ग्यास अभाव तत्काल अन्त्य गर्न अखिल नेपाल महिला संगठन र कुलमान घिसिङको माग
काठमाडौं, साउन २० । खाना पकाउने एलपी ग्यासको चरम अभाव र बढ्दो महँगीप्रति अखिल नेपाल महिला संगठनले गम्भीर ध्यानाकर्षण गराउँदै सरकारसँग नियमित र सहज ग्यास आपूर्ति सुनिश्चित गर्न माग गरेको छ। संगठनले कृत्रिम अभाव, कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्न तत्काल प्रभावकारी कदम चाल्नुपर्ने जनाएको छ।
संगठनका संयाेजक दामा शर्मा तथा सहसंयाेजक मुनु सिग्देलद्वारा हस्ताक्षरित बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा ग्यास अभावका कारण विशेषगरी महिला, गरिब तथा श्रमजीवी वर्गको दैनिकी कष्टकर बनेको उल्लेख गर्दै खाना पकाउने ग्यासको अभावले नागरिकको खाद्य अधिकारसमेत प्रभावित भएको जनाएको छ। ग्यास भरेका सिलिन्डर सर्वसुलभ रूपमा उपलब्ध गराउन र आधारभूत उपभोग्य वस्तुको सहज आपूर्ति सुनिश्चित गर्न सरकारको संवैधानिक दायित्व रहेको संगठनको भनाइ छ।
यसैबीच, उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पनि ग्यास संकटको दीर्घकालीन समाधानका लागि विद्युतको प्रयोगलाई प्राथमिकता दिनुपर्ने बताएका छन्। उनले सरकारले घरायसी विद्युतमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ता लिएर विद्युतीय चुल्होको प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने धारणा राखेका छन्।
घिसिङले ग्यास सिलिन्डरमा निर्भरता बढाउनुको सट्टा सहुलियत दरमा इन्डक्सन चुल्हो वितरण गर्न, उत्पादित विद्युतको अधिकतम उपयोग तथा निर्यातका लागि प्रभावकारी योजना लागू गर्न र नेपाल विद्युत प्राधिकरणलाई अझ सक्षम तथा प्रभावकारी बनाउन सरकारसँग आग्रह गरेका छन्।
ग्यासको कृत्रिम अभाव र महँगीका कारण सर्वसाधारणको जनजीवन प्रभावित भइरहेका बेला विभिन्न राजनीतिक तथा सामाजिक क्षेत्रबाट तत्काल समस्या समाधानका लागि सरकारमाथि दबाब बढ्दै गएको छ।
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment