एघारौँ दिनमा दुई चमत्कारिक उद्धार : भग्नावशेषबाट ६० वर्षीया महिला र सुरुङबाट चिनियाँ नागरिक जीवितै निकालिए
नुवाकोट, २० भदौ। भदौ १० गतेको विनाशकारी बाढी तथा पहिरोपछि उद्धार कार्य जारी रहेका बेला नुवाकोटमा शुक्रबार साँझ दुई जनाको चमत्कारिक रूपमा जीवितै उद्धार गरिएको छ।
नुवाकोटको विदुर नगरपालिका–१०, बेत्रावतीमा भत्किएको चारतले घरको भग्नावशेषबाट ६० वर्षीया चण्डिका श्रेष्ठलाई जीवितै उद्धार गरिएको छ। त्यस्तै, माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–४ सुरुङबाट एक जना चिनियाँ नागरिकको पनि सकुशल उद्धार गरिएको छ।
बेत्रावतीमा पुरिएको घरको भग्नावशेषभित्रबाट महिलाको आवाज सुनिएपछि सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र अन्य उद्धारकर्मीको संयुक्त टोली परिचालन गरिएको थियो। सशस्त्र प्रहरीको नम्बर १९ गुल्मबाट इन्स्पेक्टर सुमनकुमार विकको कमाण्डमा गएको नौ सदस्यीय टोली र नेपाल प्रहरीको संयुक्त प्रयासमा श्रेष्ठलाई भग्नावशेषबाट जीवितै निकालिएको हो।
उद्धारपछि श्रेष्ठलाई आवश्यक स्वास्थ्य परीक्षण तथा उपचारका लागि पठाइएको छ।
यसैबीच, माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको २१६ मेगावाट क्षमताको आयोजनाको अडिट–४ सुरुङमा फसेका एक चिनियाँ प्राविधिकलाई नेपाली सेनाको उद्धार टोलीले जीवितै बाहिर निकालेको छ।
भदौ १० गते आएको विनाशकारी बाढीका कारण सुरुङ तथा विभिन्न संरचनामा फसेका व्यक्तिको खोजी तथा उद्धार कार्य निरन्तर चलिरहेको छ। कठिन भौगोलिक अवस्था, भग्नावशेष र सुरुङभित्रको जोखिमका बाबजुद सुरक्षाकर्मी तथा उद्धारकर्मीले खोज तथा उद्धारलाई तीव्रता दिइरहेका छन्।
भदौ १० गतेको विपद्को आज एघारौँ दिनमा भएको यी दुई उद्धारले निरन्तरको खोज, मेहनत र उद्धार प्रयासबाट अझै पनि जीवन बचाउन सकिने आशा जीवित रहेको सन्देश दिएको छ।
उद्धारमा संलग्न सुरक्षाकर्मी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीयको निरन्तर प्रयासले विपद्को पीडाबीच आशाका नयाँ किरण देखाएको छ।
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment