चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा, उच्च हिमाली क्षेत्रमा हिमपातको जोखिम
काठमाडौं, कात्तिक १३। बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को अवशेष र पश्चिमी वायुको आंशिक प्रभावका कारण देशभर वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज शुक्रबार र भोलि शनिबारसम्म देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुने सम्भावना छ।
महाशाखाले शुक्रबार साँझ जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा तथा हिमपात हुन सक्नेछ।
हाल कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ भने कर्णाली र सुदूरपश्चिमका केही स्थानमा हल्का वर्षा भइरहेको छ। देशभर अधिकांश स्थानमा बादल लागेको महाशाखाले जनाएको छ।
मौसमविद् उज्ज्वल उपाध्यायका अनुसार चक्रवात ‘अर्नब’को शक्ति क्षय भई न्यूनचापीय प्रणालीमा परिणत भएपछि देशभर लामो समयसम्म वर्षा भइरहेको छ। शुक्रबार साँझ ५ बजेसम्मको विवरणअनुसार पछिल्लो १२ घण्टामा कोशी प्रदेशमा औसत ४० मिलिमिटर, मधेशमा २० मिलिमिटर, बागमतीमा १५ मिलिमिटर र गण्डकी प्रदेशमा सात मिलिमिटर हाराहारी वर्षा भएको छ।
वर्षाको प्रणाली पूर्वी क्षेत्रबाट क्रमशः बागमती र गण्डकीतर्फ सर्दै गएको मौसमविद् उपाध्यायले बताएका छन्। शुक्रबार साँझदेखि शनिबार बिहानसम्म कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा वर्षाको तीव्रता केही बढ्न सक्ने उनको पूर्वानुमान छ। केही स्थानमा भारी वर्षा र उच्च हिमाली क्षेत्रमा बाक्लो हिमपात हुन सक्ने भए पनि भारी वर्षा लामो समयसम्म कायम नरहने उनले बताएका छन्।
शनिबार अपराह्नदेखि चक्रवातको अवशेष र पश्चिमी वायुको प्रभाव क्रमशः कमजोर हुँदै जाने महाशाखाको अनुमान छ। यद्यपि वर्षा कम हुँदै गए पनि मौसम पूर्ण रूपमा खुल्न समय लाग्ने देखिएको छ।
महाशाखाले वर्षाका कारण आकस्मिक बाढी, पहिरो, डुबान तथा हिमपहिरोको जोखिम हुन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। विशेषगरी उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहेकाले पर्यटकलाई उच्च हिमाली क्षेत्रमा नजान तथा गइसकेकालाई सुरक्षित स्थानमा रहन अनुरोध गरिएको छ।
वर्षाका कारण धानबाली भित्र्याउनेलगायत कृषि कार्य प्रभावित हुन सक्ने भएकाले मौसमको अवस्था बुझेर मात्र काम गर्न पनि महाशाखाले आग्रह गरेको छ। त्यस्तै, जोखिमयुक्त स्थान तथा सडकछेउमा पहिरो जान सक्ने, सडक र हवाई यातायात प्रभावित हुन सक्ने तथा चिसो बढ्न सक्ने भएकाले आवश्यक पूर्वतयारी र सतर्कता अपनाउन सर्वसाधारण तथा सम्बन्धित निकायलाई अनुरोध गरिएको छ।
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment