सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त, आजै शपथ लिइन्

काठमाडौं, भदाै २७ । राष्ट्रपति कार्यालय शितल निवासमा आज पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त हुनुकाे साथै पद तथा गाेपनीयताकाे शपथ ग्रहण गरेकी छन्।
राष्ट्रपति रामचन्द्र पाैडेलबाट प्रधानमन्त्री सुशीला कार्कीले सपथ ग्रहण गरेकी हुन्। छ महिनाभित्र प्रतिनिधि सभाकाे चुनाव गराउने गरि प्रधानमन्त्री कार्कीलाई पद तथा गाेपनीयताकाे शपथ गराइएको थियाे । प्रधानमन्त्री सुशीला कार्की नेपालकाे इतिहासकै पहिलाे महिला प्रधानमन्त्री भएकी छन् ।
गत भदाै २३ र २४ गते भएकाे जेन-जी युवाहरूको भीषण आन्दोलनबाट पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेपालकाे इतिहासकै पहिलाे महिला प्रधानमन्त्री भएकी हुन् ।
तथापि राष्ट्रपति रामचन्द्र पौडेल र जेन-जी युवाहरूबाट प्रधानमन्त्रीमा प्रस्तावित पूर्वप्रधानन्यायाधीश कार्कीबीच कसको सिफारिसमा संसद भंग गर्ने भन्नेबारे कुरा मिल्न नसकेपछि प्रधानमन्त्री नियुक्तिमा विलम्ब भइरहेको थियो।
अन्तिम समयमा आएर आफू प्रधानमन्त्री नियुक्त भएपछि पहिलो मन्त्रिपरिषद बैठकको सिफारिसमा प्रतिनिधिसभा विघटन गर्न पूर्वप्रधानन्यायाधीश सुशीला कार्की सहमत भएकी हुन्।
राष्ट्रपति पौडेलले कार्की प्रधानमन्त्री नियुक्त भएपछि प्रधानमन्त्रीबाट तथा पहिलो मन्त्रिपरिषद बैठकबाटै संसद विघटन गराउन चाहेका थिए भने आन्दोलनरत जेन-जीका प्रतिनिधिहरू संसद विघटन गरेर मात्र अन्तरिम सरकार गठन हुने मागमा अडिग रहे। त्यही आधारमा वार्ता लम्बिँदै गर्दा प्रधानमन्त्री नियुक्तिमा ढीलाई भएकाे थियो।
नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको शपथ ग्रहण समारोहमा जेन-जी आन्दोलनका कारण प्रधानमन्त्री पद गुमाएका केपी शर्मा ओली देखिएनन् । यस्तै पूर्वप्रधानमन्त्री प्रचण्ड, शेरबहादुर देउवा, माधव नेपाल र झलनाथ खनाल पनि देखिएनन् । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल पनि अनुपस्थित थिए ।
तर पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भने सहभागी भएका थिए । यस्तै उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित, मुख्यसचिव, कूटनीतिक नियोगका पदाधिकारीलगायत सहभागी भए ।
काे हुन् सुशीला कार्की ?
बलियो कानूनी पृष्ठभूमि, राजनीतिक सुझबुझ, स्पष्टवक्ता, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति र परिपक्वताले गर्दा प्रधानमन्त्रीका लाग धेरै युवाहरुको रोजाइमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्की परेकी हुन् । कार्कीले प्रधानन्यायाधीश पदमा छँदा निष्पक्ष र सन्तुलित भूमिका निर्वाह गरेकी थिइन् । धेरैले उनलाई निर्भिक न्यायमूर्तिका रुपमा चिन्ने गर्छन् ।
सुशीला कार्की नेपालको सर्वाेच्च अदालतको पहिलो महिला प्रधानन्यायधीश हुन् । उनले २०७३ साल असार २७ गतेदेखि २०७४ जेठ २४ गतेसम्म यो पद सम्हालेका थिइन् ।
उनको जन्म २००९ जेठ २५ मा मोरङ, विराटनगरको शङ्खरपुरमा भएको हो । सात सन्तानमध्ये जेठी छोरीका रूपमा जन्मिएकी कार्कीको परिवार किसानी पृष्ठभूमिको थियो भने बीपी कोइरालाको परिवारसँग नजिकको सम्बन्ध थियो। सुशीलका पति दुर्गा सुबेदी प्रजातान्त्रिक सेनानी हुन् ।
सुशीलाले महेन्द्र मोरङ क्याम्पसबाट २०२८ सालमा बीए र बनारस हिन्दू विश्वविद्यालयबाट २०३१ सालमा राजनीतिशास्त्रमा एमए गरिन् । त्यसपछि त्रिभुवन विश्वविद्यालयबाट २०३४ सालमा कानुनमा स्नातक उपाधि हासिल गरेकी छिन् ।
उनको करिअर शिक्षण पेशाबाट सुरु भएको थियो । उनले २०४२ देखि २०४६ सालसम्म महेन्द्र बहुमुखी क्याम्पस, धरानमा प्राध्यापन गरिन् ।
२०३५ सालमा वकालत सुरु गरेकी उनले विराटनगरको पुनरावेदन अदालतमा बार अध्यक्षको जिम्मेवारीसमेत सम्हालिन् । २०६१ मा वरिष्ठ अधिवक्ता बनेकी कार्की २०६५ सालमा सर्वोच्च अदालतको अस्थायी न्यायाधीश बनिन् । २०६७ मा उनी स्थायी न्यायाधीश भइन् ।
२०७३ सालमा प्रधानन्यायाधीश नियुक्त भएकी सुशीलाले आफ्नो कार्यकालमा भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति लिएकी थिइन् । उनको कार्यकालमा तत्कालीन सूचना तथा सञ्चारमन्त्री जयप्रकाश प्रसाद गुप्तालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरिएको थियो । त्यसअघि उनले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध बोल्ड फैसला गरेकी थिइन् ।
कार्कीको कार्यकाल निर्विवाद भने रहेन । उनी प्रधानन्यायाधीश बनेको १० महिनापछि तत्कालीन सत्तारुढ दल माओवादी र कांग्रेसले कार्कीले क्षेत्राधिकार नाघेर फैसला गरेको भन्दै उनीविरुद्ध महाअभियोग दर्ता गरेका थिए । तर, त्यो सफल भएन ।
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment