विश्व वातावरण दिवस: जलवायु परिवर्तनका कारण दक्षिण–पूर्वी एशियामा स्वास्थ्य संकट गहिरिँदै


अ+
अ-

काठमाडौं, जेठ २२ । आज विश्व वातावरण दिवस ।तराईका १६ जिल्लामा तातो दिन र मध्यम तातो लहरको जोखिम, सतर्कता अपनाउन मौसम विभागको आग्रह गरेकाे अवस्था छ । हिजाे जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले देशका तराई क्षेत्रका विभिन्न जिल्लामा आगामी तीन दिनसम्म तातो दिन (हट डे) तथा मध्यम तातो लहर (हिट वेभ) जारी रहने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको हाे।
महाशाखाले हिजाे बिहान जारी गरेको ‘तातो दिन तथा तातो लहरसम्बन्धी विशेष बुलेटिन–४’ अनुसार मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानमा जेठ १९ गतेयता अधिकतम तापक्रम ३७ डिग्री सेल्सियस वा सोभन्दा बढी मापन भइरहेको छ। लुम्बिनी प्रदेशका तराईका एक–दुई स्थानमा अधिकतम तापक्रम ४१ डिग्री सेल्सियसभन्दा माथि पुगेको उल्लेख गरिएको छ।
महाशाखाका अनुसार हिजाे आज र भाेलि तीन दिन कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस वा सोभन्दा बढी पुग्न सक्ने सम्भावना छ। विशेषगरी मधेश र लुम्बिनी प्रदेशका तराईका धेरै स्थानमा मध्यम तातो लहरको अवस्था रहने सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ।
बुलेटिनमा बाँके, बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी (पश्चिम), पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा र सप्तरी जिल्लालाई ‘सतर्क रहनुहोस्’ (Be Prepared) श्रेणीमा राखिएको छ। त्यस्तै कञ्चनपुर, कैलाली, नवलपरासी (पूर्व), चितवन, सुनसरी, मोरङ र झापालाई ‘अद्यावधिक रहनुहोस्’ (Be Updated) श्रेणीमा समावेश गरिएको छ।
मौसमविद्हरूका अनुसार तातो हावा तथा तातो लहरका कारण थकान लाग्ने, कमजोरी हुने, अत्यधिक तिर्खा लाग्ने, टाउको दुख्ने, चक्कर आउने, बेहोस हुने, मांसपेशी बाउँडिने तथा स्वास्थ्यमा अन्य प्रतिकूल असर देखिन सक्छ।
महाशाखाले सर्वसाधारणलाई दिनको अत्यधिक गर्मी हुने समयमा सकेसम्म घरभित्र वा चिसो स्थानमा बस्न, अनावश्यक रूपमा घाममा ननिस्किन, हल्का र सुतीका कपडा लगाउन, बाहिर निस्कँदा टाउको छोप्न तथा प्रशस्त मात्रामा पानी र झोल पदार्थ सेवन गर्न सुझाव दिएको छ।
यसैगरी, मौसमसम्बन्धी पछिल्ला जानकारी तथा बुलेटिनहरू नियमित रूपमा हेर्न र आवश्यक सावधानी अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ।
उता, विश्व वातावरण दिवसका अवसरमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) दक्षिण–पूर्वी एशिया क्षेत्रीय कार्यालयले जलवायु परिवर्तनले स्वास्थ्य क्षेत्रमा गम्भीर र तीव्र असर पारिरहेको भन्दै अब सचेतना मात्र नभई ठोस कार्यान्वयनमा केन्द्रित हुनुपर्ने आवश्यकता औंल्याएको छ।
डब्लुएचओ दक्षिण–पूर्वी एशियाकी कार्यवाहक प्रमुख डा. क्याथारिना बोएमेले विश्व वातावरण दिवसका अवसरमा जारी सन्देशमा दक्षिण–पूर्वी एशिया क्षेत्रमा जलवायु परिवर्तनका कारण हुने वार्षिक मृत्यु संख्या विश्व स्वास्थ्य संगठनका अन्य क्षेत्रहरूको तुलनामा सबैभन्दा बढी रहेको बताएकी छन्।
उनका अनुसार वायु प्रदूषणका कारण हरेक वर्ष लाखौं मानिसको ज्यान जाने गरेको छ भने बढ्दो गर्मीका लहर (हिटवेभ) ले रोग र मृत्यु दर थप बढाइरहेको छ। साथै, चरम मौसमी घटनाले स्वास्थ्य पूर्वाधारमा क्षति पुर्‍याउने, पानी तथा कीटजन्य रोगको प्रकोप निम्त्याउने, लाखौं मानिसलाई विस्थापित गर्ने तथा स्वास्थ्य सामग्री आपूर्ति प्रणालीमा अवरोध सिर्जना गर्ने गरेको छ। खाद्य तथा पोषण असुरक्षा र मानसिक स्वास्थ्यसम्बन्धी जोखिम पनि बढ्दै गएको उनले उल्लेख गरेकी छन्।
यस वर्षको विश्व वातावरण दिवस ‘क्लाइमेट एक्सन’ अर्थात् ‘जलवायु कार्य’ भन्ने नारासहित मनाइँदैछ। डा. बोएमेले अब समस्या पहिचान र सचेतनामै सीमित नरही समाधानका लागि प्रभावकारी कार्यान्वयनमा केन्द्रित हुनुपर्ने बताएकी छन्।
डब्लुएचओका अनुसार दक्षिण–पूर्वी एशियाली देशहरूले जलवायु परिवर्तनका असर न्यूनीकरण तथा स्वास्थ्य प्रणालीलाई थप उत्थानशील बनाउन महत्वपूर्ण कदमहरू चालिसकेका छन्।
सन् २०१७ मा जारी ‘माले घोषणापत्र’ मार्फत सदस्य राष्ट्रहरूले जलवायु परिवर्तनप्रति स्वास्थ्य प्रणालीलाई सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए। त्यसलाई कार्यान्वयन गर्न क्षेत्रीय कार्यढाँचा (२०१७–२०२७) तथा स्वास्थ्य, वातावरण र जलवायु परिवर्तनसम्बन्धी विश्वव्यापी रणनीति कार्यान्वयनका लागि १० वर्षे क्षेत्रीय कार्ययोजना सञ्चालनमा रहेको छ।
हालसम्म दक्षिण–पूर्वी एशियाका सात सदस्य राष्ट्रहरूले स्वास्थ्य राष्ट्रिय अनुकूलन योजना (एचएनएपी) तयार गरिसकेका छन्। अधिकांश देशहरूले स्वास्थ्य कार्यक्रमहरूमा जलवायु सम्बन्धी विषयलाई समावेश गरेका छन् भने बहुक्षेत्रीय समन्वय संयन्त्र स्थापना गरेका छन्। सात देशहरूले जलवायु–उत्थानशील तथा न्यून कार्बन उत्सर्जनयुक्त स्वास्थ्य प्रणाली निर्माण गर्ने प्रतिबद्धता पनि जनाएका छन्।
यद्यपि, पर्याप्त वित्तीय स्रोतको अभाव, आवश्यक प्रविधि तथा उपकरणको कमी, स्वास्थ्य क्षेत्रका अन्य प्राथमिकतासँगको प्रतिस्पर्धा तथा कमजोर अनुसन्धान र तथ्यगत आधार अझै चुनौतीका रूपमा रहेको डब्लुएचओले जनाएको छ। विशेषगरी जोखिममा रहेका समुदायहरूको संरक्षणका लागि थप अनुसन्धान र प्रमाणमा आधारित नीतिको आवश्यकता औंल्याइएको छ।
डब्लुएचओले सरकारहरूलाई स्वास्थ्य राष्ट्रिय अनुकूलन योजनाको कार्यान्वयनलाई तीव्रता दिन, स्वास्थ्य, वातावरण, पानी, कृषि तथा विपद् व्यवस्थापन क्षेत्रबीच समन्वय बढाउन तथा स्वास्थ्य प्रणालीका सबै तहमा जलवायु जोखिम मूल्यांकनलाई अनिवार्य बनाउन आग्रह गरेको छ। साथै, अन्तर्राष्ट्रिय वित्तीय स्रोतहरू, जस्तै ग्रीन क्लाइमेट फन्ड, ग्लोबल इन्भाइरोन्मेन्ट फेसिलिटी, एडाप्टेसन फन्ड तथा ‘लस एन्ड ड्यामेज’ कोषको अधिकतम उपयोग गर्न पनि सुझाव दिएको छ।
डा. बोएमेले स्थानीय समुदाय, युवा तथा आदिवासी ज्ञानका धनी व्यक्तिहरूलाई जलवायु समाधानका अग्रणी साझेदारका रूपमा स्वीकार गर्नुपर्नेमा जोड दिएकी छन्।
“स्वस्थ वातावरण नै स्वस्थ समाजको आधार हो, र जलवायु कार्य भनेको स्वास्थ्यको संरक्षण पनि हो,” उनले भनिन्, “अब बोल्ने होइन, कार्य गर्ने समय आएको छ।”

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
NewaTimes

More from NewaTimes

Explore more articles by this author
उच्चस्तरीय अन्तर-व्यवस्थापिका सम्मेलन शनिबारदेखि टीकापुरमा

उच्चस्तरीय अन्तर-व्यवस्थापिका सम्मेलन शनिबारदेखि टीकापुरमा

उच्चस्तरीय अन्तर-व्यवस्थापिका सम्मेलन शनिबारदेखि टीकापुरमा...

विश्व वातावरण दिवस: विद्या राईलाई वातावरण पत्रकारिता पुरस्कार–२०२५

विश्व वातावरण दिवस: विद्या राईलाई वातावरण पत्रकारिता पुरस्कार–२०२५

विश्व वातावरण दिवस: विद्या राईलाई वातावरण पत्रकारिता पुरस्कार–२०२५...

मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा  घरमै बसेर लिन सकिने

मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा घरमै बसेर लिन सकिने

मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा घरमै बसेर लिन सकिने...

दक्षिण एशियामा विपद् जोखिम न्यूनीकरणका लागि समुदायमा लगानी बढाउनुपर्नेमा जोड

दक्षिण एशियामा विपद् जोखिम न्यूनीकरणका लागि समुदायमा लगानी बढाउनुपर्नेमा जोड

दक्षिण एशियामा विपद् जोखिम न्यूनीकरणका लागि समुदायमा लगानी बढाउनुपर्नेमा जोड...

मोदी–रवि भेटवार्ता : नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सहकार्य गर्ने प्रतिबद्धता

मोदी–रवि भेटवार्ता : नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सहकार्य गर्ने प्रतिबद्धता

मोदी–रवि भेटवार्ता : नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सहकार्य गर्ने प्रतिबद्धता...

रास्वपाका सभापति रवि लामिछानेद्वारा भाजपाको शीर्ष नेतृत्वसँग भेटवार्ता

रास्वपाका सभापति रवि लामिछानेद्वारा भाजपाको शीर्ष नेतृत्वसँग भेटवार्ता

रास्वपाका सभापति रवि लामिछानेद्वारा भाजपाको शीर्ष नेतृत्वसँग भेटवार्ता...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्