Wednesday, September 16, 2026 | 11:05 PM

लुम्बिनीको दिगो विकासका लागि अन्तर्राष्ट्रिय सम्मेलन हुँदै


अ+
अ-

लुम्बिनी, भदाै ३१। बृहत्तर लुम्बिनी क्षेत्रको सम्पदा संरक्षण, तीर्थयात्री तथा पर्यटक व्यवस्थापन र स्थानीय समुदायको समावेशी आर्थिक विकासका लागि अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ।
नेपाल सरकार, संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (यूनेस्को), लुम्बिनी विकास कोष, लुम्बिनी बौद्ध विश्वविद्यालय र विश्व बैंकको संयुक्त आयोजनामा असोज २ देखि ४ गतेसम्म लुम्बिनीमा ‘ग्रेटर लुम्बिनी एरिया’ सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुन लागेको हो।
सम्मेलनमा नेपाल तथा विदेशबाट १५० भन्दा बढी प्रतिनिधि सहभागी हुनेछन्। सरकारी अधिकारी, बौद्ध समुदाय, सम्पदा विज्ञ, पर्यटन व्यवसायी, विकास साझेदार तथा स्थानीय समुदायका प्रतिनिधिले बृहत्तर लुम्बिनी क्षेत्रको दीर्घकालीन विकासका विषयमा छलफल गर्नेछन्।
सम्मेलनमा सम्पदा संरक्षण, आगन्तुक व्यवस्थापन, पर्यटन पूर्वाधार तथा सेवा र स्थानीय समुदायको समावेशी आर्थिक विकासलाई चार प्रमुख प्राथमिकताका रूपमा अघि बढाइनेछ।
तीन दिनसम्म चल्ने सम्मेलनले विश्वका अन्य महत्वपूर्ण सम्पदा तथा तीर्थस्थलको अनुभवबाट सिकाइ लिँदै बृहत्तर लुम्बिनी क्षेत्रको विकासका लागि साझा आधार तयार गर्ने आयोजकले जनाएको छ। सम्मेलनमा प्राविधिक प्रस्तुति, छलफल तथा विभिन्न सत्रमार्फत सम्पदा संरक्षणसँगै तीर्थयात्री र पर्यटक व्यवस्थापनका उपायबारे छलफल हुनेछ।
सम्मेलनको अन्त्यमा ‘सम्मेलन घोषणापत्र’ जारी गर्ने तयारी छ। घोषणापत्रमा सम्पदामैत्री आगन्तुक व्यवस्थापन, दिगो पर्यटन र स्थानीय समुदायलाई हुने लाभको समान वितरणलगायत विषयमा कार्यान्वयनयोग्य प्राथमिकता तथा आगामी नीति र विकास कार्यक्रमका लागि सुझाव समेटिनेछन्।
सम्मेलनका निष्कर्षले विश्व बैंकको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालन हुन लागेको ग्रेटर लुम्बिनी एरिया डेभलपमेन्ट (जीएलएडी) परियोजना लगायत सरकारका आगामी कार्यक्रमलाई समेत मार्गदर्शन गर्ने अपेक्षा गरिएको छ। जीएलएडी परियोजनाले बृहत्तर लुम्बिनी क्षेत्रमा पर्यटनसम्बन्धी पूर्वाधार तथा सेवा सुधार गर्नुका साथै स्थानीय समुदायका लागि रोजगारी र आर्थिक अवसर सिर्जना गर्ने लक्ष्य राखेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल ‘गणेश’ले लुम्बिनीको विश्वव्यापी महत्वलाई संरक्षण गर्दै स्थानीय समुदायको आवश्यकता र हितलाई विकास प्रक्रियामा अर्थपूर्ण रूपमा समेट्न सरकार प्रतिबद्ध रहेको बताए।
उनले लुम्बिनीको सम्पदा र आध्यात्मिक चरित्र संरक्षणसँगै वर्तमान तथा भावी पुस्ताका लागि समावेशी र दिगो विकास अघि बढाउन सन्तुलित दृष्टिकोण आवश्यक रहेको बताए।
यूनेस्कोका नेपाल प्रतिनिधि जाको डु टोइटले लुम्बिनीको विश्व सम्पदा मूल्य त्यहाँ निरन्तर अभ्यास भइरहेका आध्यात्मिक गतिविधि र समुदायसँग अभिन्न रूपमा जोडिएको बताए। उनका अनुसार बृहत्तर लुम्बिनी क्षेत्रको संरक्षण गर्दा विश्व सम्पदाको मूल्यसँगै त्यसलाई जीवन्त राख्ने आध्यात्मिक अभ्यास र समुदायलाई पनि संरक्षण गर्नुपर्ने हुन्छ।
विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंकाका डिभिजन निर्देशक डेभिड सिसलेनले लुम्बिनी विश्वभरका लाखौँ मानिसका लागि असाधारण महत्वको स्थल रहेको बताए। सम्मेलनले बृहत्तर लुम्बिनी क्षेत्रको संरक्षण र दिगो व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय विज्ञता र साझेदारीलाई साझा दृष्टिकोणमा जोड्ने अवसर प्रदान गर्ने उनको भनाइ छ।
लुम्बिनी भगवान् बुद्धको जन्मस्थल तथा यूनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत स्थल हो। यसको पुरातात्त्विक, ऐतिहासिक, सांस्कृतिक तथा आध्यात्मिक महत्वलाई ध्यानमा राख्दै सम्मेलनले सम्पदा संरक्षण र पर्यटन विकासबीच सन्तुलन कायम गर्ने विषयलाई प्राथमिकतामा राख्ने आयोजकले जनाएको छ।

फाेटाे: नेवा: टाइम्स 

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
NewaTimes

More from NewaTimes

Explore more articles by this author
चिलिमे हाइड्रोको टनेलबाट चार शव र एक मानव अङ्ग फेला

चिलिमे हाइड्रोको टनेलबाट चार शव र एक मानव अङ्ग फेला

चिलिमे हाइड्रोको टनेलबाट चार शव र एक मानव अङ्ग फेला...

रसुवा बाढी : राहत, पुनःस्थापना र पुनर्निर्माणमा सहयोग गर्न अमेरिका तयार

रसुवा बाढी : राहत, पुनःस्थापना र पुनर्निर्माणमा सहयोग गर्न अमेरिका तयार

रसुवा बाढी : राहत, पुनःस्थापना र पुनर्निर्माणमा सहयोग गर्न अमेरिका तयार...

सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिमै रमाना दिन निर्देशन

सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिमै रमाना दिन निर्देशन

सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिमै रमाना दिन निर्देशन...

जोमसोममा आजदेखि ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन’

जोमसोममा आजदेखि ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन’

जोमसोममा आजदेखि ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन’...

कृष्णभीरकाे नयाँ ट्र्याक असाेज १ बाटसंचालन हुने

कृष्णभीरकाे नयाँ ट्र्याक असाेज १ बाटसंचालन हुने

कृष्णभीरकाे नयाँ ट्र्याक असाेज १ बाटसंचालन हुने...

बेलायत विभाजनको राजनीतिक दबाब तीव्र

बेलायत विभाजनको राजनीतिक दबाब तीव्र

बेलायत विभाजनको राजनीतिक दबाब तीव्र...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्