कर्णालीकाे विश्व मानवीय दिवसमा उद्धारकर्ताको सुरक्षा र समुदाय सशक्तीकरणमा जोड


अ+
अ-

सुर्खेत, ३ भदौ। ‘समुदायको सशक्तीकरणका लागि साझेदारी, मानवीय कार्यका लागि हाम्रो तयारी’ भन्ने राष्ट्रिय नारासहित कर्णाली प्रदेशमा विश्व मानवीय दिवस २०२६ मनाइएको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कर्णाली प्रदेशमा आयोजित कार्यक्रममा मानवीय सहायता, समुदायको सशक्तीकरण, विपद् पूर्वतयारी तथा मानवीय सहायताकर्मी र उद्धारकर्ताको सुरक्षामा जोड दिइएको हो।
सोसेक नेपाल, एईआईएन, डीसीए र डीपीनेट नेपालको सहकार्यमा आयोजित कार्यक्रममा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल रेडक्रस सोसाइटी, युनिसेफ, सेभ द चिल्ड्रेन, प्लान इन्टरनेसनललगायत सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिको सहभागिता थियो।
कार्यक्रमको अध्यक्षता मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कर्णाली प्रदेशका सचिव लक्ष्मी कुमार बि.क.ले गरे। कार्यक्रममा मानवीय सेवाका क्रममा ज्यान गुमाएकाहरूको सम्झनामा मौनधारण गरिएको थियो।
कार्यक्रममा डीपीनेट नेपालका पूर्व अध्यक्ष डा. राजु थापाले विश्व मानवीय दिवसको सुरुवात, यसको विश्वव्यापी विकासक्रम तथा नेपालमा पछिल्ला पाँच वर्षमा यस दिवसका अवसरमा उठाइएका प्रमुख विषयबारे प्रस्तुतीकरण गरे।
हरेक वर्ष १९ अगस्टमा मनाइने विश्व मानवीय दिवसले विपद्, संकट तथा द्वन्द्वबाट प्रभावित मानिसप्रति ऐक्यबद्धता जनाउने र मानवीय सहायताकर्मीको योगदानलाई सम्मान गर्ने अवसर प्रदान गर्ने उनले बताए।
नेपालमा पछिल्ला वर्षमा विश्व मानवीय दिवसको बहस मानवीय मापदण्ड र समन्वयबाट सहायताकर्मीको अधिकार, सुरक्षा, बीमा, कानुनी संरक्षण, स्थानीय नेतृत्व, समुदायका उद्धारकर्ता तथा असल नियतले सहयोग गर्ने व्यक्तिको संरक्षणसम्म विस्तार भएको डा. थापाले बताए।
उनले अब विगतमा कुन-कुन विषयमा छलफल भयो भन्ने विवरण प्रस्तुत गर्नु मात्र पर्याप्त नहुने बताए। ती बहस र पहलले नीति, कानुन, संस्थागत व्यवस्था, समुदायको तयारी तथा मानवीय सहायताकर्मीको सुरक्षामा कस्तो परिवर्तन ल्यायो भन्ने प्रभावको मूल्याङ्कन गर्नुपर्ने उनको भनाइ थियो।
‘अब हामीले के छलफल गर्‍यौँ भन्नेभन्दा पनि त्यसले कानुन, नीति, संस्थागत व्यवस्था, समुदायको तयारी र मानवीय सहायताकर्मीको सुरक्षामा के परिवर्तन ल्यायो भन्ने हेर्नुपर्छ,’ उनले भने।
कार्यक्रममा सहभागीहरूले ‘मानवीयता हराउँदै गएको छ’ भन्ने निष्कर्षमा पुग्न पर्याप्त अध्ययन आवश्यक रहेको बताए। मानिस सहयोग गर्न किन हिचकिचाउँछन्, सामाजिक मूल्यमा कस्तो परिवर्तन भइरहेको छ र मानवीय व्यवहार कमजोर हुँदा समाजमा दीर्घकालीन रूपमा कस्तो असर पर्न सक्छ भन्ने विषयमा थप अध्ययन र छलफल आवश्यक रहेको उनीहरूको भनाइ थियो।
यस वर्षको राष्ट्रिय नाराले समुदाय, साझेदारी र तयारीलाई केन्द्रमा राखेकाले सकारात्मक बहस सुरु भएको सहभागीहरूले बताए। मानवीयताको विषयलाई सेवा प्रवाहमा मात्र सीमित नगरी सामाजिक, सांस्कृतिक तथा राजनीतिक परिवेशसँग समेत जोडेर हेर्नुपर्ने उनीहरूको सुझाव थियो।
कर्णालीमा सरकारी निकाय, सुरक्षा निकाय, स्थानीय तह तथा विकास साझेदारबीच कायम समन्वयलाई राम्रो अभ्यासका रूपमा लिँदै त्यसलाई व्यवस्थित रूपमा अभिलेखीकरण गरी अन्य क्षेत्रमा समेत विस्तार गर्नुपर्नेमा सहभागीले जोड दिए।
मानवीय सहायताकर्मी तथा उद्धारकर्ताको सुरक्षा कानुनी व्यवस्थाबाट मात्र नभई आधुनिक प्रविधिको प्रयोगबाट समेत सुदृढ गर्न सकिने विषय कार्यक्रममा उठ्यो। सवारीसाधनमा क्यामेरा जडान गर्ने, घटनास्थलको वस्तुगत अभिलेख राख्ने, उद्धारसम्बन्धी मार्गदर्शन सामग्री प्रयोग गर्ने, सञ्चार उपकरणको प्रभावकारी प्रयोग गर्ने तथा डिजिटल अभिलेख प्रणाली विकास गर्नेजस्ता उपायले उद्धारकर्ताको सुरक्षा र जवाफदेहिता बढाउन सक्ने सहभागीले बताए।
विशेषगरी दुर्घटना वा विपद्का बेला असल नियतले सहयोग गर्न जाने व्यक्तिमाथि पछि गलत आरोप लाग्ने अवस्था आएमा प्रविधिबाट प्राप्त प्रमाण उपयोगी हुन सक्ने उनीहरूको भनाइ थियो।
कार्यक्रममा जाजरकोट भूकम्पको प्रतिकार्य अनुभवलाई समेत उदाहरणका रूपमा प्रस्तुत गरिएको थियो। भूकम्पपछि सडक खुलाउन, राहत तथा उद्धार सहज बनाउन र प्रभावित क्षेत्रमा तत्काल पहुँच पुर्‍याउन डोजर तथा अन्य उपकरण उपलब्ध गराउन विभिन्न निकाय र पक्षबीच भएको सहकार्यलाई कर्णालीको राम्रो अभ्यासका रूपमा चर्चा गरिएको थियो।
विपद्का बेला स्थानीय सरकार, सुरक्षा निकाय, निजी क्षेत्र, समुदाय र मानवीय संस्थाबीचको समन्वयले प्रतिकार्यको गति र प्रभावकारितामा ठूलो प्रभाव पार्ने सहभागीले बताए।
नेपाली सेनाका प्रतिनिधिले प्रत्येक ठूलो विपद्पछि समग्र प्रतिवेदन तयार गरी उपलब्धि र कमजोरी पहिचान तथा सिकाइलाई संस्थागत गर्नुपर्ने बताए। विगतका विपद्मा के राम्रो भयो, कहाँ कमजोरी रह्यो र आगामी दिनमा के सुधार गर्नुपर्छ भन्ने विषय व्यवस्थित अभिलेखमा राख्न सके पूर्वतयारी र प्रतिकार्य अझ प्रभावकारी हुने उनको भनाइ थियो।
कार्यक्रममा उत्कृष्ट मानवीय कार्य गर्ने व्यक्ति तथा संस्थाको पहिचान र सम्मानका विषयमा पनि छलफल भयो। मानवीय कार्य प्रायः सामूहिक प्रयासबाट सम्भव हुने भएकाले पुरस्कार वा सम्मान एउटै व्यक्तिमा सीमित नगरी संस्था, समूह, स्वयंसेवक टोली, सुरक्षा निकाय तथा समुदायको सामूहिक योगदानलाई समेत पहिचान गर्नुपर्ने सहभागीले बताए।
कर्णालीमा सन् २०२४ को विश्व मानवीय दिवसका अवसरमा मानवीय सहायताकर्मीका लागि सुरक्षा सञ्जाल, सहयोग कोष, आधिकारिक परिचयपत्र तथा उत्कृष्ट मानवीय कार्यकर्तालाई वार्षिक सम्मान गर्ने विषय उठाइएको थियो। सन् २०२५ को राष्ट्रिय कार्यक्रममा स्थानीय नेतृत्व, समुदायका उद्धारकर्ता तथा असल नियतले सहयोग गर्ने व्यक्तिलाई कानुनी संरक्षण दिनुपर्ने र जीवन बचाउन जोखिम लिने व्यक्तिलाई राज्यले पहिचान तथा सम्मान गर्नुपर्ने विषय थप स्पष्ट रूपमा उठाइएको थियो।
समापनमा कर्णाली प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव लक्ष्मी कुमार बि.क.ले मानवीयताको प्रश्नलाई विपद् प्रतिकार्य वा मानवीय संस्थाको काममा मात्र सीमित गर्न नहुने बताए।
मानवीयताको आधार परिवार, समाज, धर्म, दर्शन, विद्यालय तथा संस्थागत मूल्यमा रहेको उल्लेख गर्दै उनले ‘परोपकाराय पुण्याय, पापाय परपीडनम्’ भन्ने पूर्वीय दर्शनको मान्यता स्मरण गरे। अरूको हित गर्नु पुण्य र अरूलाई पीडा दिनु पाप हो भन्ने संस्कार समाजको आधारभूत मूल्य बन्नुपर्ने उनको भनाइ थियो।
उनले परिवारबाटै बालबालिकामा सहयोग, करुणा, सेवा र जिम्मेवारीको भावना विकास गर्नुपर्ने बताए। विद्यालयले विद्यार्थीलाई आर्थिक सफलता वा पेशामुखी प्रतिस्पर्धामा मात्र केन्द्रित नगरी मानवीय मूल्य, सामाजिक जिम्मेवारी, सहयोग र सहकार्यको संस्कारसमेत सिकाउनुपर्ने उनको भनाइ थियो।
‘जरा कमजोर भयो भने पात राम्रो हुन सक्दैन’ भन्ने उदाहरण दिँदै उनले परिवार, विद्यालय, समाज र संस्थाको मूल्य प्रणाली कमजोर भए त्यसको असर व्यक्तिको मानवीय व्यवहारमा समेत पर्ने बताए।
राज्यलाई सरकारका रूपमा मात्र बुझ्न नहुने भन्दै उनले नागरिक, जनसंख्या, भूभाग, सार्वभौमसत्ता र सार्वजनिक संस्था राज्य संरचनाका महत्वपूर्ण अंग भएको बताए। सरकार राम्रो भएर मात्र मानवीय समाज निर्माण नहुने भन्दै नागरिक पनि जिम्मेवार, सहयोगी, संवेदनशील र मानवीय हुनुपर्ने उनको भनाइ थियो।
कर्णाली प्रदेशमा विपद् जोखिम व्यवस्थापनसम्बन्धी कार्यविधि, मानवीय सेवा, बाल संरक्षण केन्द्र तथा अन्य आश्रय सेवाका क्षेत्रमा काम भइरहेको उनले जानकारी दिए। आगामी वर्षदेखि घर बीमासम्बन्धी कार्यक्रमसमेत कार्यान्वयनमा लैजाने तयारी रहेको उनले बताए।
तर कार्यक्रम सञ्चालन गर्नु वा बजेट खर्च गर्नु मात्र उपलब्धि मान्न नहुने भन्दै उनले कार्यक्रमबाट अपेक्षित परिणाम हासिल भए वा भएनन् भन्ने विषयमा नियमित समीक्षा र मूल्याङ्कन आवश्यक रहेको बताए।
कार्यक्रममा मानवीयता केवल व्यक्तिगत भावना वा असल नियतको विषय नभई सुरक्षित कानुनी वातावरण, सीप, प्रविधि, सामाजिक मूल्य, संस्थागत तयारी, राज्यको संरक्षण तथा सार्वजनिक सम्मानसँग जोडिएको विषय भएको निष्कर्ष निकालिएको छ।
विपद् तथा संकटमा सहयोग गर्ने मानिसलाई ‘नायक’ भनेर प्रशंसा गर्ने मात्र नभई उनीहरूलाई आवश्यक तालिम, सुरक्षा सामग्री, बीमा, कानुनी संरक्षण, मानसिक तथा मनोसामाजिक सहयोग, प्रविधि र संस्थागत समर्थन उपलब्ध गराउनुपर्नेमा सहभागीले जोड दिएका छन्।
उत्कृष्ट मानवीय कार्य गर्ने व्यक्ति, संस्था, सुरक्षा निकाय, स्वयंसेवक समूह तथा समुदायलाई विश्व मानवीय दिवसका अवसरमा पहिचान र सम्मान गर्ने अभ्यासलाई कर्णाली प्रदेशमा संस्थागत गर्नुपर्ने सुझावसमेत कार्यक्रममा आएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
NewaTimes

More from NewaTimes

Explore more articles by this author
विश्व मानवतावादी दिवसमा राउटे समुदायलाई राहत, मानवतावादी अभियन्ता सम्मानित

विश्व मानवतावादी दिवसमा राउटे समुदायलाई राहत, मानवतावादी अभियन्ता सम्मानित

विश्व मानवतावादी दिवसमा राउटे समुदायलाई राहत, मानवतावादी अभियन्ता सम्मानित...

कवि दुर्गालाल श्रेष्ठको अन्त्येष्ठी आज

कवि दुर्गालाल श्रेष्ठको अन्त्येष्ठी आज

काठमाडौं, भदौ २ । नेपालभाषाको काव्य क्षेत्रमा अत्यन्त चर्चित र मानक कविका......

स्पेनको ग्रानाडामा ५ म्याग्निच्युडको भूकम्प, भवन र सवारीसाधनमा क्षति

स्पेनको ग्रानाडामा ५ म्याग्निच्युडको भूकम्प, भवन र सवारीसाधनमा क्षति

स्पेनको ग्रानाडामा ५ म्याग्निच्युडको भूकम्प, भवन र सवारीसाधनमा क्षति...

काठमाडौँमा बाँदर–मानव द्वन्द्व बढ्दो, दिगो व्यवस्थापनको तयारी

काठमाडौँमा बाँदर–मानव द्वन्द्व बढ्दो, दिगो व्यवस्थापनको तयारी

काठमाडौँमा बाँदर–मानव द्वन्द्व बढ्दो, दिगो व्यवस्थापनको तयारी...

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, कम्तीमा २० जनाको मृत्यु

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, कम्तीमा २० जनाको मृत्यु

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, कम्तीमा २० जनाको मृत्यु...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, पूर्वस्वीकृति अनिवार्य

वैदेशिक भ्रमणमा सरकारको कडाइ, पूर्वस्वीकृति अनिवार्य

वैदेशिक भ्रमणमा सरकारको कडाइ, पूर्वस्वीकृति अनिवार्य...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्