ईयू सदस्य राष्ट्रका राजदूतद्वारा परराष्ट्रमन्त्री खनालसँग भेट, लगानी र सहकार्य विस्तारमा जोड
काठमाडौं, जेठ ११ । नेपालका लागि युरोपेली संघ (ईयू) का सदस्य राष्ट्रका राजदूतहरूले आज परराष्ट्र मन्त्रालयमा परराष्ट्रमन्त्री शिशिर खनालसँग संयुक्त भेटवार्ता गरेका छन् ।
काठमाडौं र नयाँदिल्लीस्थित ईयू सदस्य राष्ट्रका राजदूतहरूले मन्त्री खनालसँग भेट गर्दै नेपाल–ईयू सम्बन्ध, विकास साझेदारी तथा आपसी सहकार्यका विविध विषयमा छलफल गरेका हुन् ।
भेटका क्रममा मन्त्री खनालले नेपालप्रति युरोपेली संघले निरन्तर गर्दै आएको विकास साझेदारीको प्रशंसा गर्दै व्यापार, जलवायु कार्य, शिक्षा तथा जनस्तरको सम्बन्ध विस्तारमा सहकार्य अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका थिए ।
उनले सुशासनका लागि प्रभावकारी सेवा प्रवाह र भ्रष्टाचारविरुद्ध कडा अडान सरकारका प्रमुख प्राथमिकता रहेको उल्लेख गर्दै तीसँगै तीव्र आर्थिक विकासलाई पनि सरकारले प्राथमिकतामा राखेको बताए ।
मन्त्री खनालले लगानी सहजीकरण, निर्यात प्रतिस्पर्धात्मकता अभिवृद्धि तथा नवप्रवर्तन प्रवर्द्धनका लागि सरकारले आर्थिक सुधारका कार्यक्रम अघि बढाइरहेको जानकारी दिएका थिए । साथै जलविद्युत्, पर्यटन, पूर्वाधार विकास तथा सूचना प्रविधिका क्षेत्रमा थप विदेशी लगानीका लागि ईयू सदस्य राष्ट्रहरूलाई आग्रह गरेका थिए ।
नेपालले पछिल्ला वर्षहरूमा हवाई सुरक्षालगायत क्षेत्रमा उल्लेखनीय प्रगति गरेको उल्लेख गर्दै उनले नेपाललाई ईयू एयर सेफ्टी सूचीबाट हटाउने प्रक्रियामा सहयोग गर्न ईयू सदस्य राष्ट्रहरूलाई अनुरोध गरेका थिए ।
भेटमा नेपालका लागि ईयू राजदूत भेरोनिक लोरेन्जोले भ्रमणको उद्देश्य नयाँ सरकारप्रति ईयू सदस्य राष्ट्रहरूको समर्थन पुनः पुष्टि गर्नु रहेको बताइन् । उनले नेपाल र ईयू सदस्य राष्ट्रहरूबीच सहकार्यका थप सम्भावना खोज्नुका साथै ई–गभर्नेन्स र डिजिटलाइजेशन क्षेत्रमा ईयूको अनुभव आदानप्रदान गर्ने विषयमा पनि छलफल भएको जानकारी दिइन् ।
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment