स्याङ्जाका नेवार


अ+
अ-

यात्रुहरू झर्न थालेपछि जीप गन्तव्य पुगेको छनक पाइयो। तनहुँको दुलेगौंडाबाट सेतीगण्डकी तरेर स्याङ्जाको सालडाँडा, हटिया आइपुगेका थियौं हामी। हटिया, मानन्धर थरका नेवारहरूको आवादी रहेको बस्ती। तर, त्यहाँ नेवार बस्तीको मानक दृश्य नै पाइएन। नेवार वास्तुकलायुक्त घर–बस्ती सबै ठाउँमा नहोलान्, तर दैलोमा ‘पिखालखु’ पूजा गरिनु साझा संस्कृति हो। यसबारे स्थानीय मित्र भेषराज मानन्धरलाई जिज्ञासा राख्दा जवाफ आयो, “यहाँ त्यस्तो चलन छैन।”
जीपमा ड्राइभर बाहेक ६ जना यात्रु अट्ने अगाडिको भागमा केटाकेटी सहित १२ जना कोचिएका थियौं हामी। तिनमा बच्चा र आमा गरी दुई जना मात्र नेवार–इतर थिए। दुलेगौंडामा जीप नगुड्दै मैले पत्तो पाइसकेको थिएँ, यहाँका नेवार मातृभाषा बोल्दैनन्, नेपाली मात्रै बोल्छन्। नेपालभाषामा नातागोतालाई सम्बोधन गरिने निनि (फुपू), पाजु (मामा), मल्जु (माइजू), अजा (हजुरबुबा), अजि (हजुरआमा) जस्ता शब्द भने प्रयोग गर्दा रहेछन्। महिलाले नाक नछेड्ने परम्परा पनि कायमै राखेका रहेछन्। 
स्याङ्जाको हरिनास गाउँपालिका तनहुँसँग जोडिएको छ। यहाँ अन्य नेवारको पनि बसोबास पाइन्छ। सालडाँडा हटिया, क्याक्मी, गिरेकोट हटिया, बलिकोट हटिया, गुजर लगायत गाउँमा मानन्धरका मात्रै पाँच सय घरधुरी छन्। त्यस भेगका सबैजसो नेवारले आफ्नो भाषा र मौलिकता हराइसकेका छन्। आफ्ना पुर्खा कहाँबाट कहिले त्यहाँ पुगेका हुन् भन्नेसम्म पत्तो छैन। 

थातथलो बाहिर नेवार

नेवारको थातथलो भनेको काठमाडौं उपत्यका र वरिपरिको भूक्षेत्र हो। सामान्यतः पृथ्वीनारायण शाहको राजनीतिक अभियानपछि नेवारहरू थातथलो छाडेर अन्यत्र फैलिएको भाष्य सुन्न पाइन्छ। तर, यो भाष्य हचुवाका भरमा बनेको थोरै अध्ययनबाटै बुझिन्छ। पृथ्वीनारायणको पुख्र्यौली राज्य गोरखामा उतिवेलै नेवार समुदायको बाक्लो उपस्थिति रहेको तथ्य छ।

⠿ drag

गोरखामा व्यापार व्यवसाय बढाउन राजा रामशाह (राज्यकाल विसं १६६३–१६९०)ले पाटनबाट नेवार व्यापारीलाई आमन्त्रण गरी विशेष व्यवस्था सहित बसोबास गर्न दिएका थिए। वाणिज्य व्यापारको विकासकै लागि कास्कीका राजा राज शाहले त्यसअघि नै टाढा टाढाका विद्वान्, पण्डित, ज्योतिषीहरूलाई विविध सुविधा दिएर राज्यमा बसोबास गराउने क्रममा नेपाल मण्डलका व्यापारीलाई पनि झिकाएका थिए। कास्कीका अन्तिम राजा सिद्धिनारायण शाह (विसं १७९१–१८४३)ले पनि भक्तपुरका राजा रणजीत मल्लसँग सम्झौता गरी नेवार व्यापारी झिकाएर पोखरा उपत्यकालाई व्यापारिक केन्द्र बनाएका थिए।

नेवार समाजको विस्तार गोरखा, लमजुङ, कास्की, पाल्पा, पर्वत लगायत क्षेत्रमा लिच्छविकालमै भइसकेको देखिन्छ। त्यति वेला दुईखाले प्रशासनिक क्षेत्र हुन्थे– केन्द्रशासित र सामन्तशासित। गोरखा केन्द्रशासित प्रदेश रहेको कुरा त्यहींको गोरखनाथ गुफास्थित शिवदेव द्वितीय र हनुमानभञ्ज्याङस्थित जयदेव द्वितीयका अभिलेखहरूबाट थाहा हुन्छ। विसं ११२६ भदौमा लमजुङ बस्ने गंगा रानाले बौद्ध ग्रन्थ अष्टसाहस्रिकाप्रज्ञापारमिता सारेको र त्यस विवरणमा लमजुङ राजा शंकरदेवको राज्य अन्तर्गत पर्ने उल्लेख छ। यसले गोरखा मात्र नभएर यो पूरै क्षेत्र नेपाल मण्डल अन्तर्गत वा केन्द्रशासित रहेको अनुमान गर्ने ठाउँ दिन्छ। पछि, खस साम्राज्यको स्थापनासँगै यस क्षेत्रमा नेपाल मण्डलको राजनीतिक वर्चस्व गुम्यो।

इस्वीको बाह्रौं शताब्दीमा जुम्लाको सिंजा उपत्यकालाई राजधानी कायम गरी नागराजले खस साम्राज्य स्थापना गरेसँगै त्रिशूली नदीभन्दा पश्चिममा नेपाल मण्डलको पकड गुमेको देखिन्छ। गोरखाको ताघवाई गुम्बामा रहेको राजा आदित्य मल्लको विसं १३७८ र पुण्य मल्लको विसं १३८५ को ताम्रपत्र अनुसार खस साम्राज्य त्रिशूली नदीसम्म थियो। चौधौं शताब्दीको अन्त्यसम्ममा यो साम्राज्य विघटन भई बाइसे र चौबीसे राज्यमा विभाजन हुन पुग्यो।

कास्कीको राजगद्दीमा कुलमण्डन शाह रहेका वेला लमजुङ स्वतन्त्र राज्य नभई स्थानीय घले समुदायको स्वशासित क्षेत्र रहेको बुझिन्छ। लमजुङलाई स्वतन्त्र राज्य बनाउन कुलमण्डनले शुरूमा माइला छोरा कालु शाहलाई पठाएका थिए। कालु केही समयपछि षड्यन्त्रपूर्वक मारिए। त्यसपछि अर्का छोरा यशोब्रह्म शाहलाई पठाइएकोमा उनका सन्ततिसम्मले त्यहाँ शासन गरे। लमजुङकै राजकुमार द्रव्य शाहले गोरखा राज्य स्थापना गरेका हुन्। यो ऐतिहासिक पृष्ठभूमि केलाउँदा यी चौबीसे राज्यहरू नेपाल मण्डलको नेवार समाजसँग राम्रैसँग परिचित रहेको बुझ्न सकिन्छ।  

सालडाँडाका एक वयोवृद्ध नेवारले आफ्ना पुर्खाको बसाइँसराइबारे यस्तो अनुमान सुनाए, “राजा रणबहादुर शाहले काठमाडौंमा बिफर महामारी फैलिँदा ससाना बच्चा सहितका आमाबाबुलाई देश निकाला गरेका थिए रे। हामीलाई पनि त्यसै गरी निकालिएपछि यहाँ आएर बसेका हौं कि?” उति वेला काठमाडौं उपत्यकाबाट पठाइनुलाई नै देशनिकाला मानिन्थ्यो। तर, उक्त घटनासँग स्याङ्जाका मानन्धरहरूको कुनै सम्बन्ध भए जस्तो लाग्दैन, किनकि त्यति वेला निकालिएका नेवारहरू विशेषतः पूर्व तामाकोशीपारि लागेको देखिन्छ। ती नेवारका सन्तान अहिले पनि त्यस भेगमा भेटिन्छन्। शाहकालकै घटना भएकाले होला, उनीहरू मातृभाषा र संस्कृतिबाट विमुख भइसकेका छैनन्। 
पृथ्वीनारायणको राजनीतिक अभियानपछि उपत्यकाबाट भागेर हिजोआज पर्यटकीय क्षेत्रका रूपमा चर्चित बन्दीपुर (तनहुँ)मा शरणार्थीका रूपमा बसेका मात्र नभई सुदूरपश्चिम डोटी लगायत ठाउँ पुगेका नेवारहरूमा पनि धेरै मात्रामा मौलिक पहिचान कायम छ। पृथ्वीनारायणले आक्रमण गर्नु केही वर्षअघि नै भक्तपुर दरबारमा विद्रोह गरी भारदारसँगै सिन्धुपाल्चोकको जलबिरेमा बस्न पुगेका कस थरका नेवारहरूको बाक्लो बसोबास छ। सिन्धुपाल्चोककै लिस्ती गाउँका नेवारहरू मध्यकाल वा त्यसभन्दा अघि नै त्यहाँ पुगेको अनुमान हुन्छ। यी नेवार बस्तीको तुलनामा स्याङ्जाका नेवारहरूमा मौलिक भाषा–संस्कृति खासै भेटिएन।

काठमाडौं उपत्यकाका प्रायः नेवार बस्तीमा मानन्धरको उपस्थिति हुन्छ। स्याङ्जाका विभिन्न भेगमा छरिएका मानन्धरहरू उपत्यकाको कुन ठाउँबाट आएका हुन्, ठोस जवाफ पाइएन। तर, यहाँ प्रयोग हुने केही नेवार शब्द (आबा, ततै, बोई) भक्तपुरसँग मिल्ने भएकाले यिनको पुख्र्यौली सम्बन्ध पनि त्यतैतिर हुन सक्छ। यस अनुमानलाई बल दिने अर्को सांस्कृतिक पक्ष पनि भेटियो। गिरकोटको नेवार समाजमा केही अघिसम्म लट्ठी जुधाएर गरिने नाच प्रचलित रहेछ जुन भक्तपुरमा नाचिने ‘घिन्ताङघिसी’ सँग मिल्दो रहेछ।

जहाँ नेवार त्यहाँ बजार

व्यापारिक विकासमा नेवारको भूमिका भारतको दार्जिलिङ र सिक्किमसम्म पनि रहेको तथ्य ऐतिहासिक अध्ययनबाट थाहा हुन्छ। नेवारको बसोबास रहेका प्रायः क्षेत्रमा बजार बसेका दृष्टान्त छन्। स्याङ्जाको सालडाँडास्थित बस्तीको नाम ‘हटिया’ ले पनि बजारको अर्थबोध गराउँछ।  

गोरखा, कास्की लगायत क्षेत्रको एउटा व्यापारिक मार्ग धादिङको बाटो हुँदै काठमाडौंसँग जोडिएको थियो। धादिङबाट काठमाडौं उपत्यका प्रवेश गर्न केही दशकअघिसम्म पनि भीमढुङ्गा नाका तथा पाँचमानेको उकालो काटी जितपुरफेदी झर्ने अर्को नाका निकै प्रचलित थिए। स्याङ्जाको सालडाँडा भेगबाट राँगाको बथान लिएर व्यापारीहरू त्रिशूलीको तिरैतिर हिंडेर काठमाडौं पस्थे। 

कास्कीको दक्षिणतिर पनि एउटा व्यापारिक मार्ग थियो। पोखरा उपत्यकाको पाताले छाँगो (डेभिड फल्स) नजिकै फुर्चेखोला छ। त्यहाँबाट दक्षिणतिर दोपहरेको उकालो चढेर क्रिस्ती नाच्ने चौर पुगी कुँडुले झरिन्थ्यो। अनि पौवागौंडा, ढुङ्गे देउराली हुँदै ठुलाती (उवेलाको नेवारावारी)को उकालो चढेर डाँडासरिको बाटो कोलमा पुगिन्थ्यो। कोलमाबाट झरेपछि सालडाँडा हटिया आइपुग्छ। यहाँबाट अझ दक्षिण लाग्दा खैरेकोट, प्यारसिंङ, गिरेकोट, बलिकोट, क्याक्मी, दग्दी हटिया, गैराखोला हुँदै कालीगण्डकीको तिरैतिर बाटो तराईतिर बढ्छ। यसरी कास्की र तराईलाई जोड्ने व्यापारिक मार्गमा नेवार बस्ती छ। यो मार्गका ठाउँ ठाउँमा मानन्धर बाहेक अन्य नेवार समुदायका पनि बस्ती छन्।

सालडाँडा र सायमि

सालडाँडामा वन बाक्लै छ। तर, बीच बीचमा केही बोट भेटिए पनि यो डाँडामा नामबाट झट्ट अनुमान हुने जस्तो गरी सालको प्रधानता पाइँदैन।

‘मानन्धर’ थरको पर्यायवाची शब्द ‘सायमि’ हो। प्रचलित ‘सायमि’ को मूल शब्द ‘सालमि’ हुन्छ। सालडाँडा लगायत स्थानका मानन्धरका कागजातमा पनि सालमि नै प्रयोग भएको पाइन्छ। नेवार बोलीमा तोरी पेलेर तेल निकाल्ने ठाउँलाई ‘साः’ भनिन्छ। यसैमा ल थपिएर साल बनेको हो जसको अर्थ कोल हो। सालसँग सम्बद्ध मान्छे भन्ने अर्थमा ‘मि’ थपेर समग्रमा सालमि शब्द बनेको हो।

कुनै वेला यहाँ तेल पेल्ने साल (कोल)हरू भएकाले ठाउँको नाम सालडाँडा रहन गएको अनुमान हुन्छ। यद्यपि, अहिले यहाँ तेल पेल्ने सालको अवशेष पाइँदैन। मानन्धर समुदाय रहेको ठाउँमा कोल नहुनु आफैंमा विरोधाभास वा अनुसन्धानको विषय हो। हटियामा बस्ने भएकाले यहाँको प्रमुख पेशा व्यापार व्यवसाय भन्न सकिए पनि व्यापार मार्ग सुकेपछि उनीहरू पूर्णतः कृषिकर्ममा संलग्न छन्।

सांस्कृतिक जागरण

नेवार समुदाय प्रायजसो परम्परागत गुठी मार्फत सामूहिकतामा आधारित सामाजिक, सांस्कृतिक, धार्मिक तथा आर्थिक गतिविधिमा संलग्न हुन्छ। तर, सालडाँडा लगायत क्षेत्रका मानन्धरमा यस्तो सांगठनिक स्वरूप छैन। हिजोआज जातीय नाममा गुठीको फुर्को जोड्ने गरिए पनि त्यो अन्य प्रचलित संगठन जस्तै गोलबद्ध हुने प्रयास मात्र हो। पहिचानका लागि उनीहरू काठमाडौंमा मुख्य कार्यालय रहेको केन्द्रीय मानन्धर संघमा आबद्ध रहे पनि मूल प्रवाहमा छैनन्। आफूहरू मौलिक भाषा तथा संस्कृतिमा पछि परेकैले यस्तो भएको बोध उनीहरूले गरेका छन्। 

⠿ drag

नेवार समुदायको मृत्यु संस्कारमा सातौं दिनमा सम्पन्न गरिने ‘न्हयनुमा’ प्रमुख मानिन्छ। यो प्रचलनलाई ठाउँ अनुसार विभिन्न नाम दिइएको छ। पूर्वका विभिन्न जिल्लामा ‘न्हयनुमा’ नभनी ‘मरेकालाई सात दिने भात’ भनिन्छ। सालडाँडामा चाहिं ‘मरेकालाई भात खुवाउने’ शब्दावली प्रयोगमा छ। स्थानीय मानन्धरहरू यो संस्कारको औचित्यबारे भने अनभिज्ञ पाइए। 

नेवार समाजमा महत्त्वपूर्ण ‘म्हपूजा’ बारे पनि यहाँका मानन्धरले सुनेका मात्र रहेछन्। केही समययता सामाजिक सञ्जालका भिडिओमा पनि देख्न थाले। पछिल्लो समय गोरखाबाट विवाह गरी सालडाँडा आएकी बुहारीले पहिलोपल्ट गाउँमा सामूहिक म्हपूजा गरेर यसलाई परिचित गराएकी रहिछन्। 

अर्कातिर, लक्ष्मीपूजाको साँझ देउसीभैलो खेल्न आउने महिलाहरूको वेशभूषा परम्परागत नेवार पोशाक थियो। सात–आठ वर्षका बालिकाले पनि हाकु पटासी (रातो किनारा भएको कालो रङको फरिया) र पुतुलं (चोलो) लगाएका थिए। भाषा–संस्कृतिमा व्यापक ह्रास आएको भन्दै गर्दा परम्परागत पोशाकको यस्तो प्रयोग आश्चर्यलाग्दो कुरा थियो। सांस्कृतिक जागरणका लागि गाउँपालिका अध्यक्ष खिमनारायण मानन्धरले बजेटै छुट्याएर प्रत्येक घरधुरीमा परम्परागत जातीय पोशाक वितरण गरेका रहेछन्। मानन्धरहरू हिजोआज सांस्कृतिक उत्सव विशेषमा तिनै पोशाक लगाएर सहभागी हुन्छन्। यहाँ नेवारपछि मगर र गुरुङ समुदायको बाहुल्य छ। अरू वेला पोशाकका भरमा नेवार र गैरनेवारको भेद छुट्याउन सकिँदैन। 

 (हिमाल,  २०६९ पुस अङ्कबाट)

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
Basanta Maharjan

More from Basanta Maharjan

Explore more articles by this author
बौद्ध चारधामको महत्व

बौद्ध चारधामको महत्व

विश्व बौद्धजगत गौतम बुद्धको जन्मस्थल लुम्बिनी, बोधिलाभस्थल बोधगया, प्रथम धर्मचक्रप्रवत्र्तनस्थल सारनाथ र महापरिनिर्वाणस्...

आमा बाबुको मुख हेर्ने पर्व

आमा बाबुको मुख हेर्ने पर्व

आमाबाबुलाई आदरसत्कार नगर्नु भनेर कसले भन्छ र ? तर सबै धार्मिक समुदायमा ‘आमाको मुख हेर्ने’ र ‘बाबुको मुख हेर्ने’ पर्व त छ...

महाराज क्राचल्ल र बौद्ध धर्ममा उनको योगदान

राजा क्राचल्लले आफूलाई ‘परमसौगात’ अर्थात् बुद्धका ठुलो उपासक भनेर चिनाउन मन पराउने राजा हुन् । यसबाट उनी बौद्ध धर्मका उप...

बडामहाराजा नागराज र बौद्ध धर्ममा उनको योगदान

कीर्तिखम्बमा उल्लेखित विवरण राजा नागराज र उनका उत्तराधिकारीहरुका सम्बन्धमा हो । तिब्बती श्रोतहरुले पनि यही विवरण प्रस्तु...

मूर्ति रंगाउनेहरुभन्दा बरु चोर नै राम्राे

मूर्ति रंगाउनेहरुभन्दा बरु चोर नै राम्राे

मूर्ति चोरी हुनु धेरै दुःखदायी हो । झिल्के बनाएर यसको सत्यानाश नै गरिदिनु थप दुःखदायी हो । मूर्तिचोरीमा संलग्न हुनेहरु न...

नेवार समाजमा पाहाँचःह्रे चाड

नेवार समाजमा पाहाँचःह्रे चाड

विभिन्न जातीय समुदायको सांस्कृतिक जीवनको अध्ययन गर्दा एउटा समानता के देखिन्छ भने, वर्षभरिमा जेजति चाड पर्व मनाएपनि त्यसम...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्