स्वास्थ्य मन्त्री डा. सुधा शर्माले एन्टिबायोटिक दुरुपयोग रोक्न जिम्मेवार व्यवहार अपनाउन आग्रह
काठमाडौं, मंसिर २ । विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (मंसिर २ देखि ८ गते) को अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्माले एन्टिबायोटिक तथा अन्य एन्टिमाइक्रोबियल औषधिको जथाभावी प्रयोगले गम्भीर स्वास्थ्य जोखिम पैदा भएको बताउँदै यसलाई रोक्न सबै नागरिक जिम्मेवार बन्नुपर्ने आग्रह गरेकी छन्।
भिडियो सन्देश जारी गर्दै मन्त्री शर्माले नेपालमा चिकित्सकको निर्देशनबिना एन्टिबायोटिक सेवनको प्रवृत्ति बढ्दै गएको, पशुपालन र खाद्य उत्पादनमा पनि अनियन्त्रित रूपमा यस्ता औषधिको प्रयोग भएको तथा त्यसले “एन्टिमाइक्रोबियल रेसिस्टेन्स (एएमआर)” थप गम्भीर बन्दै गएको बताइन्।
“कति अवस्थामा सामान्य औषधिले नछोएर बिमारी जटिल बन्छ, किनभने एन्टिबायोटिक दुरुपयोगले काम गर्न छोडिदिन्छ। अस्पतालमा उपचारका क्रममा समेत धेरै बिरामीहरूमा सामान्य औषधिले नै असर नगर्ने अवस्था देखिन थालेका छन्,” मन्त्री शर्माले भनिन्।
उनका अनुसार, अनावश्यक रूपमा औषधि किनेर खाने, अधूरो डोज छोड्ने, पशुपन्छीको आहारमा वा खाद्य सामग्रीमा एन्टिबायोटिक मिसावट हुनुजस्ता कारणले प्रतिरोधी जीवाणु विकास भई भविष्यमा साधारण संक्रमण निको पार्न कठिन बन्ने खतरा बढेको छ।
“चिकित्सकले लेखेको औषधि मात्र, त्यो पनि पूरा डोजमा मात्र सेवन गर्नुपर्छ। जथाभावी औषधि प्रयोग गर्न छोडेर हामी सबैले जिम्मेवार नागरिकको भूमिका खेल्नुपर्छ,” उनले भनिन्।
एन्टिबायोटिक प्रतिरोध कम गर्न समुदायस्तरमै सचेतना बढाउनुपर्ने उल्लेख गर्दै मन्त्री शर्माले घर–परिवार, विद्यालय, स्वास्थ्य संस्था सबै तहबाट जानकारी विस्तार गर्न आग्रहसमेत गरिन्।
“हामी सबैको सानो सानो व्यवहारले नै देशभर प्रतिजैविक प्रतिरोध नियन्त्रणमा ठूलो योगदान दिन सक्छ,” मन्त्री शर्माले भनिन्।
सन्देशको अन्त्यमा उनले देशभरका नागरिकहरूलाई सुस्वास्थ्यको शुभकामना दिँदै प्रतिजैविक दुरुपयोग रोक अभियानमा सक्रिय सहभागी बन्न आह्वान गरिन्।
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment