देशका विभिन्न भागमा सडक अवरुद्ध, यातायात ठप्प
काठमाडौं, असोज १७ । लगातारको वर्षा र पहिरोका कारण देशका विभिन्न स्थानमा राजमार्ग र सडक खण्ड अवरुद्ध बनेका छन्। नेपाल प्रहरीका अनुसार असोज १७ गते बिहानसम्म रसुवा, संखुवासभा, सिन्धुपाल्चोक, काभ्रे, हुम्ला र रुकुमलगायतका जिल्लामा सडक आवतजावत ठप्प भएको छ।
रसुवामा बाढी र पहिरोले सर्वाधिक क्षति पुर्याएको छ। गोसाइँकुण्ड गाउँपालिका–२ रसुवागढीस्थित नेपाल–चीन जोड्ने मितेरी पुल असार २४ गते बाढीले क्षतिग्रस्त बनाएपछि हालसम्म सञ्चालनमा आउन सकेको छैन। सोही सडकखण्डअन्तर्गत घट्टेखोला र बालुवाखानी–तातोपानी क्षेत्रमा सुख्खा पहिरोले बुधबारदेखि बाटो पूर्णरूपमा बन्द भएको छ।
संखुवासभामा पनि कोशी राजमार्ग अवरुद्ध बनेको छ। भोटखोला गाउँपालिका–४ बरुणखोलामा असार ६ गते आएको बाढीले ह्युम पाइप बगाएपछि खाँदबारी–थुम्सुर सडक सुचारु हुन सकेको छैन। त्यस्तै मकालु गाउँपालिका–३ एकुवास्थित खाँदबारी–किमाथांका सडक खण्डमा साउन १५ गते आएको पहिरोका कारण बाटो अझै अवरुद्ध छ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४, चारकिलोमा अरनिको राजमार्ग भासिँदा सडक आवतजावत ठप्प भएको छ। यसैगरी, काभ्रेपलाञ्चोकमा विपी राजमार्ग असोज १६ देखि २१ गतेसम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म पूर्णरूपमा बन्द हुने जनाएको छ।
पश्चिमतर्फ, हुम्लाको सर्केगाड गाउँपालिका–६, सेल्तडीमा कर्णाली करिडोरमा गएको पहिरोले आवतजावत बन्द भएको छ। यस्तै रुकुम (पूर्व) भुमे गाउँपालिका–४ काँडाबगरमा असोज १७ गते बिहान सुख्खा पहिरो खसेपछि मध्येपहाडी लोकमार्ग पूर्णरूपमा अवरुद्ध बनेको प्रहरीले जनाएको छ।
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment