प्रधानमन्त्री कार्यालय परिसरमा सञ्चारकर्मी अवरोध गरिएको भन्ने समाचार असत्य: सचिवालय
काठमाडौं, वैशाख २१ । प्रधानमन्त्री कार्यालय परिसरमा सञ्चारकर्मीहरूलाई भिडियो खिच्न अवरोध गरिएको भन्ने विषयमा आएका समाचारप्रति प्रधानमन्त्रीको सचिवालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। सचिवालयले उक्त दाबी असत्य भएको स्पष्ट पार्दै वास्तविक वस्तुस्थिति सार्वजनिक गरेको छ।
सचिवालयका अनुसार प्रधानमन्त्री वालेन्द्र शाह कार्यालय प्रवेश गर्ने क्रममा परिसरमा सवारी साधनको अत्यधिक भीड देखिएपछि व्यवस्थापन र सुरक्षा सतर्कताबारे सुरक्षाकर्मीसँग सामान्य जिज्ञासा राख्नुभएको थियो। उक्त चासो केवल सवारी व्यवस्थापन र प्रशासनिक सहजतासँग सम्बन्धित रहेको जनाइएको छ। प्रधानमन्त्रीले सञ्चारकर्मीलाई भिडियो खिच्न रोक्न वा कार्यक्षेत्रबाट हटाउन कुनै निर्देशन नदिएको सचिवालयले प्रष्ट पारेको छ।
यद्यपि, प्रधानमन्त्री कार्यकक्षमा प्रवेश गरिसकेपछि सुरक्षामा खटिएका केही सुरक्षाकर्मीले गेट क्षेत्रमा रहेका सञ्चारकर्मीलाई हट्न भनेको भन्ने गुनासो प्राप्त भएको सचिवालयले जनाएको छ। सो विषयमा तत्काल समन्वय गरी सञ्चारकर्मीहरूलाई उपलब्ध गराइएको पहुँचमा कुनै कटौती वा निषेध नगरिएको जानकारी गराइएको उल्लेख गरिएको छ।
सचिवालयले जहाँ सञ्चारकर्मीलाई सूचना संकलन र रिपोर्टिङका लागि अनुमति छ, त्यहाँ कुनै अवरोध नभएको र भविष्यमा पनि नहुने स्पष्ट गरेको छ। साथै, सुरक्षा र व्यवस्थापनसँग जोडिएका प्राविधिक विषयलाई प्रेसमाथिको ‘अंकुश’ वा ‘अवरोध’का रूपमा अतिरञ्जित नगर्न आग्रह गरिएको छ।
सरकार प्रेस स्वतन्त्रता, नागरिकको सूचनाको हक तथा संविधानप्रति पूर्ण प्रतिबद्ध रहेको जनाउँदै सञ्चार क्षेत्रसँग सहकार्य, पारदर्शिता र सुमधुर सम्बन्ध कायम राख्ने प्रतिबद्धता दोहोर्याइएको छ।
उक्त जानकारी प्रधानमन्त्रीको सचिवालयकी प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले जारी गरेको प्रेस नोटमार्फत दिइएको हो।
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment