बडामहाराजा नागराज र बौद्ध धर्ममा उनको योगदान
इतिहासमा वर्तमान नेपालको राजनीतिक भूगोल सँधै एउटै रहेन । परिवर्तनशील रह्यो । नेपालको इतिहास भन्नु मुख्यतः काठमाडौं उपत्यका कुनै बेला ठूलो तलाउको रुपमा रहेको, तलाउको पानीले निकास पाएपछि सुक्दै गएर मानव बसोवासयोग्य भूमि बनेको भन्ने तथ्य विभिन्न अध्ययनहरुबाट थाहा भएको छ । र, पछि राजनीतिक सत्ता कायम भएर विभिन्न ऐतिहासिक कालहरु पार गर्दै वर्तमानको स्वरुप बनेको हो । नेपालको नेपालको मूलधारको इतिहास यो भएपनि विभिन्न राजनीतिक सत्ताहरुको कुरा गर्दा यही मात्रलाई देख्न इतिहासलाई नबुझ्नु हो । वर्तमान नेपालको राजनीतिक इतिहास अठारौ शताब्दीमा राजा पृथ्वीनारायण शाहले थालनी गरेको र पछि उनका उत्तराधिकारीहरुले त्यसलाई निरन्तरता दिँदै निश्चित स्वरुप दिएको हो । यसअघि विभिन्न पचास भन्दा बढी ठूला साना राज्यहरु थियो । काठमाडौं भन्दा पश्चिममा मात्रै बाइसे र चौबीसे भनी करीब पचास वटा राज्य थियो । बाइसे र चौबीसे राज्य बन्नुअघि यही भूमि कर्णालीको खश साम्राज्यअन्तर्गत एक शक्तिशाली बौद्ध राज्य थियो । यो राज्यको संस्थापक राजा नागराज थिए । नेपालको इतिहासमा यो बौद्ध राज्यलाई बिर्सन मिल्दैन ।
वर्तमान कर्णाली क्षेत्रमा बा¥हौं शताब्दीअघि विभिन्न साना ठूला राज्यहरुको सत्ता कायम थियो । यसमध्ये वर्तमान जुम्ला जिल्लाको सिंजा उपत्यका समृद्ध, प्रसिद्ध र सशक्त थियो । संभवतः त्यति बेला यो कुनै एक राज्यको राजधानी थियो । यहाँको वैभवपूर्ण आर्थिक तथा सामाजिक जनजीवन अन्य क्षेत्रका लागि लोभलाग्दो थियो होला । ठिक यही समयमा वर्तमान तिब्बतको ङारी क्षेत्रमा एउटा बौद्ध राज्य थियो । एघारौं शताब्दीमा भारतका प्रसिद्ध बौद्ध विद्वान अतीशा दीपङ्कर श्रीज्ञानलाई आमन्त्रण गरेको यही राज्य थियो । त्यति बेलाका राजा ल्हा लामा येस्शे ह्वे (राजा ज्ञानप्रभ) को नाम उल्लेख हुने गर्दछ । यिनै राजाका वंशज हुन्, राजा नागराज । उनले बा¥हौं शताब्दीतिर वरिपरिका विभिन्न राज्यहरु जित्दै आफ्नो राज्यको सीमाना बढाउँदै र हिमाल पार गरी सिंजा उपत्यका आइपुगे । यतातिरका पनि थुप्रै राज्यहरुमाथि कब्जा गर्दै ठूलो भूक्षेत्रको भूपति बने । संभवतः राजालाई आफ्नो पुरानो राजधानीभन्दा सिंजा उपत्यका नै मनप¥यो र राजधानी सारेर ल्याई सिंजालाई नयाँ राजधानी कायम गरे ।
राजा नागराज र खश साम्राज्यको स्थापनाबारे जानकारी दिने ऐतिहासिक श्रोतहरु निकै कम मात्र प्राप्त छन् । यही भएर पनि होला, नेपालको इतिहासबारे चर्चा गर्दा खश साम्राज्यको बारे त्यति धेरै उल्लेख हुँदैन वा भइ नै हाले पनि आधा अधूरो हुने गरेको पाइन्छ । राजा नागराज र खश साम्राज्यको बारे जानकारी दिने एउटा भरपर्दो सामग्री दुल्लूस्थित कीर्तिखम्बमा रहेको शिलालेख हो । खश साम्राज्यकै एक प्रभावशाली राजा पुण्यमल्लद्वारा राख्न लगाइएको यस अभिलेखमा राजा नागराजलाई सिंजानगरमा स्थिति बसाल्ने राजाका रुपमा चित्रण गरिएको छ । यसको अर्थ उनलाई सिंजा उपत्यकालाई राजधानी बनाई नयाँ राज्य स्थापना गर्ने राजा भनिएको हो । अभिलेखमा स्पष्ट शब्दमा ‘‘अनि खारि प्रदेशमा बस्ने श्री नागराज जावेश्वर हुनु भयो, उहाँले सिञ्जा नगरमा स्थिति बसाल्नु भयो’’ भनिएको छ ।
कीर्तिखम्बमा उल्लेखित विवरण राजा नागराज र उनका उत्तराधिकारीहरुका सम्बन्धमा हो । तिब्बती श्रोतहरुले पनि यही विवरण प्रस्तुत गर्दछ । यसरी नै नेपालमा पाइएको वा नेपालमा नै पछि लेखिएको ‘श्रीपाली वंशावली’मा यस्तो विवरण दिएको पाइन्छ, ‘‘राजा नाभका प्रतापी बडाराजा नागराजा भया । बडाराजा नागराजका पालामा कार्तिकेयपुरबाट राजधानी श्रीपाल खारीकोट सारियाको हो । तबैदेखि यस वंशकन श्रीपाली बोलियाको हो । बडामहाराजा नागराजले बडुवालराजा, रावलराजा, पालराजा, थापाराजा, खड्काराजा, बिष्टराजा र जाडेराजाकन मारिकन खारीकोटको राज्या बढायाको हो । बडामहाराजाका पालामा दशै दिशा मारी जिती सिजानगरीमा सुनको दरबार लगायाको हो ।’’
यस वंशावलीअनुसार अघि जुम्ला क्षेत्रमा बडुवाल, रावल, पाल, थापा, खड्का, बिष्ट र जाडहरुको बेग्लाबेग्लै राज्य थियो । जातीय रुपमा यी खशहरुको बेग्लाबेग्लै राज्य भनेर बुझ्न सकिन्छ । अन्य श्रोतले यहाँ पालहरुको पनि राज्यसत्ता थियो र उनीहरु पनि शक्तिशाली राज्य नै थिए । यी जम्मै राज्यहरुलाई ‘मारिकन’ भन्नुको तात्पर्य युद्धमा जितेर आधिपत्य कामय गरेर खारीकोट (ङारी) राज्यको सीमा विस्तार गरेको हो । यहाँ यी राजालाई महामहाराजा नै भनिएको छ र उनको राज्यकालमा दशै दिशाका राज्यहरु जिती सिंजा नगरीमा सुनको दरवार निर्माण गरेको भन्नुले दरवारलाई झकीझकाउ गरेको भन्ने बुझाउँछ र त्यसैलाई काव्यात्मक भाषामा सुनको दरवार भन्न पुगेको हो ।
नागराजले स्थापना गरेको खश साम्राज्यको भूक्षेत्र कतिसम्म फैलिएको भन्ने कुरा खुल्दैन । ङारीदेखि सिंजानगरीसम्म उत्तर दक्षिण फैलिएको स्पष्ट छ । गढवाल बाराहाटको बुद्धमूर्तिको पादपीठमा रहेको अभिलेखमा राजा नागराजको नाम उल्लेख भएबाट यिनको राज्य पश्चिममा गढवालसम्म पुगेको निक्र्यौल हुन्छ ।
बौद्ध धर्ममा राजा नागराजको योगदान
खश साम्राज्यका सम्बन्धमा लेख्ने प्रायः लेखकमा के भ्रम रहेको पाइन्छ भने, खश साम्राज्यको स्थापनापछि मात्रै यस क्षेत्रमा बौद्ध धर्मको प्रचारप्रसार भएको हो । राजा नागराज तिब्बतको ङारी प्रदेश बौद्ध बहुल क्षेत्र तथा राजवंश पनि बौद्ध धर्मको संरक्षक भएको जानकारीको आधारमा त्यस्तो त्यसरी बुझ्नु यस क्षेत्रको साङ्गोपाङ्गो वस्तुस्थिति नबुझ्नु हो ।
खश जाति पश्चिमबाट पूर्वलाग्ने क्रममा लामो समय कश्मीरमा बसेको थियो र त्यति बेला कस्मीर क्षेत्र बौद्ध धर्मको एउटा जल्दोबल्दो केन्द्रको रुपमा रहेको पाइन्छ । कस्मीर क्षेत्रमा खश जातिले नै पनि राज्यसत्ता कायम गरेको पाइन्छ । यस अवस्थामा खश जातिमा बौद्ध धर्मको प्रभाव कस्मीरमा बस्दा नै परिसकेको बुझ्न सकिन्छ । खशहरु पाँचौं शताब्दीमा मात्रै महाकाली पार गरी कर्णालीतिर पसेका हुन् । खश जातिको बाहुल्यता भएपछि यस क्षेत्रको नाम नै ‘खशान’ हुन पुग्यो । संभवतः यस क्षेत्रमा पछि पालवंशको पनि प्रवेश भयो । पालहरु खश होइनन् । भारतमा पालहरुको राम्रो उपस्थिति रहेको पाइन्छ । पाल साम्राज्य बौद्ध धर्मको संरक्षककै रुपमा थिए । नालन्दालगायतका विश्वविद्यालयको विकास पाल राजाहरुकै रेखदेखमा भएको थियो । यस आधारमा खशान क्षेत्रमा खश र पालहरुको साझा धर्म बौद्ध थियो । धार्मिक रुपमा बौद्ध धर्मलाई बढावा दिइरहेको यस भूक्षेत्रमा तिब्बतबाट आएका बौद्ध राजा नागराजले बौद्ध धर्ममा अझ थप योगदान दिएको अनुमान गर्न सकिन्छ ।
यद्यपि राजा नागराज बौद्ध हुन् र उनका पूर्वज बौद्ध धर्मका संरक्षक नै हुन्, तर यी राजाले आफ्नो साम्राज्यमा बौद्ध धर्ममा के कस्तो योगदान पु¥याएका थिए भन्ने कुरा बताउन यथेष्ट मात्रामा ऐतिहासिक श्रोत सामग्रीहरु पाइँदैन । बाराहाट (गढवाल) को बुद्ध मूर्तिको पादपीठमा रञ्जना लिपि र संस्कृत भाषामा रहेको अभिलेखमा ‘चम् वो नगरजइ थुव–प’ (भट्टारक नागराज मुनिको कृति) लेखिएको छ । यो बुद्धमूर्तिलाई अहिले चिन्न नसकेर सो क्षेत्रमा दत्तात्रयको रुपमा पूजा गर्ने गरिएको छ । भविष्यमा हुने थप अध्ययन र भेटिने अभिलेख तथा कृतिहरुको प्राप्तीपछि थप जानकारी पाइने हुन्छ ।
खश साम्राज्यमा बौद्ध धर्मअन्तर्गत पनि कुन सम्प्रदायको प्रचलन थियो भन्ने प्रश्न आउन सक्छ । हामीलाई थाहा छ, कस्मीरमा सुरुमा सर्वास्तीवादी बौद्ध सम्प्रदाय फैलिएको भएपनि पछि महायानी बौद्ध धर्मले ठाउँ लियो । महायान बौद्ध धर्ममा पनि बज्रयानको बोलवाला रहेको पाइन्छ । यसरी नै भारतमा पालहरुको समयमा महायानअन्तर्गत पनि बज्रयानकै प्रभाव थियो । उता तिब्बतमा बज्रयानी बौद्ध धर्म नै पुगेको थियो । बज्रयानमा पनि अतीशा दीपङ्कर श्रीज्ञानको आगमनपछि पुरानो र नयाँ धर्म भनी निङमा र सारमा फाट्यो । सारमाअन्तर्गत कमद सम्प्रदायको विकास अतीशाका शिष्यहरुले गरेको पाइन्छ । त्यसपछि सक्य र कग्यू सम्प्रदायको विकास भयो । पुरानो कदम सम्प्रदाय नै पछि परिमार्जित भई गेलुग् सम्प्रदाय बनेको हो । यस अर्थमा तिब्बतबाट राजा नागराज तथा उनीसँग आएकाहरुले कदम सम्प्रदाय भित्र्याएको भन्न सकिन्छ ।
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment