१२ चैत्र २०८२, बिहिबार

मूर्ति रंगाउनेहरुभन्दा बरु चोर नै राम्राे


अ+
अ-

काठमाडौं उपत्यकामा एक समय बुद्ध, बोधिसत्व तथा देवीदेवताहरुका मूर्तिको चोरी खुबै हुन्थ्यो । त्यो बेला अलि अलि बुझ्ने उमेरको बालक भइसकेको थिएँ । मूर्ति चोरीको समाचार तुरुन्तै फैलिन्थ्यो । समाचार पत्रमा छापिने ती समाचारहरुले जो कसैलाई चिन्तित दुःखित बनाउँथ्यो । मूर्ति चोरी पछि हुने अनेक खालका टिकाटिप्पणी तथा विचारविमर्श कति बुझियो थाहा छैन, तर खुबै ध्यान दिएर सुन्थें । हँदाहुँदा हाम्रै बस्तीमा पनि चोरीको बिगबिगी बढ्न थाल्यो र सर्वसाधारणलाई पनि निकै मात्रामा आक्रोसित बनायो । हाम्रो घर पुलिस चौकी नजिकै थियो र चौकीमा हुने हरेक घटना हाम्रो चासो वा तमासाको विषय बन्थ्यो । मूर्तिहरुहरु पक्रेर ल्याउने बेला होस् वा सर्जिमिनका लागि ल्याउँदा नै, हाम्रो क्षेत्रमा यति धेरै मान्छेहरुको भीड लागि सक्छ कि, मानौं ठूलै मेला हो । एक पल्ट त चोरहरु स्थानिय नै परेको थियो । अनेकौं चोरहरु देख्दै आएको बालमस्तिष्कमा मूर्ति चोरहरु सबैभन्दा घटिया लाग्दथ्यो । 

विश्वविद्यालयको औपचारिक अध्ययनको क्रममा मेरो विषयवस्तु नै मूर्तिलगायतका विभिन्न साँस्कृतिक सम्पदाहरु हुनपुग्यो । एउटा सानो मूर्तिलाई पनि अनेकौं तवरले अध्ययन गर्न सकिने रहेछ । हरेक दृष्टिले यसको महत्व हुँदो रहेछ । मूर्तिमा केही लेखिएको नभएपनि त्यही मूर्तिले आफ्नो इतिवृत्तान्त मात्रै बताइरहेको हुँदैन, तत्कालिन देश र कालका बारमो पनि बुझाइ रहेको हुन्छ । इतिहासका पन्नाहरु एउटै मूर्तिले पनि भर्न सकिँदो रहेछ । यी सम्पदाहरुको संरक्षणमा पाइने चुनौतीहरु अनेकौं छन् । ती चुनौतीमध्ये एउटा हो, चोरीनिकासी । अर्को चुनौती पनि रहेछ तर त्यो विश्वविद्यालयमा छलफलको विषय नै बनेन । देवीदेवता तथा बुद्ध–बोधिसत्वहरुका प्राचीन मूर्तिहरुलाई विभिन्न रंगले रंगाएर झिल्के बनाउनु कसैको दृष्टिमा महान काम होला तर यो जतिको निकृष्ट काम म अरु देख्दिनँ । यिनीहरुभन्दा बरु मूर्ति चोरेर बिदेशमा बेच्न लानेहरु नै मेरा लागि महान लाग्न थालेको छ । 

नेपाली मूर्तिकलाको इतिहासमा पूर्व लिच्छवी तथा लिच्छवीकालका मूर्तिहरु ढुंगामा बनेको पाइन्छ । त्यो बेलामा पनि धातुका मूर्तिहरु बन्दथ्यो भन्ने जानकारी तत्कालिन अभिलेखबाट जानिन्छ तर प्राप्य छैन । धातुका मूर्तिहरु समयक्रममा क्षति भएर नासिएको भन्न सकिन्छ अथवा ती धातुलाई ढालेर पछि पुनः बनाएको हुनु पनि धेरै संभव छ । ढुंगाकै प्राचीन मूर्तिहरु धेरै बुटा नभएको साधारण तर सुन्दर हुन्थ्यो । मध्यकालमा आएर भने मूर्तिहरुमा मिहिन कला पाइन्छ । अलि जटिल पनि हुन थालेको पाइन्छ । मूर्तिमा तान्त्रिक विषयवस्तुलाई समावेश गर्नुपर्दा यसरी जटिल हुन गएको मात्रै होइन, धेरै मेहनत गरेर शूक्ष्म रुपमा कलाको सिर्जना गरिन्थ्यो । यस्ता कलाकृतिहरु धातु निर्मित बढी छन् । ढुंगाको मूर्तिमा पनि यस कालमा मूर्तिहरुमा त्यस्तै गरी शूक्ष्म कलाले ठाउँ पाउँदा कलाकारको खुबी मज्जाले देख्न पाइन्छ । यी कुराहरु नै हो, कलाको महित्ता बढाउने । 

मूर्तिकलाहरुमा विभिन्न रंगले रंगाएर झिल्के बनाउने सोच कहाँबाट आयो कुन्नी, धमाधम झिल्के बनाउने अभियान नै अगाडि बढेको पाइन्छ । यसरी झिल्के बनाउँदा प्रायः प्रयोग हुने रंग इनामेलको हुने गर्दछ । इनामेल होस् वा अन्य रंग, तिनीहरुको प्रयोगले मूर्तिमा प्रयुक्त शूक्ष्म कलालाई ठ्याम्मै छोपि दिन्छ । कलाको महिमा नै घटाइ दिन्छ । रंगले छोपिसकेपछि ती मूर्ति कति पुराना हुन् भनेर अध्ययन गर्न नै मुस्किल मुस्किल हुनपुग्छ । अर्थको अनर्थ पनि हुने गरेको पाइन्छ । कुनै रंग नभएको अवस्थामा पनि फलाना देवीदेवताको रंग यो हो भनेर यत्तिकै बुझ्ने हुन्छ । उदाहरणका लागि वैरोचन बुद्ध श्वेतवर्णका हुन्छन्  भने अक्षोभ्य बुद्ध नील वर्णको हुन्छ । रंगकै आधारमा बुद्धहरु छुटिन्छन् । तर रंगाउने क्रममा जथाभावी हुने हुँदा अर्थको अनर्थ हुने गरेको पाइन्छ । रंगले गर्दा पुरानो र नयाँ मूर्तिको भेद नै छुटिन्न । एक हिसावले भन्नु पर्दा मूर्तिको महिमालाई स्वाट्टै घटाउने काम झिल्के बनाइसकेपछि हुन्छ । 

चोरी निकासी भएर विदेशमा पुगेका मूर्तिहरु प्रायः कला संग्रहालयमा सुरक्षित भएर रहेको पाइन्छ । निजी संग्रहमा रहेका मूर्तिहरु कुनै न कुनै बेला सार्वजनिक त हुन्छन् नै । मूर्तिको बेचबिखनलाई गैरकानूनी काम मात्रै नभएर विभिन्न संग्रहालयमा रहेका मूर्तिहरुमाथि सम्बन्धित देशले दावी गरेमा फिर्ता गर्नुपर्ने कानूनी प्रावधान पनि भएकाले हाल कुनै बेला चोरी निकासी भई विदेश पुगको नेपाली मूर्तिहरु अहिले धमाधम फिर्ता आइरहेको पाइन्छ । फिर्ता आएका मूर्तिहरलाई हेर्दा ती बडो सुरक्षित र जटनका साथ राखिएको पाइन्छ । फिर्ता आइनसकेका मूर्तिहरुको तस्वीर हेर्दा पनि तिनलाई सफा गरेर चिटिक्क पारेको पाइन्छ । चोरिएका ती मूर्तिहरु जस्तो भएपनि बिग्रिने वा नासिने त बनाउँदैनन् । इनामेल लगाइएपछि ती मूर्तिहरु धेरै मात्रामा बिग्रिने नै हुन्छन् । ढ्रुंगाको एउटा मूर्तिबाट इनामेल हटाउनु प¥यो भने पनि धेरै मेहनत गर्नुपर्ने हुन्छ । यदि इनामेल हटाएन भने मूर्तिको दीगोपनमा असर पर्ने हुन्छ । यदि त्यो इनामेल काष्ठकलामा प्रयोग भएको रहेछ भने रासायनिक प्रकृयाले झन् चाँडै बिगार्ने हुन्छ । हिजोआज काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा रहेका मूर्ति तथा अन्य सम्पदालाई झिल्के पारेको देख्दा लाग्छ, कुनै बेला ती मूर्तिलगायतका कलाकृतिलाई चोरेर विदेशमा पु¥याएको भए कम्तीमा पनि यो हविगत त भोग्नु पर्दैनथ्यो होला । 

कलाकृतिहरुलाई रंगाउनु हुँदैन, यसरी रंगाउँदा यसको महिमा घट्छ भनेर नबुझ्नु नेपाली समाजले कला बुझ्न छाड्नु हो । अथवा यसप्रति उदासिन हुनु थाल्नु हो । रंगाइरहेका हरुलाई यसरी नरंगाइ दिनु भनेर अनुरोध गर्दा उनीहरुको काममा बाधा दिएको रुपमा बुझ्ने हुन्छन् । अझ कतिसम्म पनि रंगाउने मानसिकतालाई कानूनी कारवाही गर्नुपर्ने निकायले नै उल्टो रंगाउनका लागि बजेट दिइरहेको हुन्छ । 

मूर्ति चोरी हुनु धेरै दुःखदायी हो । झिल्के बनाएर यसको सत्यानाश नै गरिदिनु थप दुःखदायी हो । मूर्तिचोरीमा संलग्न हुनेहरु नीच, पातकी, अधर्मी तथा घातक त हुन् नै, तर तीभन्दा कम्तीका छैनन्, विभिन्न रंगले रंगाएर झिल्के बनाउने झिल्के मानसिकताका धनीहरु । यस अवस्थामा हाम्रा सम्पदाहरु सत्यानाश हुनुभन्दा बरु चोरी राम्रो हो, कम्तीमा अन्तै भएपनि सुरक्षित त हुन्छन् । 

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
बसन्त महर्जन

मेगु पोस्त: बसन्त महर्जन

छिं लेखकाः मेगु लेख
नेवार समाजमा पाहाँचःह्रे चाड

नेवार समाजमा पाहाँचःह्रे चाड

विभिन्न जातीय समुदायको सांस्कृतिक जीवनको अध्ययन गर्दा एउटा समानता के देखिन्छ भने, वर्षभरिमा जेजति चाड पर्व मनाएपनि त्यसम...

नरेश श्रेष्ठ र फोटोग्राफी

नरेश श्रेष्ठ र फोटोग्राफी

अनेकौं पहिचानहरुको भीडमा एउटा पहिचान हो, फोटोग्राफर नरेश श्रेष्ठ । र, उनको फोटोग्राफी । बहीखाता राखेजस्तै उनी कतिपय ऐतिह...

पोखरी र संस्कृति

पोखरी र संस्कृति

पोखरी फगत पानीको भण्डार होइन । होला अरुतिर, त्यो बेग्लै कुरा। काठमाडौंको नेवार जनजीवनमा पोखरीको अर्थ प्रायः धर्म, संस्कृ...

कीर्तिपुरदेखि बन्दिपुरसम्म

कीर्तिपुरदेखि बन्दिपुरसम्म

मगर भाषामा पानीसँग सम्बन्धित खोलानालामा ‘दि’ शब्द आउने गर्दछ । नेपाली भाषाको व्याकरणमा ठाउँको नाममा दीर्घ ईकार राख्ने चल...

संयुक्त राष्ट्र संघमा रञ्जना लिपिको लोककथा

संयुक्त राष्ट्र संघमा रञ्जना लिपिको लोककथा

नेवार समाजमा अनेकौं लोककथाहरू छन् । कथा बनाउनमा नेवारहरू सिपालु नै छन् । यस्तै एउटा लोककथा हो, ‘‘संयुक्त राष्ट्र संघमा र...

मतदाता र करदाता

मतदाता र करदाता

मतदाता थिएँ, अघिसम्म / मतदानपछि मतदाता भइनँ । ...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्