एकै दिनमा सकिन्न नेवारको लक्ष्मी पूजा
प्रत्येक तिहारमा एउटा आकर्षण लक्ष्मी पूजा हुन्छ । यसलाई यमपञ्चक पनि भनिन्छ र पाँच दिनको तिहार भनिन्छ । तर नेवार संस्कृतिमा यमपञ्चकबारे खासै चासो हुँदैन र तीन दिन मात्र मनाइन्छ । यी तीन दिनको सांस्कृतिक पर्वलाई स्वन्ति भनिन्छ । स्वन्तिमा पहिलो दिन लक्ष्मीपूजा, दोस्रो दिन म्ह पूजा र चौधा दिन किजापूजा । अन्य समुदायमा लक्ष्मी पूजा सोही दिन सम्पन्न हुन्छ तर नेवारमा भने त्यही दिन सम्पन्न हुँदैन, अलि लम्बिन्छ । लक्ष्मी पूजाको दिन थापना गरेर चौथो दिन मात्रै विसर्जन गरिन्छ । तसर्थ अन्य समुदायको भन्दा नेवार समुदायको लक्ष्मी पूजा अलि फरक हुन्छ । लक्ष्मीपूजा मात्रै नभएर तिहार र स्वन्तिलाई एउटै आँखाले हेर्ने तथा सतहमा केही समानता देखेकै भरमा उही हो भनेर व्याख्या दिन हतार गर्नु हुँदैन ।
भारतमा त्यौहार र नेपालको पहाडी भेगमा तिहार नामबाट प्रचलित पर्व नै नेवारको स्वन्ति भनेर बुझ्नु आफूमात्रै झुक्किने होइन कि त्यसरी बुझाउनु अरुलाई पनि झुक्याउनु हो । जसरी दशैं वा दशहराको समयमा नेवारहरू बेग्लै पाराले मोहनी नखः मनाइरहेका हुन्छन् त्यसरी नै दिवाली वा तिहारको बेला पनि नेवारहरू बेग्लै पाराले स्वन्ति नखः मनाइरहेका हुन्छन् ।
लक्ष्मी भनेर जसलाई पूजा गरिन्छ, त्यस लक्ष्मीका सम्बन्धमा बहुआयामिक दृष्टिकोण अपनाउन सकिएन भने कुरा अलमलिने संभावना अधिक हुन्छ । लक्ष्मी एउटै छैनन् । नेवारले स्वन्तिमा पूजा गर्ने लक्ष्मीको नाम धनलक्ष्मी र महालक्ष्मी हो । तान्त्रिक पद्दतिबाट लक्ष्मीको पूजा गर्नुपर्ने नेवारहरूले महालक्ष्मीको पूजा गर्ने हुन् । यसरी नै बौद्धहरू धनलक्ष्मीको पूजा गर्दछन् । धनलक्ष्मी बसुन्धराको स्वरूप हो । यसलाई अझ सरल रूपमा बुझाउनु पर्दा नेवारहरूले बसुन्धरादेवीसित सम्बन्धित तीन वटा पर्व मनाउँछन् । बसुन्धरादेवी को हुन् ? भन्ने प्रश्न पनि उठ्छ । बसुन्धरा रत्नसम्भव कुलबाट आएकी देवी हुन् र यिनको तीन वटा स्वरूप रहेको पाइन्छ । यिनलाई धन, धान्य र भूमिकी बोधिसत्वका रूपमा लिने गरिन्छ । धन, धान्य र भूमि प्रदायकका रूपमा लिइने यी देवीलाई विभिन्न अवसर विशेषमा पूजा गर्ने चलन छ । यसअनुसार स्वन्ति नखःको सुरुवात धनलक्ष्मीको पूजाबाट हुन्छ । यो आश्विन कृष्ण औंसीका दिन पर्दछ । यसरी नै मार्ग शुक्ल पूर्णिमाका दिन बसुन्धराकै अर्को रूप धान्यलक्ष्मीको पूजा गरिन्छ । तेस्रो पल्ट गुँलाको समाप्तीपछि वसुन्धराको पूजा गरेर गातिला व्रत बसिन्छ । यो वसुन्धरा देवीकै व्रत हो । प्राचीन नेवार समाजमा बर्षभरिमा बेग्लाबेग्लै १६ लक्ष्मीको पूजा गर्ने चलन थियो । प्रत्येक महिना दुई जना लक्ष्मीको पूजा गर्ने उक्त चलन अहिले हराएको छ ।
लक्ष्मीलाई बहुआयामिक रूपमा बुझ्नुपर्ने हुन्छ । लक्ष्मीको पूजा बौद्ध तथा नेवार दुबै धर्मावलम्बी नेवारका लागि अत्यन्तै महत्वपूर्ण देवी हुन् । स्वन्तिमा नेवार समाजमा पुजिने लक्ष्मी (धनलक्ष्मी) तथा महालक्ष्मी अन्य हिन्दू समाजमा पुजिने लक्ष्मीभन्दा धेरै मात्रामा फरक रहेको पाइन्छ । एउटै होइनन् । तसर्थ एउटै लक्ष्मी भनेर बुझ्न भ्रममा पर्नु हो । हिन्दु परम्परामा देवी लक्ष्मी विष्णु भगवानकी धर्मपत्नी हुन् । उनको प्रतिमा लक्षण नै फरक पाइन्छ । यी लक्ष्मी माथिल्ला दुई हातले पुष्प समाइ रहेकी र तल्ला दुई हातमध्ये दायाँ हात अभयमुद्रा वा वरदमुद्रामा हुन्छिन् । यसरी नै बाँया हातले धनको वर्षा गरिरहेको चित्रण गरिन्छ । कुनै चित्रमा दायाँ बायाँ हात्तीले जलाभिषेक गरिरहेको हुन्छ र हात्तीद्वारा जलाभिषेक गराइरहेकी लक्ष्मीलाई गजलक्ष्मी भनिन्छ । हात्तीले जलाभिषेक गराइरहेको दृष्य नभएको लक्ष्मीको पनि प्रयोग हुने गरेको पाइन्छ । तसर्थ नेवारबाहेकका हिन्दूहरूले यस दिन आफूअनुकुल फरक फरक लक्ष्मीको पूजा गर्ने हुन् भन्न सकिन्छ । तर यो स्पष्ट छ, यी लक्ष्मी सात्विक हुन्छिन् र माछामासुजस्ता खाद्यवस्तुले पूजा गरिन्न । तर नेवार समाजमा स्वन्ति पर्वमा पूजा गरिने धनलक्ष्मीको प्रतिमा लक्षण बेग्लै हुन्छन् । यिनको पनि चार हात त हुन्छ तर सिंहासनमा अर्धपर्यङ्काशनमा विराजमान हुन्छिन् । यो वसुन्धराको आशन हो । यो आर्यताराको पनि आशन हो । माथिल्ला दुई हातमध्ये दायाँ हातले सामान्यतः ‘ज्वला न्हायकं’ (नेवार समाजमा प्रचलित ऐन) समाइ रहेकी हुन्छिन भने बाँया हातले ‘सिन्हःमू’ (टिका थाली) समाइरहेकी हुन्छिन् । यसरी नै तल्ला दुई हातमध्ये दायाँ हात वरद मुद्रामा र बाँया हात अभयमुद्रामा हुन्छिन् । साथै, लक्ष्मीको चित्रसँगै कुबेर, ख्याः, आदिको पनि चित्रण गरिएको हुन्छ । वसुन्धरालाई महालक्ष्मीका रूपमा कारण्डव्यूह वा गुणकारण्डव्यूहमा उल्लेख गरिएको पाइन्छ । उक्त सुत्रअनुसार वसुन्धरालाई बोधिसत्व आर्यावलोकितेश्वरले ‘तपाई लक्ष्मी, श्री महादेवी, माहेश्वरी र वसुन्धरा हुनुहुन्छ । तपाईं सबै सम्पद सुख र उत्साह दिइरहने हुनुहुन्छ । सदा जगतलाई धर्मदान गरेर धर्ममा प्रतिस्थापति गरेर पालन गरिरहनुहोस्’’ भनेको पाइन्छ ।
लक्ष्मी पूजाको दिन नेवार समाजमा विहानै घर अगाडि पिखालखुमा लिपपोट गरेर रातो मातोले मण्डप बनाई घरको धुकुतिसम्म तानिन्छ । पिखालखुमा मण्डप बनाउनुको अर्थ लक्ष्मीलाई स्वागत गर्न हो भने धुकितिसम्म सोही रातो माटोले तान्नुको अर्थ आदरसम्मानका साथ बाटो बनाउनु हो । धुकुतिमा धनलक्ष्मीको तस्वीर राखी त्यस अगाडि फलफूल तथा अन्य पूजा सामग्री राखिन्छ ।
नेवार समाजमा लक्ष्मी पूजाको सम्बन्ध दशैंसँग जोडिएको पाइन्छ । दशैंको बेला जुन पशु वा पंक्षीको बली चढाइन्छ, त्यसको एक टुक्रा मासु लक्ष्मीका लागि भनेर छुट्याइएको हुन्छ । अर्थात् लक्ष्मी पूजामा दशैंको मासु पनि राखिन्छ । दशैंमा पशुबली नचढ्ने घरमा भने यो हुँदैन । घरमा रहेका पुराना सिक्काहरू पनि यसै अवसरमा पूजा गर्न लक्ष्मीको तस्वीरसँगै राखिन्छन् । लक्ष्मी पूजा एकै दिनमा सम्पन्न हुँदैन । नेवारहरू भोलिपल्ट म्हपूजा गर्दछन् । सोही अनुसार लक्ष्मीको पनि म्हपूजा गरिदिन्छन् । तेस्रो दिनमा किजापूजा भनेर अर्को पूजा सम्पन्न हुन्छ भने चौथो दिन विहान मात्र लक्ष्मी पूजाको विसर्जन गरिन्छ ।
लक्ष्मीपूजाको विसर्जनलाई ‘लक्ष्मीद्यः क्वकायेगु’ भनिन्छ । ‘लक्ष्मीद्यः क्वकायेगु’ भनेर विसर्जन गरी चढाइएका फलफूल तथा खाद्य सामग्रीहरू प्रसादको रूपमा ग्रहण गरिन्छन् । यो प्रसाद ग्रहण गर्नका लागि विवाह गरी गइसकेका छोरीबेटीहरूलाई पाहुना डाक्नुपर्ने चलन रहेको छ ।
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment