काठमाडौँमा दोस्रो विश्व तथा तेस्रो राष्ट्रिय जलन (बर्न) सप्ताह मनाइयो
काठमाडौँ, कार्तिक १८ । दोस्रो विश्व तथा तेस्रो राष्ट्रिय जलन (बर्न) सप्ताहको अवसरमा सिविन नेपाल र नेपाल बर्न फाउन्डेशनले पब्लिक हेल्थ कन्सर्न ट्रस्ट (फेक्ट- नेपाल)को सहकार्यमा संयुक्त रूपमा अभिमुखीकरण कार्यक्रम आयोजना गरेका छन्।
भर्चुअल माध्यमबाट सम्पन्न उक्त कार्यक्रममा देशका विभिन्न जिल्लाबाट बाल संरक्षणका अग्रपंक्तिका कार्यकर्ता, स्वास्थ्यकर्मी, किशोर–किशोरी, नागरिक समाजका प्रतिनिधि तथा विभिन्न सञ्जालका सदस्य गरी १५० भन्दा बढी सहभागीहरू उपस्थित थिए।
कार्यक्रममा विश्वप्रसिद्ध क्लेफ्ट र जलन उपचार विशेषज्ञ डा. शंकर मान राईले ‘जलन रोकथाम र उपचार’ विषयमा प्रस्तुति दिएका थिए। उनले जलन (बर्न) उपचारको कठिनाइ आर्थिक पक्ष मात्र नभई दक्ष जनशक्तिको अभावका कारण पनि हुने बताउँदै काठमाडौँमा केन्द्रीय बर्न उपचार केन्द्र र अन्य प्रदेशहरूमा स्याटेलाइट केन्द्र स्थापना गर्न आवश्यक रहेको औंल्याए।
डा. राईका अनुसार नेपालमा हुने करिब ८० प्रतिशत बर्न पीडित महिला र बालबालिका हुन्, जसले यो समस्या संवेदनशील समूहमा बढी प्रभाव पार्ने देखाउँछ। उनले बच्चामा हुने जलनमध्ये तातो पानी वा पदार्थका कारण हुने जलन सबैभन्दा सामान्य भएको बताउँदै, चिसो पानीले तुरुन्त धुने उपाय नै सबैभन्दा प्रभावकारी प्राथमिक उपचार भए पनि धेरैलाई यसको जानकारी नहुने तथ्य बताए ।
कार्यक्रमका सहभागीहरूले शारीरिक, मानसिक, सामाजिक र आर्थिक पक्षबाटै जलन रोकथाममा सहकार्य आवश्यक रहेको निष्कर्ष निकाले। उनीहरूले डा. राईसँग प्रत्यक्षरूपमा प्रश्नोत्तर र अनुभव आदानप्रदान गर्ने अवसर पनि पाए।
कार्यक्रमका प्रमुख अतिथि बाल अधिकार परिषद्का उपाध्यक्ष बमबहादुर बानियाँले बालबालिकाको सुरक्षाका लागि जलन रोकथामबारे सचेतना अभियान निरन्तर गर्नुपर्नेमा जोड दिए।
हरेक वर्ष नोभेम्बर ३ देखि ८ सम्म बर्न सप्ताह मनाइन्छ, जसको उद्देश्य जलनका जोखिम, रोकथाम र उपचारबारे जनचेतना जगाउनु हो।
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment