असार १६–१८ गतेसम्म मनसुनी गतिविधि सक्रिय, देशका धेरै स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौं, असार १६ । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन देशभर मनसुनी गतिविधि थप सक्रिय रहने भएकाले धेरै स्थानमा वर्षा हुने र केही क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।
मंगलबार बिहान जारी मौसम पूर्वानुमान बुलेटिनअनुसार आज (असार १६ गते) देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा तथा कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ। तराईका विभिन्न स्थानमा पनि वर्षाको सम्भावना छ।
आज राति पनि देशभर बदली रहनेछ। कोशी प्रदेशका पहाडी तथा तराईका धेरै स्थानमा तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। मधेश प्रदेशका केही स्थानमा हावाहुरीको सम्भावना पनि रहेको विभागले जनाएको छ।
बुधबार (असार १७ गते) पनि देशभर बदली रही हिमाली तथा पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने विभागले जनाएको छ। रातिको समयमा पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहनेछ।
बिहीबार (असार १८ गते) पनि मनसुनी प्रणाली सक्रिय रहनेछ। देशभर सामान्यदेखि पूर्ण बदली रही पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ। कोशी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा तथा मधेश प्रदेशका केही स्थानमा हावाहुरी चल्न सक्ने विभागले जनाएको छ। रातिको समयमा पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्र तथा मधेश प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
विभागले असार १६, १७ र १८ गते मनसुनी गतिविधि अझ सक्रिय हुने भएकाले विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। कोशी प्रदेशका पहाडी र तराईका धेरै स्थान तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने भएकाले नदी, खोलामा पानीको सतह बढ्न सक्ने, बाढी, पहिरो र डुबानको जोखिम रहने चेतावनी दिइएको छ। साथै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई तथा मधेश प्रदेशका केही स्थानमा हावाहुरीको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment