोत परिचालन बढाउन पनि सदस्य राष्ट्रहरूलाई आग्रह गरेको छ।
सन् २०३० सम्म भाइरल हेपाटाइटिसलाई सार्वजनिक स्वास्थ्य समस्याका रूपमा अन्त्य गर्ने दिगो विकास लक्ष्य हासिल गर्न अब साढे तीन वर्ष मात्र बाँकी रहेको उल्लेख गर्दै डा. बोएमेले वैज्ञानिक रूपमा प्रभावकारी परीक्षण, निदान र उपचार उपलब्ध भइसकेकाले अब राजनीतिक प्रतिबद्धता, पर्याप्त लगानी र समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेको बताएकी छन्। उनले कलंक, असमानता र सेवाको पहुँचमा रहेका अवरोध हटाएर सबैका लागि, सबै ठाउँमा हेपाटाइटिस उन्मूलनलाई अभियान मात्र नभई दायित्वका रूपमा अघि बढाउनुपर्नेमा जोड दिएकी छन्।
स्वास्थ्य विज्ञहरूले धेरै संक्रमित व्यक्तिलाई आफू संक्रमित भएको जानकारी नै नहुने, समयमै परीक्षण र उपचार नपाउँदा कलेजोको सिरोसिस र कलेजोको क्यान्सरजस्ता जटिल समस्या देखिने भएकाले समयमै परीक्षण, सुरक्षित स्वास्थ्य अभ्यास र खोपलाई प्रभावकारी रूपमा विस्तार गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment