नवनियुक्त मुख्यसचिव गोविन्दबहादुर कार्कीलाई स्वागत
काठमाडौं, असार २५ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित एक विशेष समारोहका बीच भोलिदेखि सेवानिवृत्त हुन लागेका मुख्यसचिव सुमनराज अर्याललाई बिदाइ र भोलि नै कार्यभार सम्हाल्न लागेका नवनियुक्त मुख्यसचिव गोविन्दबहादुर कार्कीलाई स्वागत गरिएको छ।
विगत तीन दशक लामो निजामती सेवापछि अवकाश लिन लागेका निवर्तमान मुख्यसचिव अर्यालले देश र जनताको सेवा गर्ने अवसर पाएकामा खुसी व्यक्त गरेका थिए। ‘जेनजी’ आन्दोलनपछिको संवेदनशील अवस्थामा मुख्यसचिवको जिम्मेवारी चुनौतीपूर्ण रहे पनि राजनीतिक नेतृत्व, प्रधानमन्त्री वालेन्द्र शाहका सल्लाहकार, संवैधानिक आयोग, निजामती कर्मचारी र सुरक्षा निकायको बलियो सहयोगले आफ्नो कार्यकाल सफलतापूर्वक पूरा गर्न सकेको अर्यालले बताएका थिए।
समारोहमा प्रधानमन्त्री शाहका तर्फबाट राजनीतिक सल्लाहकार असिम शाहले राजनीतिक सरकार अस्थायी भए पनि कर्मचारीतन्त्र स्थायी सरकार भएकाले मुलुक सञ्चालनमा यसको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गरेका थिए। कर्मचारीको मूल्याङ्कन कामका आधारमा हुने स्पष्ट पार्दै उनले सेवानिवृत्त मुख्यसचिव अर्यालको अनुभव र ज्ञानलाई सरकारले आगामी दिनमा पनि उपयोग गर्ने र नवनियुक्त मुख्यसचिव कार्कीको नेतृत्वमा निजामती प्रशासन अझ प्रभावकारी बन्ने विश्वास व्यक्त गरेका थिए।
नवनियुक्त मुख्यसचिव कार्कीले आफ्नो नयाँ जिम्मेवारी इमानदारी, निष्पक्षता र उत्तरदायित्वका साथ निर्वाह गर्ने प्रतिबद्धता जनाए। सरकारले अघि बढाएका निजामती सेवा सुधारसम्बन्धी नीतिहरूलाई सार्वजनिक प्रशासन र राष्ट्रको हितमा प्रभावकारी रूपमा कार्यान्वयन गर्न आफू दृढ रहेको उनको भनाइ थियो।
कार्यक्रममा प्रधानमन्त्रीको स्वकीय सचिवालय तथा विभिन्न मन्त्रालयका सचिव र कर्मचारीहरूले अर्यालको योगदानप्रति आभार प्रकट गर्दै कार्कीलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।
समारोहमा प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाह, नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदिप ढकाल, सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्र, प्रमुख स्वकीय सचिव सुवास शर्मालगायतको सहभागिता थियो।
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment