विश्व क्यान्सर दिवस: नेपालमा बढ्दो क्यान्सर चुनौती
काठमाडौं, माघ २२। विश्व क्यान्सर दिवसका अवसरमा नेपालमा क्यान्सरको बढ्दो जोखिम, उपचारमा असमान पहुँच र दीर्घकालीन लगानीको आवश्यकता पुनः उजागर भएको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले दक्षिण–पूर्व एशिया क्षेत्रमा क्यान्सर नियन्त्रणका लागि स्थानीय सन्दर्भअनुसारका नीति तथा कार्यक्रम अपरिहार्य रहेको बताउँदै नेपालले केही महत्त्वपूर्ण प्रगति गरे पनि अझै चुनौती कायमै रहेको जनाएको छ। साथै, क्यान्सर नियन्त्रणका लागि दीर्घकालीन लगानी, राजनीतिक प्रतिबद्धता र स्थानीय सन्दर्भअनुसारका कार्यक्रमहरू आवश्यक रहेको औंल्याएको छ।
क्यान्सर अस्पतालका तथ्यांकले नेपालमा क्यान्सर बिरामीको संख्या तीव्र रूपमा बढिरहेको देखाउँछन्। देशकै ठूलो सरकारी क्यान्सर उपचार केन्द्र बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर मा हरेक वर्ष देशभरबाट ठूलो संख्यामा बिरामी उपचारका लागि पुग्ने गरेका छन्। अस्पतालका अनुसार यहाँ उपचारका लागि आउनेमध्ये फोक्सो, स्तन, पेट, रगत तथा मुख–घाँटीसम्बन्धी क्यान्सर का बिरामीको संख्या बढी छ। चिकित्सकहरूका अनुसार धेरै बिरामी ढिलो गरी, अर्थात् क्यान्सरको तेस्रो वा चौथो चरणमा अस्पताल आउने प्रवृत्ति अझै चिन्ताजनक छ।
त्यसैगरी नेपाल क्यान्सर रिलीफ सोसाइटी (NCRS) द्वारा सञ्चालित भक्तपुर क्यान्सर अस्पताल ले पनि हरेक वर्ष करिब ५ हजार क्यान्सर बिरामीलाई उपचार सेवा दिँदै आएको छ। यस अस्पतालमा कीमोथेरापी, रेडियोथेरापी, सर्जरी तथा प्यासिएटिभ केयरजस्ता सेवा उपलब्ध छन्। यहाँ उपचारका लागि आउने बिरामीमध्ये महिलामा स्तन र गर्भाशय क्यान्सर, पुरुषमा फोक्सो र मुख–घाँटी क्यान्सर बढी देखिने गरेको अस्पतालको अनुभव छ।
निजी क्षेत्रतर्फ नेपाल क्यान्सर अस्पताल एण्ड रिसर्च सेन्टर पनि क्यान्सर उपचारको महत्वपूर्ण केन्द्र बनेको छ। अस्पतालले सार्वजनिक गरेको तथ्यांक अनुसार स्थापना यतादेखि ९५ हजारभन्दा बढी बिरामीले उपचार सेवा लिइसकेका छन्। पछिल्ला वर्षहरूमा बालबालिका र युवामा समेत क्यान्सरका केस बढ्दै गएको अस्पतालको अवलोकन छ, जसले जीवनशैली, वातावरणीय प्रदूषण र प्रारम्भिक परीक्षणको कमीलाई प्रमुख कारणका रूपमा देखाउँछ।
समग्रमा हेर्दा, नेपालमा पूर्ण रूपमा एकीकृत राष्ट्रिय क्यान्सर रजिस्ट्री प्रणाली नहुँदा यकिन देशव्यापी तथ्यांक संकलनमा कठिनाइ छ। तर प्रमुख क्यान्सर अस्पतालहरूबाट प्राप्त डेटा र प्रतिवेदनले क्यान्सर बिरामीको संख्या बढ्दो क्रममा रहेको, साथै फोक्सो, स्तन र गर्भाशय ग्रीवा क्यान्सर सबैभन्दा बढी देखिने क्यान्सरका रूपमा स्थापित भएको स्पष्ट संकेत गर्छ।
डब्लुएचओ दक्षिण–पूर्व एशियाकी कार्यवाहक प्रमुख डा. क्याथरिना बोएमेले जारी गरेको सन्देशअनुसार सन् २०२२ मा यस क्षेत्रमा करिब १९ लाख नयाँ क्यान्सरका घटना र १३ लाख मृत्यु भएका थिए। तीमध्ये ५६ हजारभन्दा बढी बालबालिकामा क्यान्सर देखिएको थियो। क्यान्सरको भार निरन्तर बढ्दै गएको र सन् २०५० सम्म नयाँ बिरामी तथा मृत्युको संख्या झण्डै दोब्बर हुने प्रक्षेपण गरिएको छ।
यस वर्षको विश्व क्यान्सर दिवसको नारा ‘युनाइटेड बाइ युनिक’ (United by Unique) रहेको उल्लेख गर्दै डब्लुएचओले क्यान्सर विश्वव्यापी समस्या भए पनि प्रत्येक देशको अवस्था फरक रहेको बताएको छ। नेपालमा क्यान्सर अझै पनि ढिलो पहिचान, सीमित उपचार केन्द्र र आर्थिक बोझका कारण गम्भीर स्वास्थ्य चुनौती बनेको छ।
नेपाल सरकारले पछिल्ला वर्षहरूमा क्यान्सर नियन्त्रणका लागि केही सकारात्मक पहल गरेको छ। बाल क्यान्सरको निःशुल्क उपचार सेवा सुरु गर्नु सरकारको महत्वपूर्ण कदमका रूपमा लिइएको छ, जसले आर्थिक कारण उपचारबाट वञ्चित बालबालिकालाई राहत दिएको स्वास्थ्य विज्ञहरूको भनाइ छ। डब्लुएचओको ग्लोबल इनिसिएटिभ फर चाइल्डहुड क्यान्सर अन्तर्गत नेपालले बाल क्यान्सर उपचार पहुँच विस्तार गर्ने देशमध्ये एकका रूपमा पहिचान बनाएको छ।
डब्लुएचओको दक्षिण–पूर्व एशिया क्षेत्रीय क्यान्सर रोकथाम तथा व्यवस्थापन रणनीति (२०२४–२०३०) अनुरूप नेपालले राष्ट्रिय क्यान्सर नियन्त्रण योजना सुदृढीकरण, क्यान्सर तथ्यांक सशक्त बनाउने, प्रारम्भिक पहिचान सेवा विस्तार गर्ने र पेलियेटिभ केयरलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याइएको छ।
यस क्षेत्रका विभिन्न मुलुकहरूले नवीन अभ्यास र नेतृत्व प्रस्तुत गरिरहेका छन्। थाइल्याण्डको ‘क्यान्सर एनीवेयर’ कार्यक्रमले क्यान्सर बिरामीलाई देशभरका सार्वजनिक अस्पतालमा उपचारको पहुँच दिएको छ। भारतले जिल्ला अस्पतालहरूमा डे–केयर किमोथेरापी केन्द्र विस्तार गरिरहेको छ भने भुटानको जनसंख्या–आधारित क्यान्सर रजिष्ट्रिले लक्षित रोकथाम कार्यक्रम र उपचार परिणाम सुधारमा सहयोग पुर्याएको छ।
बाल क्यान्सरसम्बन्धी विश्वव्यापी पहलअन्तर्गत म्यानमारले स्याटेलाइट केन्द्रमार्फत उपचार पहुँच विस्तार गरेको छ। नेपालले बाल क्यान्सरको निःशुल्क उपचार सेवा सुरु गरेको छ भने श्रीलङ्काले बाल क्यान्सरका लागि छुट्टै राष्ट्रिय नीति तयार गरेको छ।
क्षेत्रीय सन्दर्भमा दक्षिण–पूर्व एशियाको क्यान्सर मृत्यु अनुपात उच्च आय भएका देशको तुलनामा झण्डै दोब्बर रहेको छ भने बाल क्यान्सरमा यो अनुपात तीन गुणासम्म बढी छ। नेपालमा पनि स्तन, पाठेघरको मुख, मुख तथा बाल क्यान्सर समयमै पहिचान नहुँदा उपचार जटिल हुने गरेको स्वास्थ्य क्षेत्रका विज्ञहरूले जनाउँदै आएका छन्।
डब्लुएचओले नेपालसहित सदस्य राष्ट्रहरूलाई क्यान्सर नियन्त्रणका लागि दिगो र पूर्वानुमानयोग्य लगानी वृद्धि, प्रारम्भिक पहिचान र किफायती उपचार सुनिश्चित, SEACanGrid जस्ता क्षेत्रीय सहकार्य प्लेटफर्मको उपयोग तथा आवश्यक क्यान्सर सेवामा समान पहुँच विस्तार गर्न आह्वान गरेको छ।
विश्व क्यान्सर दिवसका अवसरमा डब्लुएचओले व्यक्ति, परिवार र समुदायलाई केन्द्रमा राख्ने जनमुखी स्वास्थ्य प्रणाली निर्माणमार्फत नेपालसहित दक्षिण–पूर्व एशिया क्षेत्रमा क्यान्सरको भार घटाउन सकिने विश्वास व्यक्त गरेको छ।
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment