विपद्पछि ज्येष्ठ नागरिकको संरक्षणमा सरकार : अस्थायी बसाइ छोट्याएर सुरक्षित आवासको व्यवस्था गर्ने प्रतिबद्धता
काठमाडौं, भदाै २०। भोटेकोशी बाढीबाट प्रभावित ज्येष्ठ नागरिकको संरक्षणलाई प्राथमिकतामा राख्दै सरकारले उनीहरूको अस्थायी बसाइलाई सकेसम्म छोटो बनाएर सुरक्षित स्थायी बसोबासको व्यवस्था गर्ने प्रतिबद्धता जनाएको छ।
प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत बाढीबाट प्रभावित ज्येष्ठ नागरिकको अवस्था अत्यन्त संवेदनशील रहेको भन्दै उनीहरूको संरक्षण, स्वास्थ्य उपचार तथा मनोसामाजिक सहयोगमा विशेष ध्यान दिनुपर्ने बताएका छन्।
भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीले नुवाकोटसहित प्रभावित क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएपछि धेरै ज्येष्ठ नागरिक विस्थापित भएका छन्। जीवनभरको कमाइबाट बनाएको घर, खेतबारी तथा पशुपंक्षी गुमाएका उनीहरू अहिले अस्थायी शिविर तथा होल्डिङ सेन्टरमा बस्न बाध्य छन्।
शाहले ज्येष्ठ नागरिकका लागि अस्थायी बसोबासलाई लामो समयसम्म निरन्तरता दिन नहुने भन्दै उनीहरूलाई सकेसम्म छिटो सुरक्षित आवासमा स्थानान्तरण गर्ने बताएका छन्।
बाढीबाट नुवाकोटको देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानको भवनसमेत क्षतिग्रस्त भएको छ। त्यहाँ रहेका ज्येष्ठ नागरिकमध्ये सात जनालाई काठमाडौंको म्हैपीस्थित नेपाल सिनियर केयरमा र १७ जनालाई नुवाकोटको इनारपाटीस्थित कृष्णप्रणामी मन्दिरमा अल्पकालीन आश्रय दिइएको शाहले जानकारी दिएका छन्।
आश्रयस्थलमा रहेका ज्येष्ठ नागरिकलाई हिँडडुलमा सहजताका लागि ह्वीलचियर तथा वाकर उपलब्ध गराइएको छ। त्यस्तै, बाढीका कारण उत्पन्न मानसिक आघात र शारीरिक कष्टलाई ध्यानमा राख्दै विशेष टोलीमार्फत नियमित स्वास्थ्य परीक्षण तथा मनोसामाजिक परामर्श सेवा उपलब्ध गराइएको उनले बताएका छन्।
शाहले विपद्पछि ज्येष्ठ नागरिकले भोगिरहेको पीडा केवल घर तथा सम्पत्ति गुमाएको विषयमा सीमित नभएको उल्लेख गरेका छन्। कतिपयले आफ्नै आँखाअगाडि छोराछोरी तथा नातिनातिना गुमाउनुपरेको, जीवनसाथी गुमाएर एक्लिनुपरेको र जीवनभरको सम्पत्ति क्षणभरमै गुमाउनुपरेको अवस्था रहेको उनले बताएका छन्।
‘हजुरहरूले आफूलाई एक्लो नठान्नुहोस्’ भन्दै शाहले ज्येष्ठ नागरिकलाई जीवनको कठिन मोडमा राज्य र सरकार साथमा रहेको विश्वास दिलाएका छन्।
उनले ज्येष्ठ नागरिकलाई समाज र राष्ट्रका ‘जग’ तथा अनुभव र मार्गदर्शनका महत्वपूर्ण स्रोतका रूपमा उल्लेख गर्दै विपद्ले उनीहरूको स्वाभिमान, अनुभव र ज्ञानलाई खोस्न नसक्ने बताएका छन्।
बाढीका क्रममा धेरै ज्येष्ठ नागरिकको मृत्यु भएकोप्रति दुःख व्यक्त गर्दै शाहले उनीहरूलाई परिवार तथा समाजका संस्कार, अनुभव र ज्ञानका स्रोतका रूपमा स्मरण गरेका छन्।
यसैबीच, आफन्त गुमाएका नागरिकको आक्रोशलाई पनि राज्यले संवेदनशील रूपमा बुझ्नुपर्ने शाहको भनाइ छ। एकै क्षणमा आफ्नो संसार गुमाएका नागरिकको आक्रोश पीडा व्यक्त गर्ने माध्यम भएको भन्दै उनले विपद्पीडितमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने वा थप पीडा दिने गतिविधि स्वीकार्य नहुने बताएका छन्।
बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी अझै पनि जोखिम मोलेर खोज तथा उद्धारमा खटिरहेको भन्दै शाहले उनीहरूको योगदानप्रति कृतज्ञता व्यक्त गरेका छन्।
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment