काठमाडौंमा सांस्कृतिक तथा सिर्जनशील अर्थतन्त्रबारे छलफल
काठमाडौं, भदाै ९ । नेपालमा सांस्कृतिक तथा सिर्जनशील उद्योगलाई रोजगारीमूलक र दिगो अर्थतन्त्रको आधार बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन्। युनेस्को, अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) र ब्रिटिश काउन्सिलले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहकार्यमा सोमबार राजधानीमा आयोजना गरेको “सांस्कृतिक तथा सिर्जनशील अर्थतन्त्र सरोकारवाला फोरम” मा यस्तो धारणा व्यक्त भएको हो।
कार्यक्रममा काठमाडौं उपत्यकाको सांस्कृतिक तथा सिर्जनशील उद्योगको आधाररेखा प्रतिवेदन सार्वजनिक गरियो। प्रतिवेदनअनुसार उपत्यकामा ८४ प्रतिशत सिर्जनशील उद्यमी ४५ वर्षमुनिका छन् भने सन् २०२३ मा मात्र नेपाली हस्तकलाको निर्यात १२ अर्ब रुपैयाँ पुगेको छ। प्रतिवेदनले यस क्षेत्रमा युवाको योगदान महत्वपूर्ण रहेको देखाएको छ।
संस्कृति मन्त्री वद्रीप्रसाद पाण्डेले २०१० को सांस्कृतिक नीतिलाई अद्यावधिक गर्ने तयारी भइरहेको जानकारी दिए। उनले सिर्जनशील उद्योगलाई सम्बद्ध अभ्यासकर्ताको आवश्यकताअनुरूप बनाउन नीतिहरू परिमार्जन गरिने बताए।
कार्यक्रममा युनेस्को, ब्रिटिश काउन्सिल र ILO का प्रतिनिधिहरूले सिर्जनशील उद्योगले रोजगारी सिर्जना, महिला तथा युवाको सशक्तिकरण र दिगो विकासमा योगदान पुर्याउने सम्भावना औंल्याए। हस्तकला क्षेत्रका सरोकारवालाले बजार र वित्तीय पहुँच, कच्चा पदार्थको उत्पादन तथा प्रमाणिकरणमा देखिएका चुनौतीबारे ध्यानाकर्षण गराउँदै यसलाई शैक्षिक पाठ्यक्रममा समावेश गर्नुपर्ने सुझाव पनि दिए।
प्रतिवेदन संस्कृति मन्त्री पाण्डे, काठमाडौं महानगरकी उप–प्रमुख सुनिता डंगोल र ललितपुर महानगरको प्रतिनिधिलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको थियो। सरोकारवालाले आगामी दिनमा सरकार, निजी क्षेत्र र अन्तर्राष्ट्रिय निकायबीच सहकार्य गर्दै सिर्जनशील अर्थतन्त्रलाई समावेशी र दिगो बनाउन प्रतिबद्धता जनाएका छन्।
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment