असोज ९ देखि ११ गतेसम्म देशभर वर्षाको सम्भावना, केही ठाउँमा भारीदेखि अति भारी वर्षा
काठमाडौं, असोज ६। नेपालमा आगामी असोज ९ गते शुक्रबारदेखि ११ गते आइतबारसम्म मनसुन थप सक्रिय हुने भएकाले देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागको मौसम पूर्वानुमान महाशाखाले मंगलबार जारी गरेको विशेष मौसम बुलेटिन–३ अनुसार उक्त अवधिमा गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित भारीदेखि धेरै भारी वर्षा तथा एक–दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ।
त्यस्तै मधेश प्रदेश तथा कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित भारीदेखि धेरै भारी वर्षा र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने विभागले जनाएको छ। देशका अधिकांश स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
विभागका अनुसार उत्तर अण्डमान सागर र आसपासको क्षेत्रमा विकसित न्यून चापीय क्षेत्र हाल बंगालको खाडीको मध्य भाग आसपासमा रहेको छ। उक्त प्रणाली थप शक्तिशाली बन्दै बलियो न्यून चापीय क्षेत्र (Deep Depression) भई पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्दै गएको र यसको प्रभावले बुधबारदेखि कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि बढ्दै जाने देखिएको छ।
सम्भावित वर्षाका कारण भू–क्षय, बाढी, पहिरो तथा गेग्रान बहाव (डेब्रिज फ्लो) को जोखिम बढ्न सक्ने विभागले जनाएको छ। विशेषगरी शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम, ठूला तथा साना नदी–नालामा पानीको सतह बढ्ने तथा दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी आसपासका निर्माण कार्य, सडक र हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।
विभागले सम्बन्धित निकायलाई पूर्वतयारी तथा आवश्यक प्रतिकार्यका लागि तयारी अवस्थामा रहन अनुरोध गरेको छ। साथै मनसुन प्रणालीको निरन्तर अनुगमन भइरहेको र सोहीअनुसार मौसमसम्बन्धी सूचना नियमित रूपमा अद्यावधिक गरिने जनाएको छ।
विभागले सर्वसाधारणलाई मौसम पूर्वानुमान तथा बाढीसम्बन्धी नियमित सूचना हेर्न र सम्भावित जोखिमप्रति सतर्क रहन आग्रह गरेको छ।
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment