नेवारबाट सिकौं, बाढीबाट बचौं
बाढी, पहिरो, भुइँचालोलगायतका प्राकृतिक प्रकोपहरू जब मानवीय क्षतीको स्तरमा पुग्छन्, तब त्यसलाई विपद भनिन्छ । प्राकृतिक प्रकोपलाई रोक्न सकिन्न तर त्यसबाट हुने विपदलाई रोक्न सकिन्छ वा न्यूनीकरण गर्न सकिन्छ । मानव सभ्यता प्राकृतिक प्रकोपहरूबाट सुरुदेखि नै परिचित थिए र परिचित भएरै त्यसबाट सावधान हुँदै विपदबाट छेलिन्थे र मानव इतिहासलाई निरन्तरता दिँदै आइरहेको छ । यो भनेको नितान्त रुपमा अनुभवमा आधारित ज्ञान हो ।
विश्वका सभ्यताहरू प्रायः नदी किनारमा भएको पाइन्छ । मानव सभ्यता र नदीको पानी बीच अन्योन्याश्रित सम्बन्ध रहेको भन्नु अतीशयोक्ती नहोला । हालै काठमाडौं उपत्यकाभन्दा केही दूरी उत्तरस्थित भोटेकोशी नदीमा तिब्बतबाट आएको वाढीले रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लाको नदी किनारमा विध्वंश नै मचायो । यही बेला नदी किनारमा वस्ती बसाल्न नहुने र डाँडाको टुप्पा उपयुक्त हुने विचार वा टिप्पणी व्यक्त गरे । डाँडाका टुप्पा मात्रै सुरक्षित ठाउँ हो र ? पहिरो जाँदैन र ? यसको जवाफ ती टिप्पणीकर्तासँग संभवतः हुँदैन । नेपालमा डाँडाको टुप्पामा बसालिएका यस्ता थुप्र ठाउँ घरहरू छन् जहाँ एक घुट्को पानीका लागि पनि घन्टौ तल झरेर खोलाबाट पानी भरेर उक्लनु पर्दछ । कतिपय महिलाको विहान एक घाग्री पानी ओसार्नमा नै बित्छ । दैलेखबाट दूल्लू हिडेर गएको थिएँ र बाटोमा तिर्खा लागेर एक घरमा पानी माग्दा मोही खान दिए । पानी नदिई मोही खान दिनुको रहस्य हो, त्यहाँ पानी भन्ने कुरा दुर्लभ हो ।
नदी किनारमा मानव सभ्यताको विकास भएको भन्नुले नदीको किनारमा नै घरबस्ती बसाउनु भन्ने अर्थ लाग्दैन । सिन्धुघाँटीको सभ्यताबारे जान्ने भौतिक कुरा त्यसको पुरातात्विक अवशेष हुन् । पुरातात्विक अध्ययन गर्दा हडप्पा, मोहेनजोदाडो, लोथर कुनै पनि वस्ती नदी किरानसँग सटाएर बसालिएको छैन । केही दूरी र सुरक्षित स्थानमा बस्ती बसालिएको पाइन्छ । ठूलो बाढी आएर सिन्धु सभ्यता नष्ट भएको भनाई पनि पाइन्छ तर यो सर्वमान्य भने होइन । यो सभ्यता कसरी उजाडियो भन्ने प्रश्नको सही जवाफ पाउन सकिएको छैन । अन्य सभ्यता पनि यस्तै हो । गंगाको मैदानमा विकसित सभ्यताहरू पनि गंगाको किनारमा नै थिएन, अलि दूरीमा हो । भोटेकोशी बाढीले बगाएका घर वा वस्तीहरू नदीको किनारमा नै बसालिएका छन् । अझ भनौं, कतिपय घरको बलेसी नदी नै हो । भोटेकोशी बाढीको एक महिना नबित्दै फेरि देशका विभिन्न ठाउँमा बाढी र पहिरो आयो । यति बेला पनि बगाएका घरहरू नदीको नजिक नजिक नै बनाइएका हुन् । सामान्य अवस्थाका नदीहरू सँधै सामान्य नै हुँदैन भन्ने जानेर विगतका बाढीहरूलाई पनि ध्यानमा राखेर बस्ती बसाल्नु पर्दछ । यस्ता वस्तीहरूको नियमन राज्यले गर्दै रहनुपर्दछ ।
काठमाडौं उपत्यकाको मुख्य नदी बागमती हो । बागमतिमा पनि बरोबर बाढी आइरहेकै हुन्छ । बागमतीमा आएको बाढीले बगाएको, बागमतीको पानीले वस्ती डुबानमा पारेको आदि कुराहरू अचेल सुन्न पाइन्छ । बागमतीमा पानी बगिरहेको हजारौं वर्षअघिदेखि हो । संभवतः प्रत्येक वर्ष बाढी पनि आउँछ । तर त्यो बाढी प्रकोप मात्रै हो, विपद हुँदैनथ्यो ।
नेवार सभ्यता काठमाडौं उपत्यकामा विकास भएको हो । बागमती नदीको योगदानलाई ध्यानमा राखेर कतिपयले यसलाई बागमती सभ्यता पनि भन्ने गरेको पाइन्छ । यस सभ्यतामा कुनै पनि मानव वस्ती बागमती वा यसका सहायक नदीहरूको किनारभित्रै छिरेर बसालिएको पाइँदैन । उति बेला जनघनत्व नै कम भएको अवस्थामा मान्छेलाई नदी किनारमा किन छिर्नुपर्यो र भन्ने प्रश्न आउनसक्छ तर वास्तविकता त के हो भने, त्यसरी नदी किनारमा नै छिर्ने, नदीको जग्गा अतिक्रमण गर्ने तथा नदीलाई दुषित पार्न हुँदैन भन्ने ज्ञान हुनु हो ।
नदीको पनि आफ्नै जग्गा हुन्छ । नदीको जग्गा चिन्न सक्नु पर्दछ । नदीलाई आफ्नो जग्गामा बग्न कसैसँग सोधेर बस्नु पर्दैन । जहाँ जहाँ नदीलाई थुन्न खोज्छ वा नियन्त्रणमा राख्न खोज्छ, त्यहाँ त्यहाँ नदीले बेला बेलामा विद्रोह गर्ने हो । तटबन्दी गरेर नदीलाई साँघुरो त पार्न सकिएला तर त्यसको जवाफमा नदीले पींधलाई खियाउँदै बग्छ । पींध जति गहिरिँदै जान्छ, अन्ततः किनारलाई भत्काउने हुन्छ । भदौ १० गतेको भोटेकोशी बाढीपछि त्रिशुली नदिले यसैगरी पींध काट्दा कृष्णभीरमा गएको पहिरो र बाटोलाई गरेको नोक्सानी यसको ज्वलन्त उदाहरण हो । त्यसको माथिबाटै अर्को बाटो बनाईसक्दा पनि यसको दीगो समाधान अझै हुन सकेको छैन । नदीलाई प्राकृतिक रुपमा बग्न नदिनु विपत्ती निम्त्याउनु हो ।
बागमतीको जग्गा अतिक्रमण हुन थालेको केही दशकभित्रको घटना हो । काठमाडौंमा बस्तीको विकास व्यवस्थित रुपमा गरिएको हुन्थ्यो । विगतमा बस्तीहरूको विकास एउटा निश्चित लयमा बसालिएको पाइन्छ । प्रायः वस्तीहरू एउटै लयमा हुँदा अर्को बस्तीका लागि त्यो अन्जान बस्ती हुँदैन । यही नेवार वास्तुकला हो । त्यही बस्तीको खेतवारी भने बागमती किनारमा रहेका हुन्थे । तर समयक्रममा अहिले नेवार सभ्यता उपेक्षित अवस्थामा छ । यसलाई बुझ्नेभन्दा यसप्रति द्वेषभाव राख्ने, अहंपनाको प्रदर्शन गर्ने तथा व्यक्तिगत स्वार्थपनालाई नै सफलता ठान्नेको प्रभाव बढ्दो छ । राज्यले नै बागमती किनारा मासेर बस्ती बनाउने, ठुल्ठूला संरचना बनाउने तथा प्रदूषण बढाउने कार्यमा प्रोत्साहित गरिहरेको पाइन्छ । बेला बेलामा बागमतीको पानी बढ्दा मान्छेहरू घरमा नदी पसेको भनेर दुखेको पोख्छन् तर नदीमा घर पसेको कुरा बुझ्दैनन् । नदी किनारको जग्गा यस्सरी अतिक्रमण गर्छन् कि, मानौं त्यो उसको अधिकारको कुरा हो । सार्वजनिक जग्गा मिच्न पाउँदैन भनेर कसैले विरोधै ग¥यो भनेपनि राज्यशक्तिमा आफ्ना मान्छे भएको भन्दै वा राज्यको धाकधम्की मिच्नमा कति पनि कसर बाँकी राख्दैनन् । अहिले बागमतीमा बाढी आएर विपदमा पर्ने हुनेहरूको कारण यही हो ।
बागमतीमा अहिले एउटा त्रास बढेको छ, काठमाडौं उपत्यकाको सबै नदीहरू बागमती नदीमा मिसिने हो र बागमतीको निकास चोभार गल्छी मात्रै हो । यो गल्छी साँघुरो छ । कथंकदाचित यो गल्छी थुनियो भने काठमाडौंमा तबाही मच्चिन्छ । तर वास्तविकता के हो भने, संत्रास फैलाएजस्तो यो गल्छी पूरै थुनियो भने पनि पूरै काठमाडौ जलमग्न हुने होइन । यो गल्छीको उचाई सबैभन्दा होचो भागमा छ र कथंकदाचित गल्छी थुनियो नै भनेपनि थोरै मात्र भाग जलमग्न हुने हो जुन भूभाग मानव वस्तीका लागि प्रयोगमा नै थिएन तर अहिले जथाभावी वस्ती बसाल्ने क्रममा स्वरुप बदलिएको मात्रै हो । नेवार सभ्यताले यही घरवस्तीहरूलाई चिन्दैन बरू नेवार सभ्यतालाई चुनौती दिन आएका हुन् । घरवस्ती निर्माण नगरिने ठाउँमा बस्ती बसाल्न आउनु र राज्यले तिनीहरूलाई नै संरक्षण दिनु आफैमा कमजोरी वा लापरवाही हो । यतातिर कहिल्यै ध्यान दिएको पाइएन ।
आफ्नो वस्तीको सुरक्षा आफैले गर्ने हो । यसको लागि सर्वप्रथम कहाँ बस्ती बसाल्दा हुन्छ वा हुन्न भनेर सोचविचार गर्ने हो । पुराना नेवार वस्तीहरू नदी किनारमा प्रायः बनाइँदैन, अलि अग्लो ठाउँमा नै हुने गरेको पाइन्छ । यो कुरालाई बुझ्न नसक्ने कथित विकासविद्हरू अहिले काठमाडौंमा जथाभावी निर्माण संरचनाहरू बनाउँदै हिडिरहेको पाइन्छ । उदाहरणका लागि काठमाडौं उपत्यकाको शिरमा अहिले धापड्याम बनाएर ठूलो जलराशी संचय गर्दैछन् । त्यसको सँगै फेरि नागमती नामको जलभण्डारको निर्माण गरिरहेका छन् । यसको औचित्य पुष्टि हुँदैन । कथंकदाचित भूकम्प वा अन्य कारणले त्यो जलभण्डार फुट्यो भने काठमाडौं उपत्यकाका उत्पात मच्चिने छ । उत्पात नमचुञ्जेल सँधै त्रासदीमा जिउनु पर्ने हुन्छ । अब अर्को प्रश्न उठ्छ, यो त्रासदी अनिवार्य आवश्यकता हो र ?
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment