नेवारसँग किन धेरै संस्कृति ?
नेवारको पहिचान संस्कृतिमा सम्पन्न समुदायको रुपमा रहेको पाइन्छ । नेपाली समाजमा संस्कृतिको सवाल उठ्दा नेवारको नाम छुट्दैन । र, के पनि भनिन्छ भने, वर्ष भरिमा जति दिन हुन्छ, त्यो भन्दा बढी नेवारहरुको चाडपर्व हुन्छ । अझ यो पनि भनिन्छ, नेवारहरु चाडपर्व भनेपछि हुरुक्कै हुन्छन् । अब प्रश्न उठ्छ, वर्षदिनमा तीन सय पैसठ्ठी दिन हुन्छ र ती दिनहरुभन्दा बढी चाडपर्व हुन्छ भने यिनीहरुको जीवन कसरी निर्वाह हुन्छ ? चाडपर्वमा हुरुक्क हुन्छन् भने अरु केही काम गर्नु पर्दैन र ? तर जीवन निर्वाह भइरहेकै छन् । यो कौतुहलको विषय मात्रै होइन, रोचक हुन्छ । नेवार संस्कृतिमा मात्रै होइन, व्यापार, व्यवसायलगायत हरेक क्षेत्रमा उत्तिकै सकृय रहेका हुन्छन् ।
काठमाडौं उपत्यकाको दीर्घ ऐतिहासिक विकास क्रमलाई ध्यानमा राख्यो भने नेवार संस्कृतिलाई बुझ्न धेरै मात्रामा सहयोग पुग्ने हुन्छ । काठमाडौं उपत्यका लामो समयदेखि मानव बसोबास भएको, कृषिका लागि उपयुक्त भूमि, व्यापारिक केन्द्र हो । यसले आर्थिक जीवनलाई उकास्यो मात्रै होइन, साथसाथै सांस्कृतिक जीवनलाई पनि सम्पन्न बनायो । करीब तीन हजार वर्षअघिदेखि यहाँ विकसित हुँदै आएको शहरी जीवनले धार्मिक तथा सामाजिक संस्कारलाई निरन्तरता दियो । लिच्छविकालमा विकासको गतिले अझ तीब्रता लियो । यसरी नै मल्लकालमा उपत्यकाका नगरहरू विशेष रूपमा विकसित भएपछि स्थानीय संस्कृति अझ संस्थागत र समृद्ध भयो । यहाँ बौद्ध र हिन्दू धर्म मात्रै प्रवेश भएन, यी धर्महरु प्रवेश हुनुअघि नै स्थानिय धर्म र संस्कृतिले जरा गाडिसकेको थियो । त्यही स्थानिय धर्मसंस्कृतिको जगमा पछि प्रवेश गरेका धर्म र संस्कृतिहरु हुर्केको हुनाले यहाँ बौद्ध हुन् वा हिन्दू, अन्यत्रको भन्दा फरक रुपमा देख्न पाइन्छ । यसले पनि नेवारलाई बेग्लै पहिचान दिनुका साथै संस्कृतिका सवालमा सम्पन्न देिखयो ।
नेवार संस्कृति एउटै धार्मिक परम्पराअन्तर्गत छैन । एउटै धर्ममा पनि अनेक मतवाद वा पन्थ नेवार समाजमा पाइन्छन् । एउटै धर्मभित्र विकास भएका मतवादहरुको अध्ययन अलि जटिल भएको हुन्छ भने ती मतवादहरु काठमाडौंमा पाइने मात्रै होइन, पाइएका मतवादहरु नेवार संस्कार र संस्कृतिमा घुलमिल भएर हुर्किरहेको हुन्छ । ती एक अर्कामा अन्तरसम्बन्धित पनि भइरहेका हुन्छन् वा अन्तरसम्बन्धित भएरै विकास हुन्छन् । यस अवस्थामा कोही आगन्तुकले यहाँको संस्कृतिलाई झट्ट हेर्दा अलमल्ल पर्ने गर्दछन् ।
नेवार सभ्यता सामुहिकतामा आधारित छ । व्यक्तिको आन्तरिक मनोभावना सामुहिक भावनामा निर्भर रहन्छ भने समुदाय पनि आफ्नो सदस्यको हितचिन्तनबाट विमुख हुनै नसक्ने संरचनामा निर्मित हुन्छ । उदाहरणका लागि नेवार समाजमा अत्यन्त महत्वपूर्ण संस्था गुठी हो । गुथि केवल धार्मिक संस्था होइन । यसले सामाजिक, सांस्कृतिक, आर्थिक, र सामुदायिक काम पनि गर्दछ । कुनै जात्रा पर्व होस वा मठमन्दिर, गुथि अन्तर्गत संचालित हुन्छन् र गुथिलाई मास्नु महापापको रुपमा लिन्छन् । कुनै टोलको देवीदेवता, जात्रापर्व, बाजागाजा, भोजभतेर, नाचगान, मन्दिर, पाटी–पौवा, अन्त्येष्टि वा अन्य सामुदायिक कार्यसँग गुथिहरु जोडिएको हुन्छ । यसले गर्दा एउटा संस्कृति हराएर अर्को स्थापित हुने नभएर पुरानो परम्परा नयाँ पुस्तामा हस्तान्तरण हुँदै जाने अविछिन्न उत्तराधिकारीवाला संरचना बन्यो ।
कृषि जीवनसँग नेवार संस्कृति जोडिएको हुन्छ । यसलाई अझ स्पष्ट पार्नुपर्दा परम्परागत नेवार समाज मूलतः कृषि र स्थानीय उत्पादनमा आधारित भएको र वर्षको विभिन्न समयमा हुने रोपाइँ, बाली भित्र्याउने, अन्नपूजा, वर्षा, ऋतु परिवर्तन, पितृस्मरण आदिसँग सम्बन्धित संस्कार र पर्वहरू बनेको हुनाले यो जनजीवनका लागि अनिवार्य तर सहज भयो । धार्मिक पर्व भएपनि यसको सम्बन्ध सामाजिक तथा आर्थिक जीवनसँग जोडिने हुनाले संस्कृतिहरु बोझिलो कहिल्यै भएन । परम्परागत नेवार समाजमा विभिन्न पेशा र सामाजिक समूहहरूबीच विशेष प्रकारको श्रमविभाजन थियो । कसैले धातुकला, कसैले काष्ठकला, कसैले माटाका भाँडा, कसैले बाजा, कसैले कृषि, कसैले व्यापार, कसैले धार्मिक कर्म आदिमा विशेषता राखे र विशिष्टता हासिल गरे । यस प्रकार भन्न सकिन्छ, नेवार संस्कृति एउटा व्यक्तिले बनाएको होइन; समाजका विभिन्न समूहको पुस्तौँपुस्ताको योगदानबाट बनेको सामूहिक संरचना हो । यो भनाईको पुष्टि बहाः–बही, मन्दिर, विहार, चैत्य, हिति (धारा), फल्चा (पाटी), सतः, मूर्तिकला, काष्ठकला, धातुकला, बाजागाजा, नृत्य, भोज र जात्राहरुमा देख्न पाइन्छ ।
नेवार संस्कृतिका अवयवहरु भन्नाले चाडपर्व, विभिन्न जात्रा आदि हुन् । यी बाहिरका लागि हेर्ने कुरा हो भने सम्बन्धित टोल वा समुदायका लागि सहभागी हुने कुरा हो । सांस्कृतिक पर्वहरुमा सहभागी हुनुलाई पुराना पुस्ताहरु मात्रै होइन, आजभोलि नै पनि नयाँ पुस्ता मन पराउँछन्, र यसैलाई गौरवपूर्व विषय ठान्छन् । संस्कृति भनेपछि नेवारहरु हुरुक्कै हुन्छन् भनेको यही हो ।
जात्रा तथा चाडपर्वहरुको मात्रै गणना गर्ने हो भने नेवार समाजमा हजारभन्दा बढी वर्षैपिच्छे मनाइरहेको हुन्छ । यो गणना नेवार समाजमा प्रचलित अवश्य हो तर सबै नेवार तथा सबै क्षेत्रमा मनाइने होइन भनेर बुझ्न नसक्दा मान्छेहरु अलमल्ल पर्ने गरेको देखिन्छ । मोहनी, स्वन्ति, गथांमुगःलगायत कतिपय चाडपर्व सबै नेवारले एकै समयमा मनाउँछन् भने अन्य स्थानिय हुन्छन् । एक स्थानमा प्रचलित जात्रापर्व अर्को स्थानमा संचालन हुँदैन । जुन स्थानमा चाडपर्व चल्ने हो त्यहीँका नेवारहरु मात्र आफ्नो सांस्कृतिक पर्वमा सक्रीय हुने हुन् । यस्ता पर्वहरु थोरै मात्र हुने हुन्छ । आफ्नो सांस्कृतिक जीवनसँग सम्बन्धित पर्वहरुका लागि समय मिलाउन त्यति असहज हुन्न । एउटै क्षेत्रको एउटा निश्चित सांस्कृतिक पर्वमा पनि त्यस क्षेत्रका सबै नेवार एकै पल्ट सहभागी हुने पनि होइनन् । यसका लागि समूह समूह छुट्याइएको हुन्छ र पालैपालो त्यसको व्यवस्थापन तथा अन्य कुराको जिम्मा लिने हुन् । त्यसमा अन्यहरु सहभागी हुन्छन् तथा सहयोग पनि गर्दछन् । प्रत्येक नेवार वस्तीमा हुने केही निश्चित सांस्कृतिक पर्वहरुको गणना हजारभन्दा बढी हुन्छन् तर ती सबैसँग सम्बन्धित हुँदैनन् । एकै दिनमा दुई बेग्ला बेग्लै भूगोमा बेग्लाबेग्लै जात्रा चलिरहेको हुनु पनि संभव छ, तर छिमेकी वस्तीलाई त्यसबारे थाहा नभएको नि हुनसक्छ ।
अब स्पष्ट भयो होला, नेवारसँग धेरै संस्कृति किन भएको र संस्कृतिमा नेवारहरु हुरुक्कै हुने भएपनि जीवन कसरी निर्वाह भइरहेको छ ?
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment