११ असोज २०८३, आइतबार

‘सम्हय् बजि’ को सांस्कृतिक तथा दार्शनिक अर्थ


अ
अ+
अ-

नेवार समाजमा प्रचलित ‘सम्हय् बजि’लाई विभिन्न परिकारसहितको नेवार खाजा सेट भन्ने अर्थमा मात्र बुझ्नु वास्तवमा यसबारे केही नबुझ्नु र यस बारेमा ठुलै भ्रम पालेर बस्नु हो । तर हो, खाने कुरा नै । यसलाई बुझ्नुपर्दछ । यसको विशिष्ट सांस्कृतिक अर्थलाई बुझ्न सकेनभने भ्रममा त रहन्छ नै, साथसाथै ठूलो ज्ञानभण्डारबाट पनि बन्चित रहनपुग्छ । यसलाई बुझ्न सके यसको सांस्कृतिक महत्तासँग परिचित हुनाका साथै नेवार जीवन दर्शनलाई पनि बुझ्ने हुन्छ र दार्शनिक रहश्यभित्र डुबुल्की मार्न सकिन्छ । 

‘सम्हय् बजि’ शब्दलाई सरल प्रयोगमा ‘समे बजि’ वा ‘समय बजि’ पनि भन्ने गरेको पाइन्छ । साधारणतः ‘सम्हय् बजि’ भन्नाले चिउरासहित विभिन्न खाने कुरा रहेको खाजा सेट भन्ने बुझाइ रहेको पाइन्छ । ‘सम्हय्’ शब्दलाई ‘समय’को रूपमा बुझेर बेलैमा वा समयमै खाने कुरा भएर ‘समय बजि’ भनेको भन्ने अर्थ लगाउने गरेको पनि पाइन्छ, यो गलत हो । नेवारहरू यसलाई ‘सम्हय्’ मात्रै पनि भन्ने गर्दछन् । कसैले ‘सम्हय्’ मात्रै वा ‘सम्हय् ज्वलं’ भन्दा पनि त्यसमा चिउरासहित निश्चित खाने कुरा रहेको भनेर बुभिन्छ । नेवार जनजीवनमा मान्छे जन्मिदादेखि मर्दासम्म पनि विभिन्न पूजा तथा अनुष्ठानमा सम्हय् बजिको प्रयोग हुन्छ । यही महत्वलाई ध्यानमा राखेर वर्षमा एक दिन ‘सम्हय् बजि पुन्हि’ भनेर एउटा पूर्णिमाकै नामाकरण गरिएको पाइन्छ । भाद्र पूर्णिमालाई ‘यँयाः पुन्हि’ मात्रै भनिँदैन, साथसाथै ‘सम्हय् बजि’ पुन्हि पनि भन्ने गरिन्छ । रेष्टुरेन्ट वा अन्यत्र पस्किने सामान्य खाजा सेट मात्रै हुँदो हो त एउटा पूर्णिमाकै नाम र यसैको एउटा ठूलो चाड बनाइन्छ र ?  

सम्हय् एउटै मात्र खाद्यवस्तु होइन । विभिन्न निश्चित खाद्य पदार्थ तयार पारी देवीदेवतालाई चढाउने हो, यो । आजुद्यः, अजिमाद्यः, आगंद्यः को पूजा गर्न सम्हय् अनिवार्य हो । गनेद्यः (गणेश), लुकुमाद्यः (महादेव), भैलःद्यः (भैरव) लगायत कतिपय अन्य देवतालाई पनि सम्हय् राखेर पूजा गर्नुपर्ने हुन्छ । ‘सम्हय् नःम्ह द्यः’ र ‘सम्हय् मनःम्हद्यः’ भनेर सम्हय् खाने र नखाने देवता भनेर छुट्याइन्छ र त्यहीअनुसार व्यवहार गरिन्छ । सम्हय्मा मुख्यतः पाँच थरी खाद्य सामग्री राखिएको हुन्छ । त्यसमा पहिलो स्याःबजि भनेर फुलेको÷भुटेको चिउरा हुन्छ । स्याःबजिको ठाउँमा बजि (चिउरा) मात्रै वा दुबै राख्ने चलन अहिले चलेको छ । अर्को हाकुमुस्या (भुटेको कालो भटमास) हो । त्यस्तै काँचो अदुवा, छ्वयला र अयला हुन्छ । पहिला संन्या भनेर तेलमा तारेको एक विशेष खालको माछा राख्ने चलन थियो भने अहिले छ्वयला राख्ने गरिएको हो । यी खाद्यवस्तुहरू पञ्चतत्वको प्रतीक हुन् । पञ्चतत्वमध्ये एक आकाशको प्रतीक स्याःबजि हो भने वायुतत्वको प्रतीक हाकुमुस्या (भुटेको कालो भटमास) हो । जलको प्रतीक अदुवा र पृथ्वीको प्रतीक संन्या वा छ्वयला हो । यसरी नै तेजको प्रतीक अयलाः (रक्सी) हो । यी प्रतीकहरू अन्य सन्दर्भमा अन्य अर्थ नै लाग्ने हुन्छ, उदाहरणका लागि माछा अन्य सन्दर्भमा जलको प्रतीक हुन्छ । यी देखिबाहेक वः(ओ), माछा र अण्डा वैकल्पिक रूपमा राख्ने गरेको पाइन्छ भने साथसाथै अतिरिक्त पनि राखेको देखिन्छ । त्यसदेखि बाहेक चतांमरि (चामलको पीठोलाई पातलो घोल बनाएर बनाइएको रोटी), भुति (बोडी), लसुन, आलुवाला (साँधेको आलु), तुकंवाला (साँधेको साग), रोटी आदि पनि राख्ने गरिन्छ जुन अनिवार्य नभएर पाकेको कुरा राखेको मात्रै हो । समय्बजिमा अयलाः कसरी राखिन्छ भन्ने प्रश्न उठ्न सक्छ । त्यसैमा थोरै अय्लाः चढाउनुलाई नै रक्सी राखेको भन्न सकिन्छ वा खाद्यवस्तु चढाउने बेलामा देवतालाई अलग्गै  ‘अय्लाः हायेकेगु’ भनेर रक्सी तर्काउने पनि गरिन्छ । 

मान्छे वा कुनै जीव जीवित वा स्वस्थ रहन पञ्चतत्व अनिवार्य हुन्छ वा पञ्चतत्व सन्तुलनमा रहेको हुनुपर्दछ । पञ्चतत्वको प्रतीक हो, सम्हय् वा सम्हय् बजि । यो देवतालाई चढाउने हो । त्यही सम्हय प्रसादको रूपमा हामी मान्छेले खाने हो । देवतालाई चढाउने सम्हय् सीमित मात्रामा हुन्छ, त्यसैलाई प्रसादको रूपमा ग्रहण गर्ने मान्छेहरू त धेरै हुन्छन्, कसरी पु¥याउन सकिन्छ भन्ने प्रश्न उठ्नु स्वाभाविक हो । सम्हय् बजि पुन्हि वा अन्य पूजाको अवसरमा ठूलो परिमाणमा नै तयार पारी टोल टोलमा पूजासहित राखेको हुनसक्छ । अथवा सांस्कृतिक रूपमा यसको समाधान यसरी हुन्छ, सम्हय्बजि ज्वलं भनेर आवश्यक मात्रामा पहिल्यै तयार पारिराखेको हुन्छ र देवतालाई चढाएर फर्काएको सम्हय् त्यसमा मिसाउने हो ।

सम्हय् वा सम्हय् बजि विशेष गरी तान्त्रिक अनुष्ठानसँग सम्बन्धित हो । तान्त्रिक पूजामा ‘सम्हय्’ नभई हुन्न । तन्त्रोक्त पूजामा जीव बलि भोग दिनुपर्दछ । तान्त्रिक शक्ति र सिद्धि प्राप्तीका लागि तान्त्रिकहरू अनेक जीवजन्तुहरूको बलि दिने गर्दछन् । प्राचीन उल्लेखहरूअनुसार यसका लागि नरबलि भनेर मान्छेलाई नै पनि बलि दिने गरेको पाइन्छ । नरबलि त अहिलेको भाषामा आपराधिक एवं गैरकानूनी कर्म भइहाल्यो, यो प्राचीन कालमा नै पनि आलोचनाको विषय भएर बन्द गरियो । लुकीछिपी हुनु बेग्लै कुरा । कालान्तरमा पशुपंक्षीको बलिमा पनि पापकर्म देखिन थाल्यो, आलोचना हुन थाल्यो  यस अवस्थामा योनीबाट जन्मेका जीवको विकल्पमा तान्त्रिकहरूले अयोनीबाट जीवको सिर्जना गर्ने विद्याको विकास गरी त्यसलाई बलि दिन थाले । नेवार तान्त्रिकहरूले पनि मन्त्र साधनागरी अयोनी जीव सिर्जनागर्ने र त्यसलाई बलिमा चढाउने गरेको पाइन्छ । यसदेखि बाहेक नेवार तान्त्रिकहरूले अयोनीबाट पनि जीवको सिर्जना नगरी त्यसको पनि विकल्पमा मन्त्र साधना गरी जीव सदृष्य ‘सम्हय्’ चढाउने कुरामा विशेषता हासिल गरेका छन् । सम्हये बजि चढाउनुका साथै आफू खुसी जीव बलि पनि दिने र त्यलाई पछि पकाएर खाने पनि खाने दुबै गर्न पनि थाले । जीव बलि दिएर वा तन्त्रोक्त साधनासहित ‘सम्हय्’ चढाएरै तान्त्रिक शक्ति र सिद्धि प्राप्त गरेका घटना विवरणहरू काठमाडौंमा प्रसस्त मात्रामा सुन्न पाइन्छ । कसलाई कुन जीव चाहियो ? भने भनेको जीव भने भनेका देवीदेवता वा भूतप्रेतलाई उपलब्ध गराउने त्यही सम्हय् चढाएर हो । 

कुनै धार्मिक तथा सांस्कृतिक सम्बन्ध नभएको तर सम्हय् बजि भनेर खाने वा खुवाउने पनि नगरिने होइन, त्यसमा परिकारहरू उस्तै हुन्छन् वा थपघट पनि हुन सक्छन् । सम्हय् बजि भनेपनि धार्मिक तथा सांस्कृतिक विशिष्टता हुन्छ तर यतिकै परिकारका रूपमा मात्रै खानुलाई सम्हय् बजि  भन्न नै नसकिने त होइन तर मौलिक सम्हय् बजिको लोकप्रियता र त्यसको विस्तारित रूप भन्न सकिन्छ । 

 

 

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
बसन्त महर्जन

मेगु पोस्त: बसन्त महर्जन

छिं लेखकाः मेगु लेख
यँयाः (इन्द्रजात्रा)को कथामा इतिहासको खोजी

यँयाः (इन्द्रजात्रा)को कथामा इतिहासको खोजी

प्रायः सोचिरहेको हुन्छु, इतिहास कसरी हराउँदै जान्छ र मिथकका रुपमा कथा कहानीहरू किन बढ्दै जान्छ ? हिन्दू धर्मका पुराणहरूम...

नेवाःले नेवारलाई गाली गर्न थालेपछि

नेवाःले नेवारलाई गाली गर्न थालेपछि

कतिपय नेवारलाई के लाग्छ भने, आफूहरु नेवाः हो, नेवाः नै भन्नुपर्छ । गैर......

इन्द्रजात्रा : प्राचीन यँयाःको अर्वाचीन नाम

इन्द्रजात्रा : प्राचीन यँयाःको अर्वाचीन नाम

इन्द्रजात्रा नाममा प्रसिद्ध सांस्कृतिक उत्सवलाई नेवार भाषामा यँयाः......

होस/बेहोस (लघुकथा)

होस/बेहोस (लघुकथा)

मदिरालयमा बडो मज्जाले मदिरापान गरेको थिएँ । त्यही भएर बाहिर निस्कँदा......

बौद्ध चारधामको महत्व

बौद्ध चारधामको महत्व

विश्व बौद्धजगत गौतम बुद्धको जन्मस्थल लुम्बिनी, बोधिलाभस्थल बोधगया, प्रथम धर्मचक्रप्रवत्र्तनस्थल सारनाथ र महापरिनिर्वाणस्...

आमा बाबुको मुख हेर्ने पर्व

आमा बाबुको मुख हेर्ने पर्व

आमाबाबुलाई आदरसत्कार नगर्नु भनेर कसले भन्छ र ? तर सबै धार्मिक समुदायमा ‘आमाको मुख हेर्ने’ र ‘बाबुको मुख हेर्ने’ पर्व त छ...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्