आमा बाबुको मुख हेर्ने पर्व
नेपालमा मनाइने कतिपय सांस्कृतिक चाडपर्वहरू बौद्ध वा हिन्दू धर्मसँग सम्बन्धित हुन्छन् । कुनै घटना विशेषलाई लिएर त कुनै व्यक्तिविशेषलाई प्रमुखता दिएर ती सांस्कृतिक चाडपर्वको सुरुवात गरिएको पाइन्छ । र, ती चाडपर्वहरूको चर्चा गर्दा बौद्ध वा हिन्दू कथाकहानी वा शास्त्रलाई उद्घृत गर्ने गरिन्छ । कुनै कुनै चाडपर्व कुनै पनि धर्मविशेषसँग सम्बन्धित हुँदैनन् । तर ती धर्मावलम्बी जनसमुदायमा प्रचलन भइरहेको हुन्छ । त्यस्ता अनेकौं चाडपर्व समुदाय विशेषमा प्रचलित हुन्छन् र ती सबैको सर्भे गर्नु यो लघुलेखको उद्देश्य होइन । यहाँ वैशाखकृष्णपक्ष औंसीको दिन मनाइने 'आमाको मुख हेर्ने' र भाद्र कृष्णपक्ष औंशीमा मनाइने 'बाबुको मुख हेर्न' साँस्कृतिक पर्वका बारेमा चर्चा गरिन्छ ।
‘आमाको मुख हेर्ने’ र ‘बाबुको मुख हेर्ने’ विशेषतः नेपालमा नेवार समुदायमा प्रचलित एक मौलिक सांस्कृतिक पर्व हो । यहाँ, ‘नेपाल’ भनेर एउटा निश्चित भूगोललाई र त्यस्तै ‘नेवार’ भनेर समुदाय विशेषलाई ग्रहण गरिएको छ । नेपालमा प्रचलित कतिपय चाडपर्व भारतमा पनि प्रचलित रहेको पाइन्छ । धार्मिक रूपमा नेपाल र भारतमा बौद्ध तथा हिन्दू धर्म प्रचलित रहेका कारण यस्तो भएको भनेर बुझ्न सकिन्छ । ‘आमाको मुख हेर्ने’ र ‘बाबुको मुख हेर्ने’ पर्व भारतमा पाइँदैन । बौद्ध र हिन्दू दुबै धर्मका कुनै पनि ग्रन्थमा यो पर्वको उल्लेख भएको पाइँदैन र यस अर्थमा यसलाई दुबै धर्मसँग सम्बन्धित होइन रहेछ भनेर बुझ्नु प¥यो । यो पर्व नेपालमा प्रचलित रहेको हुनाले ऐतिहासिक तथा सांस्कृतिक चिन्तन नेपालमा केन्द्रित हुनु आवश्यक छ । ऐतिहासिक रूपमा नेपाललाई अध्ययन गर्दा बौद्ध र हिन्दू दुबै धर्म यस भूक्षेत्रमा प्रवेश गर्नुअघि नै सामाजिक, सांस्कृतिक तथा आर्थिक तथा राजनीतिक रूपमा कुनै न कुनै रूपमा संगठित भई एउटा निश्चित स्वरूप लिइसकेको बुझिन्छ । सरल भाषामा भन्नुपर्दा, यस प्रकार विकसित सामाजिक संरचनामा पछि बौद्ध र हिन्दू धर्मको प्रवेश भएको र त्यहीअनुसार यहाँको सामाजिक जनजीवन विकास भएको भन्न सकिन्छ । नेपालमा बौद्ध र हिन्दू धर्मको प्रवेशअघि वा पछि कुनै पनि धर्मसँग सम्बन्धित नभएको तर मौलिक सांस्कृतिक गतिविधि हुनु संभव कुरा हो र त्यस्ता चाडपर्वमा ‘आमाको मुख हेर्ने’ र ‘बाबुको मुख हेर्ने’ दुई चाडलाई राख्न सकिन्छ । अब स्पष्ट हुन्छ, धर्मनिरपेक्ष भई संस्कृतिको त्यो विकास नेवार समाजमा भयो र वर्तमानसम्म यसले निरन्तरता पाइरहेको छ ।
‘आमाको मुख हेर्ने’ र ‘बाबुको मुख हेर्ने’ दुई बेग्लाबेग्लै चाड नेवार संस्कृति कसरी हुन्छ ? भन्ने प्रश्न उठ्नु स्वाभाविक हो । यी दुई पर्व नेवारबाहेक अन्य जनसमुदायले पनि मान्ने अवस्थामा यसलाई नेवार संस्कृति भनिदिँदा आपत्ती जनाइनु पनि स्वाभाविक हो । थालनीमा कुरा गर्नु ‘नेपाल’ को अनि ‘नेवार’ को संस्कृति भन्दा अलि विरोधाभासजस्तो पनि देखिन आउँछ । यस अवस्थामा स्पष्ट हुनु पर्ने कुरा के हो भने, नेपाल नाउँले चर्चिने भूगोलको सीमारेखा सँधै एउटै कहिल्यै रहेन । मौलिक रूपमा काठमाडौं उपत्यका र यस वरिपरिको भूभागलाई नै नेपाल भन्ने गरिन्थ्यो । नेपालको राजनीतिक सत्ता शक्तिशाली हुने क्रममा यसको भूभाग कहिले बढ्ने र कहिले घट्ने हुँदै गरेको पाइन्छ । तर केन्द्रको रूपमा रहेको काठमाडौं उपत्यकाको भूभाग नेपाल नामबाट परिचित हुँदै आएको पाइन्छ । काठमाडौं उपत्यका नै आफ्नो थातथलो बनाएर बसेको समुदाय ‘नेवार’ र ‘नेपाल’ दुई बेग्लाबेग्लै शब्द नभएर रूपमात्रै फरक परेको एउटै हो ।
नेवार सभ्यताको विकास अलि विशिष्ट पाराले भएको पाइन्छ । नेपालमा पहिल्यैदेखि एउटा समुदाय विशेषले आवाद गरेको र पछि त्यसमा अन्य समुदाय सम्मिलित हुँदै आउने क्रममा विशिष्ट सभ्यताको विकास भएको भन्न सकिन्छ । पछि आउने आगन्तुक व्यक्ति वा समुदाय यहाँ रहँदाबस्दा घुलमिल हुने क्रममा आफ्नो पहिचान नेवारकै रूपमा ग्रहण गरी नेपाललाई आफ्नै भूमिका रूपमा माया गरेको पाइन्छ । यो दुई चार वर्ष वा दुई चार सय वर्षभित्रको कुरा नभएर हजारौं वर्षको घुलनको परिणाम हो । अझ थप विशेषता के हो भने, अन्यत्रबाट काठमाडौंमा आई नेवार समाजमा घुलमिल भएर नेवार नै भइगएकाहरूले आफ्नो पूर्व पृष्ठभूमिलाई भुल्नु आवश्यक हुँदैन । को कहिले कहाँबाट आएका हुन् भनेर ठम्याउन पनि सकिन्छ । नेवार भित्र विभिन्न उपसमुदायले आआफ्ना पहिचानहरूलाई जोगाएरै राखेको पाइन्छ । तर यहाँ तिनीहरूको भाषा, कला, संस्कार, संस्कृति, रहनसहन एउटै हुने गरेको पाइन्छ । यस क्रममा ‘आमाको मुख हेर्ने’ र ‘बाबुको मुख हेर्ने’ पनि सबै नेवारको साझा निधि भयो । राम्रो कुराको अनुकरण अन्यले गर्नु मानवीय स्वभाव हो । नेवारबाहेक अन्य समुदायले पनि आमा बाबुको मुख हेर्ने दुई पर्वलाई अंगीकार गर्नु नेवार संस्कृतिको विकास भनेर बुझ्न सकिन्छ । केही सय वर्षअघिदेखि काठमाडौं उपत्यकामा नै स्थायी बसोवास गरी रैथाने नै भइसकेका अन्य समुदायहरूमा यो पर्व सामान्यतः प्रचलित छ तर तिनै समुदायसँग सम्बन्धित अन्यत्रका जातीय समुदायमा यो संस्कृतिले त्यत्ति जरा गाड्न पाएको छैन । काठमाडौं उपत्यकाबाट जति जति दूरी बढ्दै जान्छ यसको प्रचलन पनि कम हुँदै गएको पाइनु यसको उदाहरण हो । हिजोआज नेवार देशै भर छरिएका कारणले पनि यो संस्कृतिले व्यापकता पाएको हो ।
‘आमाको मुख हेर्ने’ र ‘बाबुको मुख हेर्ने’ पर्वसम्बन्धी लेखन तथा चर्चाका क्रममा यसलाई कतिपयले बौद्ध वा हिन्दू धर्मसँग जोड्ने गरेको पाइन्छ । यी दुबै धर्ममा आमाबाबुको महिमा गाउने गरेको पाइन्छ र आमाबाबुको सेवा गर्न भनिएको हुन्छ । यतिकै आधारमा यसलाई बौद्ध वा हिन्दूसँग जोड्न सकिँदैन । आमाबाबुलाई आदरसत्कार नगर्नु भनेर कसले भन्छ र ? तर सबै धार्मिक समुदायमा ‘आमाको मुख हेर्ने’ र ‘बाबुको मुख हेर्ने’ पर्व त छैन । नेपालबाहेक अन्यत्रका कुनै पनि बौद्ध र हिन्दू समुदायमा पनि यस पर्वको अभ्यास छैन, कतिलाई यसबारेमा जानकारीसम्म पनि छैन । ‘ह्याप्पी मदर्स डे’ र ‘ह्याप्पी फादर्स डे’ बेग्लै हो ।
‘आमाको मुख हेर्ने’ र ‘बाबुको मुख हेर्ने’ दुई बेग्ला बेग्लै दिनमा छोराछोरीले आआफ्ना आमाबाबुलाई मिठो खानेकुरा तथा अन्य उपहार चढाई विशेष सम्मान गर्ने गरिन्छ । अन्य सन्दर्भमा पनि नेवारहरू साथीभाई वा कसैलाई विशेष रूपमा भेट्न जानुप¥यो भने ‘ख्वाः स्वः वनेगु’ भन्ने चलन छ । ख्वाः स्वः वनेगु’ को शाब्दिक अर्थ मुख हेर्न जाने हो तर यसको लाक्षणिक अर्थ भने विशेष महत्व दिई भेटघाट गर्नजाने हो । ‘मां ख्वाःस्वः वनेगु’ र ‘बौ ख्वाः स्वः वनेगु’को शाब्दिक अनुवाद मात्र हो, ‘आमाको मुख हेर्ने’ र ‘बाबुको मुख हेर्ने’ ।
आमाबाबु बितिसकेकाहरू यस दिन के गर्दछन् त ? आमाबाबु जीवित भएका छोराछोरीहरूले यस दिन नुवाईधुवाई गर्नु हुँदैन भन्ने मान्यता भएअनुसार त्यस्तो गर्दैनन् । तर आमाबाबु बितिसकेका छोराछोरीहरूले भने यस दिन अनिवार्य रूपमा नुहाईधुवाई गर्नु पर्ने र केही कर्म पनि सम्पन्न गर्ने गर्दछन् । आमा नभएकाहरू यस दिन काठमाडौंको दक्षिणपश्चिम भेकस्थित मातातीर्थमा पूजा गर्न जान्छन् भने बाबु बितिसकेकाहरू त्यस दिन गोकर्णमा पूजागर्न जान्छन् । यी दुई ठाउँमा हिजोआज धेरै मात्रामा धार्मिकीकरण भई बौद्ध विधि वा हिन्दू विधिअनुसार गर्ने गरिन्छ । बौद्धकरण वा हिन्दूकरणलाई प्राचीन संस्कृतिको परिमार्जन भन्न सकिन्छ । यी दुई ठाउँमा जान नसक्नेहरू दिवंगत आमाबाबुको नाममा केही खानेकुरा घरअगाडि ‘पिखालखु’मा चढाई आफ्नो मान्यताअनुसार कर्तव्य निर्वाह गर्दछन् ।
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment