बूढीगण्डकी बाढीले दुई झोलुङ्गे र एउटा फलामे पुल बगायो
काठमाडौं, असोज २५। गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीले दुईवटा झोलुङ्गे पुल र एउटा फलामे पुल बगाएको छ। बाढीले केही घरमा क्षति पुर्याएको छ भने धार्चे गाउँपालिका–३ सल्लेरीका २० देखि २२ वटा घर जोखिममा परेका छन्।
नेपाल प्रहरीका अनुसार चुमनुब्री गाउँपालिका–६ लोक्पा र चुम्लिङबीच पहिरो खसेर थुनिएको बूढीगण्डकी नदीबाट आएको बाढीले विभिन्न स्थानमा क्षति पुर्याएको हो।
बाढीले चुमनुब्री गाउँपालिका–३ न्याकचेतबाट सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल बगाएको छ। सोही वडाको सिर्दिबास निवासी रामबहादुर गुरुङको एउटा कच्ची घर बगाएको छ भने अर्को घरमा बाढी पसेको छ।
त्यसैगरी, धार्चे गाउँपालिका–५ माछिखोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुल पनि बाढीले बगाएको छ। माछिखोलाको तल्लो बस्तीमा बाढी पस्दा पाँचदेखि सातवटा घर र त्यति नै संख्यामा रहेका टहरामा बाढी पसेको प्रहरीले जनाएको छ।
आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित फलामे पक्की पुलसमेत बाढीले बगाएको छ।
बूढीगण्डकी नदीमा ठूलो बाढी आइरहेकाले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।
बाढी पूर्वानुमान महाशाखाले बाढी सुरक्षित रूपमा पार नभएसम्म त्रिशूली दोभानसम्म नदीको छेउछाउ नजान र सुरक्षित उच्च स्थानमा बस्न आग्रह गरेको छ।
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment