छोडिएका, विदेशिएका र बिर्सिएका बाबुहरू
यसै दिनले हामीलाई बाबु–आमाको जीवितै सेवा गर्ने, मायालु सम्बन्ध कायम गर्ने गहिरो सन्देश दिन्छ।
बाबु नभएका बालबालिकाको पीडा
समाजमा धेरै बालबालिका छन् जसले कहिल्यै आफ्ना बाबुको अनुहार देख्न पाएनन्। कसैको बाबुको निधन भयो, कसैका जन्मदिने बाबु बेपत्ता भए, कसैलाई भने छोडेर अर्कै बाटो लागे। उनीहरूको लागि बा को मुख हेर्ने दिन शब्द नै हृदयमा तिखो बाणझैँ हुन्छ ।
विदेशिएका बाबु र खोसिएको बाल्यकाल
नेपालको हालको अवस्था हेर्दा लाखौँ बाबुहरू रोजगारीका लागि विदेशिएका छन्। औँशीमा छोराछोरीले न त बाबुको हात समाउन पाउँछन्, न त आशीर्वाद लिन। मोबाईल वा भिडियो कलले मात्र त्यो दूरी कम गर्दैन। बाबुको काँधमा चढेर मेलापात हेर्ने सपना, खेतबारीमा काम गर्ने अनुभव – यी सबै अवसर खोसिएका छन् । औँशीको दिन कुस राखे पनि, बाबु नजिकै नहुँदा त्यो संस्कार कता कता आफैमा अधुरो लाग्छ।
बिर्सिएका र बेवास्ता गरिएका बाबु
अझै दुखद कुरा के छ भने कतिपय बाबुहरू आफ्नै परिवारभित्र बिर्सिएका छन्। कोही वृद्धाश्रम पुगेका छन्, कोही आफ्नै घरमा भए पनि बेवास्ता गरिएका छन्, हेला भएका छन् । जीवित हुँदा बाबुलाई माया, सेवा र सम्मान नगर्ने तर कुशे औँशीमा फोटोमा फूल चढाएर मात्र “बा को मुख हेरेँ” भन्ने हाम्रो प्रवृत्ति समाजको कटु यथार्थ यहीँ हो ।
आज हामीले प्रश्न गर्नैपर्छ – के कुश राखेर मात्र पितृ ऋण तिर्न सकिन्छ ? कि बाबु जीवित रहँदासम्म उहाँलाई माया, सेवा र सम्मान गर्नु नै साँचो पितृधर्म हो ?
“बा भन्ने शब्दले नछुने घाउ हुन्छ” – कुनै बालबालिकाका लागि, कुनै आमाका लागि, र कतिपय वृद्ध बाबुहरूका लागि पनि। कुशे औँशीले केवल परम्परा मात्र होइन, जिम्मेवारी पनि सम्झाउँछ। कुश राखेर पितृलाई सम्झनु महत्त्वपूर्ण छ तर जीवित बाबुलाई माया, स्नेह र साथ दिनु नै अझ ठूलो धर्म हो।
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment