२२ असार २०८३, सोमबार

के हाे "वन हेल्थ" दृष्टिकोण ?


अ+
अ-

सामुदायिक सहभागिता र स्थानीय स्वामित्व बिना प्रभावकारी तथा दिगो विपद् व्यवस्थापन सम्भव हुँदैन। समुदायस्तरमा पशु उद्धार टोली गठन, स्वयंसेवक परिचालन, जनचेतना अभिवृद्धि कार्यक्रम सञ्चालन, विद्यालय तथा समुदायस्तरीय अभ्यास तथा सिमुलेसन कार्यक्रमहरूको आयोजना तथा स्थानीय ज्ञान, सीप र परम्परागत अभ्यासहरूको उपयोगले विपद् व्यवस्थापन प्रणालीलाई थप सुदृढ र प्रभावकारी बनाउन सहयोग पुर्‍याउँछ।
समुदायको सक्रिय सहभागिता र स्थानीय स्रोत–साधनको परिचालनबाट मात्र मानिस,जनावर र वातावरणको साझा सुरक्षा सुनिश्चित गर्दै उत्थानशील र दिगो समाज निर्माण गर्न सकिन्छ ।

के हाे वन हेल्थ (One Health) दृष्टिकोण ?
मानिस, जनावर र वातावरणबीचको घनिष्ठ अन्तरसम्बन्धलाई स्वीकार गर्ने समन्वित अवधारणालाई "वन हेल्थ" भनिन्छ। यस अवधारणाले मानव स्वास्थ्य, पशु स्वास्थ्य र वातावरणीय स्वास्थ्य एकअर्कासँग अभिन्न रूपमा जोडिएका छन् भन्ने मान्यतालाई आत्मसात् गर्दै बहु–क्षेत्रीय सहकार्य, समन्वय र एकीकृत कार्यप्रणालीमार्फत साझा चुनौतीहरूको समाधानमा जोड दिन्छ। विशेषगरी महामारीजन्य रोगहरूको जोखिम, जलवायु परिवर्तनका प्रभाव, खाद्य तथा पोषण सुरक्षा, जैविक विविधता संरक्षण तथा विपद् जोखिम व्यवस्थापनका सन्दर्भमा मानव स्वास्थ्य,पशु स्वास्थ्य र वातावरणीय स्वास्थ्यबीचको प्रभावकारी सहकार्यको आवश्यकता दिनप्रतिदिन बढ्दै गएको छ। विश्वव्यापी रूपमा विकसित हुँदै गएको वन हेल्थ दृष्टिकोणले रोगको रोकथाम तथा नियन्त्रण, खाद्य प्रणालीको सुदृढीकरण, वातावरणीय सन्तुलनको संरक्षण तथा समुदायको उत्थानशीलता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने मान्यता राख्दछ।
नेपाल जस्तो कृषि तथा पशुपालनमा आधारित, जैविक विविधताले सम्पन्न र बहुविपद् जोखिमयुक्त मुलुकका लागि पनि यस अवधारणाको सान्दर्भिकता अझ बढी रहेको छ। त्यसैले महामारी नियन्त्रण,खाद्य सुरक्षा, जलवायु परिवर्तन अनुकूलन, विपद् जोखिम न्यूनीकरण तथा दिगो विकासका लक्ष्यहरू हासिल गर्न मानव, पशु र वातावरण क्षेत्रबीचको अन्तरसम्बन्धलाई संस्थागत रूपमा सुदृढ गर्दै वन हेल्थ अवधारणालाई नीति, योजना तथा कार्यान्वयन प्रणालीमा प्रभावकारी रूपमा समावेश गर्नु आजको आवश्यकता मात्र नभई समयको अपरिहार्य माग बनेको छ ।
विश्वका असल अभ्यासहरू
विश्वका विभिन्न देशहरूले विपद् व्यवस्थापनमा जनावरहरूको संरक्षण तथा कल्याणलाई क्रमशः प्राथमिकतामा राख्दै पशु समावेशी दृष्टिकोणलाई संस्थागत गरेका छन्। संयुक्त राज्य अमेरिका, जापान, अष्ट्रेलिया, फिलिपिन्स तथा न्यूजिल्याण्डजस्ता देशहरूले विपद् पूर्वतयारी, उद्धार, अस्थायी आश्रय व्यवस्थापन तथा पुनःस्थापनाका कार्यक्रमहरूमा पशुधन, घरपालुवा जनावर तथा वन्यजन्तुको सुरक्षालाई समावेश गरेका छन्। विशेषगरी,मानिस र जनावरको संयुक्त उद्धार, पशु-अनुकूल आश्रयस्थल,आपतकालीन पशु स्वास्थ्य सेवा तथा समुदायस्तरीय पूर्वतयारी अभ्यासलाई विपद् व्यवस्थापन प्रणालीको अभिन्न अङ्गका रूपमा विकास गरिएको छ।

