लेहेन्दे खोलाबाट शुरू भयाे बाढी: बाढी प्रभावितको हेलिकोप्टरबाट उद्धार गर्न प्राधिकरणको निर्देशन
काठमाडौं, भदाै १०। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित तथा उद्धार आवश्यक पर्ने व्यक्तिको हेलिकोप्टरबाट तत्काल उद्धार गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ।
प्राधिकरणले रसुवा, नुवाकोट, गोरखा, धादिङ र चितवनका जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाउँदै भोटेकोशी नदीमा आएको बाढीका कारण भोटेकोशी र त्रिशूली नदी तटीय क्षेत्रका विभिन्न स्थानमा प्रभावित भएका व्यक्तिहरूलाई हेलिकोप्टरबाट खोज तथा उद्धार गर्नुपर्ने अवस्था आएमा आवश्यक निर्णय गरी उद्धारको व्यवस्था मिलाउन आग्रह गरेको हो।
प्रकाेप पूर्वतयारी सञ्जाल, डिपिनेटका अध्यक्ष बसन्त राज अधिकारीका अनुसार नेपाल तर्फ लेहेन्दे खोलामा हिमनदीको एउटा ठूलो हिस्सा छुट्टिएर खसेपछि खोलाको बहाव रोकिएको थियो र पछि त्यो अवरोध फुटेर बगेको हो। जोखिम भने अझै कायम छ। कामकाे सिलसिलामा चीनमै रहेका अध्यक्ष अधिकारीले चिनियाँ विपद विज्ञहरूसँग छलफल भईरहेकाे बताएका छन् ।
प्राधिकरणका अनुसार प्रभावितको उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर प्रयोग गर्नुपर्ने भए सम्बन्धित जिल्लाका नेपाली सेनाको टिमसँग समन्वय गर्नुपर्नेछ। निजी हेलिकोप्टर आवश्यक पर्ने अवस्थामा प्राधिकरणले उपलब्ध गराएको सम्पर्कमार्फत तत्काल समन्वय गरी हेलिकोप्टर उद्धारको व्यवस्था मिलाउन भनिएको छ।
प्राधिकरणले जिल्ला सुरक्षा समितिको आवश्यक निर्णयअनुसार उद्धार कार्यलाई प्राथमिकता दिन सम्बन्धित प्रशासन कार्यालयहरूलाई आग्रह गरेको छ।
पत्रमा उद्धारका क्रममा आवश्यकताअनुसार नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलसँग समन्वय गर्नुपर्ने उल्लेख छ। प्राधिकरणले नेपाली सेना, नेपाल प्रहरी प्रधान कार्यालय, सशस्त्र प्रहरी बल प्रधान कार्यालय तथा एयरलाइन्स अपरेटर एसोसिएसन अफ नेपाललाई समेत पत्रको बोधार्थ पठाएको छ।
भोटेकोशी र त्रिशूली नदी आसपासका क्षेत्रमा बाढी तथा नदीको बहावका कारण जोखिम बढेकाले प्रभावितलाई सुरक्षित स्थानमा सार्न र आवश्यक परे तत्काल हवाई उद्धार गर्न प्राधिकरणले विशेष जोड दिएको छ।
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment