संगठित मानव अंग तस्करीमा संलग्न दुई पक्राउ
काठमाडौं, भदौ १५ । नेपाल प्रहरीले मानव अंग तस्करीको संगठित गिरोहमा संलग्न दुई व्यक्तिलाई पक्राउ गरेको छ ।
नेपालका विभिन्न जिल्लाबाट मानिसहरुलाई प्रलोभनमा पारी भारतको नयाँ दिल्लीस्थित अस्पतालमा अवैध रुपमा मृगौला (किड्नी) प्रत्यारोपण गराउने कार्यमा संलग्न भएको आरोपमा सिन्धुपाल्चोकका ३८ वर्षीय श्याम कृष्ण भण्डारी र २९ वर्षीय सुजन भारती पक्राउ परेका हुन् । श्यामकाे सहयाेगीका रूपमा काम गर्दै आएका सुजन आफैंले पनि किड्नी बेचेकाे र एकजना ग्राहक बापत ४० हजार लिने गरेकाे उनले वयान दिएकाे नेपाल प्रहरीबाट जारी विज्ञप्तिमा जनाईएकाे छ ।
प्रहरी मानव बेचबिखन अनुसन्धान ब्युरोले प्राप्त सूचनाका आधारमा अनुसन्धान गर्दा उनीहरुले लामो समयदेखि आर्थिक लोभ देखाएर व्यक्तिलाई भारत पुर्याई किड्नी प्रत्यारोपण गराउँदै आएको तथ्य फेला परेको हो । ब्युरोले सञ्चारमाध्यममा सार्वजनिक जानकारी र अनुसन्धानबाट प्राप्त प्रमाणको आधारमा भण्डारी र भारतीलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ ।
‘अपरेसन लाइफ शिल्ड’ अभियान
मानव अंग तस्करी नियन्त्रणका लागि ब्युरोले सञ्चालन गरेको ‘अपरेसन लाइफ शिल्ड’ अभियान अन्तर्गत गत असारदेखि नै विशेष निगरानी र गोप्य अनुसन्धान अघि बढाइएको थियो । अनुसन्धान क्रममा नेपालका सिन्धुपाल्चोक, सिन्धुली, मकवानपुर, चितवनलगायत जिल्लाबाट मानिसहरुलाई आर्थिक प्रलोभनमा पारी भारत लैजान खोजिएको पुष्टि भएको हो ।
भारतसम्मको संलग्नता
अनुसन्धानमा संलग्न टोलीका अनुसार, पीडितलाई दिल्ली लगेर विभिन्न निजी अस्पताल तथा क्लिनिकमार्फत अवैध रुपमा किड्नी प्रत्यारोपण गर्ने कार्य हुँदै आएको देखिएको छ । यसक्रममा पक्राउ परेकाले मृगौला तस्करीको सम्पूर्ण प्रक्रिया व्यवस्थित गर्ने काम गर्दै आएको समेत खुलेको छ । उनीहरुले मृगौला दातालाई दिल्लीसम्म पु¥याएर बसोबास, खानपान, अस्पताल प्रवेशदेखि प्रत्यारोपणसम्मको सम्पूर्ण व्यवस्थापन गरेको पाइएको छ ।
प्रहरीले अवैध मानव अंग प्रत्यारोपणमा संलग्न हुने व्यक्तिलाई कडा कारबाही गरिने चेतावनी दिएको छ । साथै, रोजगारी वा आर्थिक प्रलोभनमा परेर विदेश जाने क्रममा यस्ता गिरोहको शिकार नबन्न सबैलाई सचेत रहन अपिल गरेको छ ।
पक्राउ परेका दुईजनाविरुद्ध आवश्यक कानुनी कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ ।
स्केच स्राेत: नेपाल प्रहरी


Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment