मोहनी नखःको नःलास्वां 


अ
अ+
अ-

नेवारका प्रमुख चाडमा एउटा मोहनी पनि हो  । गैर नेवारमा प्रचलित दशैं र मोहनीबीचको भिन्नता छुट्याउन नसकेर कतिपय यी दुई एउटै भएको र भाषा मात्रै फरक भनेर बुझ्छन् तर यसले सांस्कृतिक ज्ञानको अभाव जनाउँछ  । जसरी मोहनी र दशैं एउटै होइन, त्यसरी नै दशैंको जमरा र मोहनीको नःलास्वां पनि उस्तोउस्तै देखिएपनि उही होइन  । दशैंका लागि कौलाथ्व पारु (असोज शक्ल प्रतिपदा) दिन घटस्थापना गरिनुकासाथै जमरा रोप्ने गरिन्छ भने ठिक यही दिन नेवारहरु नःला स्वनेगु कार्य गर्दछन्  । नेवारमा घटस्थापना गर्ने चलन छैन र मौलिक रुपमा नेवारको धार्मिक तथा सांस्कृतिक अभ्यासमा यसको प्रयोजन पनि हुन्न तर हिजोआज देखासिकीमा यसको प्रचलन सुरु भएको पाइन्छ  । 

नःला र जमरा उही होइन भने के हो त ? यसका लागि प्रयोग हुने बीज एउटै हो तर अर्थमा पाइने भिन्नताले नःलास्वां र जमराको विशिष्टता जनाउँछ  । यस लेखमा नःलासम्बन्धी चर्चा गरिन्छ  ।  

नेवार समुदायको मोहनी नखःको नःलास्वांको परम्परा, प्रयोग दशैंको जमरासँग झट्ट हेर्दा समानता देखिन्छ र त्यही भएर मान्छेहरु धेरै जसो झुक्किने हो  । शूक्ष्म रुपमा हेर्दा भने  महत्वपूर्ण भिन्नता भेटिन्छ  । विशेषतः नेवार समुदायको ‘नःला स्वां’ लाई सामान्य जमराको रुपमा मात्र बुझ्दा यसको विशिष्ट धार्मिक, सांस्कृतिक तथा तान्त्रिक पक्ष ओझेलमा पर्न सक्छ  ।

नःला स्वां र जमरा वनस्पतिका दृष्टिले एउटै प्रकृतिका वस्तु हुन्  । तर तिनलाई रोप्ने विधि, पूजा गर्ने परम्परा, धार्मिक अर्थ र सामाजिक प्रयोगका आधारमा तुलना गर्दा केही भिन्नता देखिएको हो  । दशैंमा मुख्यतः देवी दुर्गाको पूजाआराधना हुख्छ  । यही भएर दशैंलाई हिन्दू चाडपर्व भन्ने गरिएको हो  । तर नेवारको मोहनीमा देवी दुर्गाको नभई अजिमाको साधना गरिन्छ  । देवी दुर्गा र अजिमा उही होइन  । अझ बज्रयानी बौद्धहरुले त अजिमाका साथै चक्रसम्बरलगायतको पनि पूजा गर्ने गर्दछन्  । यस अर्थमा नेवारका लागि मोहनी कुनै धर्मविशेषको चाड नभएर एउटा परम्परागत संस्कृति हो, तन्त्रमा आधारित हुन्छ र नेवारहरुले परम्परागत रुपमा साझा पर्वको रुपमा लिन्छ  । यस अवस्थामा नःला स्वांको प्रयोजन जमराभन्दा फरक पर्न स्वाभाविक हो  । 

पारुको दिन विहान नदीबाट बालुवा लाई त्यसमा रातो माटो मिसाएर आगं कोठामा राखिन्छ  । र, त्यसैमा नःला स्वनेगु कार्य गरिन्छ  । ‘नःला स्वनेगु’को अर्थ नःलाको लागि तछ्व (जौ) र कःनि (मकै)लाई बालुवा तथा माटोमा रोप्ने हो  । झट्ट हेर्दा दशैंको जमरा रोप्ने कार्यसँग सदृष्य राख्छ तर विधिविधान फरक हुन्छ  । दशैंमा जमरा राख्ने परम्परा र नेवार समुदायको मोहनी नखःमा जमरा राखिने विधि तथा त्यसको सांस्कृतिक अर्थबीच समानता पनि छ र महत्त्वपूर्ण भिन्नता पनि छन्  । विशेषतः नेवार समुदायको नःला स्वाँ (नःला स्वां) लाई सामान्य जमराको अर्को नाम मात्र मानेर बुझ्दा यसको विशिष्ट धार्मिक, सांस्कृतिक तथा तान्त्रिक पक्ष ओझेलमा पर्न सक्छ । ‘नःला’ वा जमरा फूल नै त होइन तर नेवारमा ‘नःला स्वां’ भनेर स्पष्ट शब्दमा फूल नै भएको पाइन्छ  ।

नेवार समुदायमा मोहनीका लागि नःला स्वां रोप्दा कुलदेवता वा अजिमाको आह्वान गरी तान्त्रिक विधिअनुसार पूजा गरिन्छ  । यस क्रममा कलश स्थापना, सुकुन्दा बाल्ने, धूपदीप तथा समयबजी चढाउनेजस्ता अभ्यास पनि पाइन्छन्  । यो नितान्त रुपमा तान्त्रिक पूजाविधि हो  । यी विधि सबै नेवार परिवारमा ठ्याक्कै एउटै हुन्छन् भन्ने होइन । परिवारको धार्मिक परम्परा, कुलाचार, स्थान र सम्प्रदायअनुसार फरक पर्न सक्छन्  ।

हिन्दू दशैंको प्रचलित व्याख्यामा जमरालाई देवी दुर्गाको प्रसाद तथा विजयको प्रतीकका रूपमा लिइन्छ । नेवार समुदायमा भने ‘नःला स्वां’लाई मोहनी नखःको समग्र धार्मिक संस्कारभित्र राखेर बुझ्नुपर्छ । यसमा कुलदेवता वा अजिमाको आराधना, तान्त्रिक पूजाविधि र परिवारको परम्पराअनुसार गरिने अनुष्ठानको भूमिका हुन्छ ।
सामान्य हिन्दू दशैंमा विजयादशमीको दिन ज्येष्ठ सदस्यबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्परा महत्त्वपूर्ण हुन्छ । नेवार समुदायको मोहनी नखःमा पनि परिवारका सदस्यहरूबीच आशीर्वाद आदानप्रदान हुन्छ । तर यसलाई टीका र जमरामा मात्र सीमित गरेर बुझ्न मिल्दैन । मोहनी नखःमा कुलपरम्परा, परिवारको धार्मिक संरचना, विभिन्न दिनमा गरिने पूजा र सामुदायिक संस्कारको पनि महत्व हुन्छ । त्यसैले जमरा र नःला स्वाँको सामाजिक प्रयोगमा समानता भए पनि तिनको स्थान पर्वको फराकिलो संरचनाभित्र फरक हुन सक्छ ।

सांस्कृतिक दृष्टिले जमरा नेपालका विभिन्न समुदायले आआफ्नो परम्पराअनुसार ग्रहण गरेको सांस्कृतिक प्रतीक हो । तर नःला स्वां भने नेवार समुदायको नेपालभाषा, धार्मिक शब्दावली, कुलाचार र मोहनी नखःसँग गाँसिएको परम्परागत अभ्यास हो । यस अर्थमा नःला स्वाँलाई सामान्य जमराको स्थानीय नाम मात्र भन्नु अपूरो हुन्छ । वनस्पतिका रूपमा समानता भए पनि सांस्कृतिक अर्थ बुझ्न त्यसलाई रोप्ने, पूजा गर्ने र सामाजिक जीवनमा प्रयोग गर्ने समग्र परम्परा अध्ययन गर्नुपर्छ ।

जमराको प्रयोजन घरपरिवारमा मात्रै नभएर टिका लगाउन आउने आफन्त तथा साथीभाईका लागि पनि हुन्छ  । तर नेवारमा नःलास्वां घर परिवारमा मात्रै सीमित हुन्छ  । दशैंमा टिका लगाउने र मोहनीमा चालं क्वकायेगु दुई फरक कार्य हो  । दशैंका अवसरमा दुर्गाको पूजा गरी प्रसादका रुपमा जमरा दिइन्छ  । टिका थाप्न आउने सबैलाई टिका लगाएर यही जमरा दिने गरिन्छ  । तर मोहनीमा दुर्गाको पूजा हुँदैन बरु शक्ति साधनाको अन्य अभ्यास गरिन्छ  । यो पूजा नवमीको विहान सुरु हुन्छ भने दशमीको दिन ‘चालं क्वकायेगु’ भनी त्यसको विसर्जन गरिन्छ  । ‘चालं क्वचायेगु’ गर्दा मुख्यतः ध्वाँसोबाट बनाइएको कालो टिकालाई बाहिर ल्याउने हो र टिका भनेर निधारमा त्यही टिका लगाउने हो  । हिजोआज अबीरसहितको अक्षताको टिका पनि लगाउने गरिन्छ  । रातो र सेतो क्वखा पनि गलामा लगाइन्छ  । यही बेला फूलको रुपमा नःलास्वां दिइने हो  । यति भएपछि समेबजि खानुका साथै मोहनीको अनुभव गर्ने हो  । यति बेला घरबाहिरका सदस्यहरु सम्मिलित हुँदैन  । नेवारमा टिका थाप्न आउने भन्ने हुँदैन तर छोरीबेटी तथा नाताकुटुम्बलाई पाहाँ ब्वनेगु भनेर बोलाएर भोज खुवाउने चलन भने छ  । आमन्त्रण नगरी कोही पाहाँ (पाहुना) बन्न आउँदैन  । यसरी पाहाँ बन्न आउनेहरुलाई टिका लगाइदिने चलन नेवार समाजमा नभएपनि हिजोआज वाह्य प्रभावमा टिका लगाइदिने तथा दक्षिणा दिने चलन भने सुरु भएको पाइन्छ  । यति फरकपनाले पनि नःलास्वां र जमराबीचको तात्विक भिन्नता छुटिन्छ  । यही भएर नेवार घरमा धेरै मात्रामा नःला स्वां रोप्नुपर्ने आवश्यकता हुँदैन । 

मोहनी सकिएपछि नःलास्वां उमारिएको बालुवा तथा माटो घरको पिखालखुमा राख्न लैजान्छ  । यसरी पिखालखुमा काटिसकेको नःलास्वांसहित बालुवा र माटो राख्नुको अर्थ हो, मोहनी सकियो  । तर मोहनीको सम्बन्ध तिहारमा लक्ष्मीपूजाको बिसर्जनसम्म रहिनै रहन्छ  ।  

 

Comments (3)

कुमुद श्रेष्ठ Oct 12, 2026 14:12
नेवारहरूको न:ला स्वा राख्ने र पूजाको विधिहरू तान्त्रिक रूपमा तयार गरिएको हुन्छ। त्यसैले तन्त्र गरेर राखिएको कालो टीका मुख्य हो। त्यसको साथै गुगुल बाल्न पनि अनिवार्य हुन्छ।
puspalal Oct 12, 2026 10:54
लेखले व्यापक छलफल र अध्ययन मागेको छ ।
Swahit bir singh kansakar Oct 12, 2026 09:06
Thank you basanta ji ! For distinguishing mohani and dashain in cultural and tantrik aspects.
Write a Comment
Comment must be at least 10 characters
Basanta Maharjan

More from Basanta Maharjan

Explore more articles by this author
नेवार, नेपाल र नेपालमण्डल

नेवार, नेपाल र नेपालमण्डल

‘नेवार’का सम्बन्धमा कुरा गर्दा ‘नेपाल’ को कुरा स्वभावतः आउँछ नै । साथसाथै ‘नेपालमण्डल’ को सन्दर्भ पनि आइरहेको हुन्छ । कत...

नेवार र मल्लकाल

नेवार र मल्लकाल

नेवार अध्ययनका प्रायः अध्येताको ध्यान मल्लकालमा सोझिनु ऐतिहासिक दृष्टिले अलि संकुचित हुनु हो । यस अवस्थामा सर्वसाधारण ने...

बौद्ध वा हिन्दूको प्रश्नमा अल्मलिएका नेवार

बौद्ध वा हिन्दूको प्रश्नमा अल्मलिएका नेवार

कोही नेवारलाई कसैले ‘तिमी बौद्ध हो कि हिन्दू ?’ भनेर सोध्योभने साधारणतः त्यो नेवार अल्मलिन्छ । वास्तविकता त के हो भने, ए...

नेवारसँग किन धेरै संस्कृति ?

नेवारसँग किन धेरै संस्कृति ?

नेवारको पहिचान संस्कृतिमा सम्पन्न समुदायको रुपमा रहेको पाइन्छ । नेपाली समाजमा संस्कृतिको सवाल उठ्दा नेवारको नाम छुट्दैन ...

नेवार र नेपालभाषा

नेवार र नेपालभाषा

जसरी तामाङको तामाङ भाषा, मगरको मगर भाषा, गुरुङको गुरुङ भाषा हुन्छ, त्यसरी नै......

नेवारबाट सिकौं, बाढीबाट बचौं

नेवारबाट सिकौं, बाढीबाट बचौं

बाढी, पहिरो, भुइँचालोलगायतका प्राकृतिक प्रकोपहरू जब मानवीय क्षतीको स्तरमा......

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्