त्यसैगरी, लाइभस्टक इमर्जेन्सी गाइडलाइन्स एण्ड स्टाण्डर्ड ( एलइजिएस) तथा विश्व पशु स्वास्थ्य संगठन( डब्लुओएएच)द्वारा विकसित मापदण्डहरूले पशुधन तथा पशु कल्याणलाई मानवीय सहायता प्रणालीसँग एकीकृत गर्दै विपद्को समयमा पशु स्वास्थ्य, चारा व्यवस्थापन, उद्धार तथा पुनर्स्थापनाका लागि स्पष्ट मार्गदर्शन प्रदान गरेका छन्। यस्ता अन्तर्राष्ट्रिय अनुभव र असल अभ्यासहरूले पशुहरूको संरक्षणले मानव सुरक्षा, खाद्य सुरक्षा, जीविकोपार्जन संरक्षण तथा समुदायको उत्थानशीलतामा प्रत्यक्ष योगदान पुर्‍याउने तथ्यलाई स्थापित गरेका छन्। नेपालले पनि यी अनुभवहरूबाट सिक्दै आफ्नो भौगोलिक, सामाजिक तथा आर्थिक सन्दर्भअनुकूल राष्ट्रिय नीति, मापदण्ड, कार्यविधि तथा मार्गदर्शन विकास गरी पशु समावेशी विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्रणालीलाई थप प्रभावकारी र संस्थागत बनाउन सक्दछ ।

यसका लागि नेपाल सरकारले प्रमुख रूपमा गर्नु पर्ने कामहरूमा राष्ट्रिय पशु-विपद् व्यवस्थापन मार्गदर्शन तयार गर्ने, पशु समावेशी विपद् व्यवस्थापन नीति तथा मापदण्ड विकास गर्ने, राष्ट्रिय तथा स्थानीय तहमा बजेट विनियोजन सुनिश्चित गर्ने पर्दछन् ।
यस्तै, पशु उद्धार तथा अस्थायी आश्रयका मापदण्ड विकास गर्ने, पशु स्वास्थ्य तथा वन हेल्थ अवधारणालाई संस्थागत गर्ने,
विपद् व्यवस्थापन तालिमहरूमा पशु समावेशी विषयवस्तु समावेश गर्ने, जोखिम नक्साङ्कन तथा तथ्याङ्क प्रणाली विकास गर्ने गर्नु पर्दछ ।
मानवीय संस्थाहरूका लागि सिफारिस
कार्यक्रमहरूमा पशुसमावेशी विपद् जाेखिम न्यूनीकरण (एनिमल इन्क्लुशिभ डिआरआर) अवधारणा समावेश गर्ने, क्षमता विकास तथा तालिम सञ्चालन गर्ने, पशु स्वास्थ्य तथा पशु कल्याण क्षेत्रसँग सहकार्य गर्ने, स्थानीय सरकार र समुदायसँग साझेदारी सुदृढ गर्ने,
वन हेल्थ दृष्टिकोणलाई प्रवर्द्धन गर्ने तथा
आपतकालीन प्रतिकार्यमा पशु सम्बन्धी आवश्यकतालाई समावेश गर्ने गरिनु पर्दछ ।

विपद् व्यवस्थापन केवल मानव केन्द्रित प्रक्रिया मात्र होइन; यो मानिस, जनावर र वातावरणबीचको अन्तरनिर्भर सम्बन्धलाई स्वीकार गर्दै सबैको साझा सुरक्षा, संरक्षण र उत्थानशीलता सुनिश्चित गर्ने समग्र तथा एकीकृत प्रणाली हो।
मानिस, जनावर र वातावरण एकअर्कासँग घनिष्ठ रूपमा सम्बन्धित भएकाले कुनै एक पक्षको सुरक्षा र कल्याणलाई बेवास्ता गरेर समग्र समाजको दिगो विकास तथा उत्थानशीलता हासिल गर्न सकिँदैन। त्यसैले आधुनिक विपद् व्यवस्थापनको अवधारणाले मानव जीवनको संरक्षणसँगै पशुधन, घरपालुवा जनावर, वन्यजन्तु तथा तिनको बासस्थानको संरक्षणलाई समेत समान रूपमा महत्व दिन थालेको छ।

नेपालको सामाजिक, आर्थिक तथा सांस्कृतिक संरचनामा पशुधन र अन्य जनावरहरूको विशेष महत्व रहेको छ। लाखौं नेपाली परिवारहरूको जीविकोपार्जन,खाद्य तथा पोषण सुरक्षा, आयआर्जन र सामाजिक जीवन प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा पशुपालनसँग जोडिएको छ। 
त्यसैले विपद्का कारण जनावरहरूमा हुने क्षतिले केवल आर्थिक नोक्सानी मात्र निम्त्याउँदैन, यसले खाद्य असुरक्षा, गरिबी, बेरोजगारी, मानसिक तनाव तथा समुदायको समग्र पुनःस्थापनामा समेत दीर्घकालीन असर पार्ने गर्दछ।

 यसका अतिरिक्त, वन्यजन्तु तथा जैविक विविधतामा पर्ने असरले पारिस्थितिक प्रणालीको सन्तुलन तथा वातावरणीय दिगोपनामा समेत चुनौती सिर्जना गर्दछ।
यद्यपि नेपालमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी नीतिगत तथा संस्थागत संरचनाहरू क्रमशः सुदृढ हुँदै गएका छन् ।पशुधन, घरपालुवा जनावर तथा वन्यजन्तुको संरक्षण र कल्याणलाई विपद् व्यवस्थापनको मूल प्रवाहमा संस्थागत गर्ने कार्य अझै प्रारम्भिक अवस्थामै रहेको छ।

विपद् पूर्वतयारी, उद्धार, अस्थायी आश्रय, पशु स्वास्थ्य सेवा, चारा तथा दानाको व्यवस्थापन, पुनःस्थापना तथा पुनर्लाभका पक्षहरूलाई थप व्यवस्थित र संस्थागत गर्न आवश्यक देखिन्छ। यसका लागि संघ,प्रदेश तथा स्थानीय तहका सरकारहरू, मानवीय सहायता क्षेत्रमा कार्यरत संस्थाहरू,पशु स्वास्थ्य क्षेत्र,समुदाय तथा विकास साझेदारहरूबीच प्रभावकारी समन्वय,सहकार्य र स्रोत परिचालन अपरिहार्य छ। पछिल्ला वर्षहरूमा विश्वव्यापी रूपमा विकास भएको वन हेल्थ तथा पशुसमावेशी विपद् जाेखिम न्यूनीकरण (एआइडिआरआर)”अवधारणाले मानिस, जनावर र वातावरणबीचको अन्तरसम्बन्धलाई केन्द्रमा राख्दै विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी, प्रतिकार्य तथा पुनर्लाभका सम्पूर्ण चरणहरूमा एकीकृत दृष्टिकोण अपनाउनुपर्ने आवश्यकतामा जोड दिएका छन्। संयुक्त राष्ट्रसंघीय निकायहरू, विश्व स्वास्थ्य संगठन (डब्फुएचओ),खाद्य तथा कृषि संगठन (एफएओ), विश्व पशु स्वास्थ्य संगठन (डब्लुओएएच) तथा अन्य अन्तर्राष्ट्रिय संस्थाहरूले समेत दिगो विकास,खाद्य सुरक्षा,महामारी नियन्त्रण,जैविक विविधता संरक्षण तथा समुदायको उत्थानशीलता अभिवृद्धिका लागि यस दृष्टिकोणलाई महत्वपूर्ण आधारका रूपमा स्वीकार गरेका छन् ।
नेपालले पनि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका नीति,योजना तथा कार्यक्रमहरूमा पशु समावेशी दृष्टिकोणलाई संस्थागत गर्दै राष्ट्रिय तथा स्थानीय तहका योजनाहरूमा यसको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न आवश्यक छ। विशेषगरी स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना (एलडिसिआरपि ),जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना (डिपिआरपि),सामुदायिक विपद् व्यवस्थापन योजना (सिडिएमपि) तथा अन्य विकास योजनाहरूमा पशुधन,घरपालुवा जनावर तथा वन्यजन्तुको संरक्षण र कल्याणलाई अभिन्न अङ्गका रूपमा समावेश गरिनुपर्दछ। साथै,पशु उद्धार तथा अस्थायी आश्रयसम्बन्धी मापदण्ड विकास,पशु स्वास्थ्य सेवाको सुदृढीकरण,क्षमता अभिवृद्धि,जनचेतना विस्तार तथा बहु–क्षेत्रीय समन्वयलाई थप प्रभावकारी बनाउन आवश्यक छ ।
मानिस,जनावर र वातावरणबीचको साझा अस्तित्व तथा पारस्परिक निर्भरताको वास्तविकतालाई आत्मसात् गर्दै विपद् व्यवस्थापनलाई अझ समावेशी,दिगो र उत्थानशील बनाउनु आजको आवश्यकता मात्र नभई समयको अपरिहार्य माग हो। जनावरलाई बेवास्ता गरेर सुरक्षित र समृद्ध समाज निर्माण सम्भव छैन। तसर्थ,पशु समावेशी विपद् व्यवस्थापनलाई राष्ट्रिय प्राथमिकताका रूपमा स्थापित गर्दै “वन हेल्थ ”अवधारणामा आधारित समन्वित प्रयासहरूलाई सुदृढ गर्न सकिएमा मानव सुरक्षा, खाद्य सुरक्षा, जीविकोपार्जन संरक्षण, जैविक विविधताको संवर्द्धन तथा दिगो विकासका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लक्ष्यहरू हासिल गर्न महत्वपूर्ण योगदान पुग्नेछ ।
अन्ततः,मानिस,जनावर र वातावरणको साझा सुरक्षाबाट मात्र सुरक्षित,समृद्ध,दिगो तथा उत्थानशील नेपालको निर्माण सम्भव हुनेछ।
यही साझा उत्तरदायित्व, सहकार्य र दूरदृष्टिले भविष्यका विपद्हरूको सामना गर्न सक्षम, समावेशी र उत्थानशील समाज निर्माणको आधार तयार गर्नेछ ।
(लेखक केशव दत्त भट्ट प्रकाेप पूर्वतयारी सञ्जाल,( डिपीनेट) नेपालका उपाध्यक्ष हुन् ।)

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
केशव दत्त भट्ट

मेगु पोस्त: केशव दत्त भट्ट

छिं लेखकाः मेगु लेख
पशु समावेशी विपद् व्यवस्थापन कसरी गर्ने ?

पशु समावेशी विपद् व्यवस्थापन कसरी गर्ने ?

पशु समावेशी विपद् व्यवस्थापन कसरी गर्ने ?...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्