संयुक्त राष्ट्र संघमा नेपाल सम्बत
संयुक्त राष्ट्र संघको प्रधान कार्यालयमा नेपाल सम्बत ? हो, नेपाल सम्बत । नेपाल सम्बतअनुसार नयाँ वर्षको औपचारिक कार्यक्रम ‘नेपाल डे’ । कतिपयलाई यो काल्पनिक वा कल्पनातीत कुरा होला । नेपालको आफ्नै सम्बत, नेपाल देशकै नामबाट नामाकरण भएको एउटा विशिष्ट सम्बत । नेपालदेखि निकै ढाटाअमेरिकामा, त्यो पनि गरिमामय विश्वसंस्था संयुक्त राष्ट्र संघको प्रधान कार्यालयमा नेपाल सम्वतले ठाउँ पाउनु नेपाली मात्रको गौरवको कुरा हो । तर यो इतिहासको कुरा हो । बितिसकेको कुरालाई इतिहास भनिन्छ, दोहोरिँदैन । तर संयुक्त राष्ट्र संघमा नेपाल सम्बतको कुरा इतिहास मात्रै होइन, पहल गर्ने हो भने दोहोरिन्छ पनि, संभव छ, इतिहासले पुनः निरन्तरता पाउन सक्छ र वर्तमान बन्छ ।
दोस्रो विश्वयुद्धको पृष्ठभूमिमा संयुक्त राष्ट्र संघको स्थापना सन् १९४५ मा भयो । नेपाल सन् १९५५ मा संयुक्त राष्ट्रसङ्घको सदस्य बन्यो र विश्वमञ्चमा उभियो । अन्तर्राष्ट्रिय समुदायसमक्ष नेपालले आफ्नो छुट्टै ऐतिहासिक तथा सांस्कृतिक पहिचान प्रस्तुत गर्ने अवसर पायो । भौगोलिक रूपमा दुई विशाल देश भारत र चीजको च्यापमा परेको नेपालको चिनारी विश्व परिवेशमा ज्यादै संकुचित थियो र त्यस अवस्थामा आफ्नो पहिचान प्रस्तुत गर्नु नेपालको लागि अत्यन्तै आवश्यक थियो । नेपालले आफ्ना मौलिक कुराहरू प्रस्तुत गर्दै विश्वको ध्यानाकर्षण गरायो । यसमा नेपाल संवत्, नेपाली मौलिक संस्कृति र लिपिलाई पनि पहिचानका आधारका रूपमा प्रस्तुत गरिएको थियो । वि.सं. २०१५ सालको पहिलो आमनिर्वाचनपछि २०१६ सालमा बीपी कोइराला प्रधानमन्त्री बनेको लोकतान्त्रिक वातावरणमा संयुक्त राष्ट्रसंघमा रहेका नेपाली प्रतिनिधिहरूको पहलमा नेपाल संवतको पहिलो दिनलाई ‘नेपाल डे’ का रूपमा मनाउन थालिएको थियो । सरकारले संयुक्त राष्ट्र संघमा नेपाल सम्बतअनुसार नयाँ वर्षको दिन ‘नेपाल डे’ मनाउने निधो गरेअनुसार प्रत्येक वर्ष नेपालको संस्कृति, कला, सम्पदा, परम्परा र राष्ट्रिय पहिचान प्रस्तुत गरिन्थ्यो । अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई परिचित गराउने र नेपालको सांस्कृतिक पहिचान प्रस्तुत गर्ने प्रमुख उद्देश्य हो ।
'नेपाल डे' को मूल उद्देश्य नेपालको राष्ट्रिय पहिचान र सांस्कृतिक विशिष्टता प्रस्तुत गर्नु थियो । यस क्रममा नेपाल संवतको नयाँ वर्षको अवसरमा विशेष कार्यक्रम आयोजना गर्ने, नेपालको मौलिक संस्कृति र परम्पराको परिचय दिने, नेपाली कला, लिपि तथा सांस्कृतिक सम्पदाको प्रदर्शन गर्ने, संयुक्त राष्ट्रसङ्घमा रहेका विभिन्न देशका प्रतिनिधिहरूलाई नेपालको परिचय गराउने हो । नेपालको प्रागइतिहासदेखि नै घनिष्ट सम्बन्ध राख्ने र इतिहासको त्यो लेगेसी पनि बौक्दै आएको नेवार समुदायको इतिहास भन्नु नेपालको इतिहास हो । नेवार नामबाटै नेपाल बनेको र विकासको क्रममा विस्तृत भौगोलिक संरचनाको नाम नेपाल नै रहेको अवस्थामा विविध जाति, भाषा, सभ्यता तथा संस्कृतिको साझा फूलवारी बन्यो । यस अवस्थामा नेपालभित्र रहेका सबै पहिचानहरू नेपाल र नेपालीमा समाहित भएको मान्नु पर्दछ । यस अर्थमा अब नेपाल सम्बत वा ‘नेपाल डे’लाई पनि केवल नेवार समुदायको सांस्कृतिक कार्यक्रमका रूपमा मात्र बुझ्नु उचित हुँदैन ।
तर ‘नेपाल डे’ बन्द हुनपुग्यो ।
इतिहासले कोल्टे फेर्ने क्रममा दुर्भाग्यवश संकुचित र अनुदारवादी शासन व्यवस्थाको हातमा पर्न गएको थियो । जननिर्वाचित सरकारलाई अपदस्त गरी राजा महेन्द्रले २०१७ सालमा आफ्नै ढंगले पञ्चायती नामबाट शासन व्यवस्था संचालन गरेको थियो । निर्दलीय पंचायती व्यवस्था अप्रजातान्त्रिक त थियो नै, झट्ट हेर्दा राष्ट्रवादी देखिएपनि वास्तवमा राष्ट्रघाती थियो । विविधताले भरिपूर्ण तथा अनेकौं सभ्यताको साझा फूलवारीको रूपमा रहेको नेपालमा त्यो विविधताको पहिचानलाई संकुचित गर्दै शासकीय चरित्रमा आधारित एक भाषा, एक भेषको नीति थियो । यसअन्तर्गत राज्यसत्तामा रहेका शासक वर्गको भाषा नै सम्पूर्ण नेपाली माथि लाड्ने काम भयो । हिन्दू धर्म त लाड्यो नै तर त्यो पहाडिया हिन्दू संस्कृतिमा आधारित थियो अर्थात्, यसले सबै हिन्दूलाई समेटेको थिएन । विस्तारै सबैलाई आफ्नो संस्कार र संस्कृतिमा विलय गराउने नीति लिएको थियो । शासन व्यवस्था अत्यन्तै निरंकुश र तानाशाही थियो । यसो हुँदाहुँदै पनि सानोतिनो स्वतन्त्रतालाई उपयोग गर्दै नेवार समुदायले आफ्नो गतिविधिलाई अगाडि बढाइ नै रहेको थियो । विभिन्न संघसंस्थालाई समेट्ने क्रममा वि.सं. २०३६ सालमा नेपालभाषा मंकाः खलः’ नामको एउटा संस्था गठन भयो र नेपाल संवतको नयाँ वर्षमा शुभकामना आदानप्रदान तथा भिन्तुना जुलुसका कार्यक्रमहरू अघि बढाइए । पञ्चायती शासनको आँखा नेवार समुदायको गतिविधिमा पर्नु स्वाभाविक थियो र नेपाल संवत्को नाममा हुने गतिविधिमाथि नै पूर्वाग्रह राख्न थाल्नुका साथै विभिन्न बहानामा त्यसलाई नियन्त्रण गर्न खोजेको पाइन्छ । नेपालमा यति हुँदाहुँदै पनि संयुक्त राष्ट्र संघमा मनाउँदै आएको ‘नेपाल डे’ ले निरन्तरता पाइ नै रहेको थियो । राज्यको ध्येय नेपालका मौलिक कुराहरूलाई मास्नु हुँदाहुँदै पनि ‘नेपाल डे’ मनाउनु अन्तर्राष्ट्रिय वाध्यता भनेर बुझ्न सकिन्छ तर वि.सं. २०३८ (नेपाल संवत् ११०२) सालसम्ममा संयुक्त राष्ट्रसङ्घलगायत विभिन्न कूटनीतिक नियोगमा मनाइँदै आएको ‘नेपाल डे’ को परम्परालाई तत्कालीन पञ्चायती सरकारले खारेज नै ग¥यो ।
पञ्चायतकालमा नेपाल संवतलाई केवल एउटा पात्रो वा नेवार समुदायको सांस्कृतिक परम्पराका रूपमा मात्र हेरिएको थिएन । यसले राष्ट्रिय पहिचान, भाषिक अधिकार, सांस्कृतिक स्वायत्तता र राजनीतिक चेतनासँग पनि सम्बन्ध स्थापित गरिसकेको थियो । त्यसैले ‘नेपाल डे’ बन्द गरिनुलाई एउटा सांस्कृतिक कार्यक्रम बन्द गरिएको घटनाका रूपमा मात्र नभई नेपाल संवत् आन्दोलनलाई नियन्त्रण गर्ने तत्कालीन राज्यनीतिको एउटा उदाहरणका रूपमा पनि विश्लेषण गर्न सकिन्छ ।
पंचायती शासन व्यवस्थाले नेपाली समाजलाई कतिसम्म संकुचित र अनुदार बनाएको थियो भन्ने सन्दर्भमा नेपाल सम्बतअनुसार नयाँ वर्षको शुभकामना मात्रै दिँदा पनि कतिपय नेपालीहरू नै यसलाई साम्प्रदायिक भावना फैलाएको भन्दै हेय दृष्टिले हेर्दथे । शुभकामना कार्यक्रममा सहभागीहरूलाई प्रहरी प्रशासनले हठात् गिरफ्तार गरिन्थ्यो । आफ्नो जाति, भाषा, साहित्य, संस्कृति तथा पहिचान भनेर लाग्नेहरूदेखि राज्य सशंकीत हुन्थ्यो । राजधानीमा रहेका र लामो परम्परा बोकेका नेवारमाथि नै यस्तो समस्या आइरहेको अवस्थामा अन्य जातीय समुदायहरू स्वभावतः दबिएरै बसिरहेको थियो । विभिन्न जातीय समुदाय तथा पहिचानहरूको अस्तित्व राज्यले स्वीकार्न त स्वीकाथ्र्यो तर आफ्नै संकुचित भाष्यअन्तर्गत । जुन भाष्य स्वतन्त्र अस्तित्वको सवालमा खतरनाक हुन्थ्यो । पंचायती शासन व्यवस्थाविरुद्धको राजनीतिक आन्दोलनमा सांस्कृतिक दमन विरुद्धको उकुसमुकुसले पनि काम गरेको थियो । अन्ततः पंचायती व्यवस्था वि.सं. २०४६ सालको राजनीतिक आन्दोलनमा ढल्यो । राजनीतिक परिवर्तनसँगै सामाजिक तथा सांस्कृतिक क्षेत्रमा पनि परिवर्तन आएको पाइन्छ । राज्यले नेपाल सम्बतलाई क्रमशः अपनाउँदै जाने क्रममा यसलाई राष्ट्रिय सम्बत घोषणा गर्नुका साथै सरकारी लेखपढमा उल्लेख हुन थाल्यो । हिजोका दिनमा नेवार समुदायमा मात्रै सीमित नेपाल सम्बत नेवारमा मात्रै सीमित रहेन । कुनै बेला मुद्राहरूमा उल्लेख हुने नेपाल सम्बत धेरै वर्षपछि अब पुनः उल्लेख हुने भएको छ ।
जसरी नेपाल नाम अब नेवार समुदायको मात्रै रहेन, त्यसरी नै नेपाल सम्बत पनि नेवार समुदायको मात्रै भएन । नेपाल सम्बतअनुसार नयाँ वर्षको पहिलो दिन मनाइने ‘नेपाल डे’ लाई संयुक्त राष्ट्र संघमा पुनः निरन्तरता दिनुका साथै यसलाई अझ परिमार्जन गरेर व्यापकता दिनु पर्दछ, सबै नेपालीलाई समेट्ने एउटा अवसरको रूपमा यसलाई विकास गर्न सकिन्छ ।
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment